तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई तत्काल धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको ५१औं बैठकले धारा नखोलेको लामो समय भएको भन्दै उपभोक्ताहरूको समस्यालाई सम्बोधन गर्नका लागि सो निर्देशन दिएको हो।
‘लामो समयसम्म धारा नखोल्दा खानेपानी संस्थानको कार्यशैलीप्रति नै प्रश्न चिन्ह खडा भएको छ,’ नगरप्रमुख घनश्याम पाण्डेले भने, ‘त्यसैले खानेपानीलाई तत्काल धारा खोल्न निर्देशन दिनुपरेको हो।’
नगरप्रमुख पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाभित्रका अन्य खानेपानी संस्थालाई पनि नयाँ स्रोत पहिचान गरी धारा खोल्न आग्रह गरेको छ।
त्यस्तै, बैठकले वार्षिक र लेखा परीक्षण प्रतिवेदन बुझाउनका लागि निर्देशन दिने निर्णय पनि गरेको मेयर पाण्डेले जानकारी दिए।
स्थानीय तहले स्थानीय सरकारका रूपमा संघसंस्थाहरूलाई विभिन्न निर्देशन दिन सक्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख गरी बमोजिम नै खानेपानीलाई तत्काल धारा वितरणको लागि निर्देशन दिइएको मेयर पाण्डेले बताए।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लगायतका अन्य खानेपानी संस्थाहरूले लामो समयसम्म धारा नखोल्दा नगरवासीको व्यापक गुनासो बढेको छ।
बैठकले फागुन १५ गतेसम्म धारा खोल्नका लागि आवेदन माग गर्न र प्रतिवेदनहरू पनि पेश गर्न समय सीमा तोकेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए।
त्यस्तै, बैठकले तुलसीपुर नयाँ बसपार्कमा खोला र सडक ओगटेर निर्माण गरिएका पक्की घर भत्काउन सूचना प्रकाशित गर्ने र अटेर गरे उपमहानगरपालिकाले भत्काउने समेत निर्णय भएको डाँगीले जानकारी दिए।