आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना व्यक्तिलाई प्रहरीले झण्डै १९ वर्षपछि पक्राउ गरेको छ।
सल्यान जिल्लाको साविक कुपिण्डे गाविस वडा नं. ८ र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
खड्काले विक्रम संवत २०५६ सालमा आफ्नै आमा साइतीकुमारी खड्काको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
सल्यान जिल्ला अदालतले एकेन्द्रलाई जन्मकैदको फैसला सुनाएको थियो। आमाका हत्यामा दोषी प्रमाणित भएपछि खड्का अदालतको फैसलापछि जेल गएका थिए। तर एकेन्द्र २०५७ साल फागुन २३ गते जेलबाट फरार भए।
कैद परेको १ वर्ष ७ महिना २५ दिनमै आमाको हत्यामा दोषी प्रमाणित एकेन्द्र जिल्ला कारागर सल्यानबाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाघेर भाग्न सफल भएका थिए। त्यतिबेलादेखि नै एकेन्द्र फरार थिए।
प्रहरीका अनुसार उनी छिमेकी देश भारतको सिम्लमा बिहे गरेर लुकीछिपी कहिलेकाहीँ नेपाल आउने जाने गरेका थिए । त्यही गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष प्रहरीले टोलीले माघ १४ गते कुपिण्डे नगरपालिका वडा नं। ९ स्वारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी शाहीले जानकारी दिएका छन्।
पक्राउलगत्तै जिल्ला अदालत सल्यानमा पेश गरेको अदालतले उनले भुक्तान गर्न बाँकी रहेको १८ वर्ष ४ महिना ५ दिन र कैदी भागेको मुद्दामा २ वर्ष थप कैद हुने ठहर गरी २० वर्ष ४ महिना ५ दिन कैद भुक्तानका लागि कारागारमा चलान गरेको सल्यान प्रहरी प्रमुख शाहीले जानकारी दिए।
यसैबीच सल्यान प्रहरीले गत साउन १ गतेदेखि हालसम्म कैद जरिवाना तोकी फरार रहेका प्रतिवादीमध्ये १५ जनालाई पक्राउ गर्न सफल भएको छ।
डिएसपी शाहीले त्यसमध्ये ५ जना महिला र १० जना पुरुषलाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरूले ३८ वर्ष २ महिना १७ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले बताएको छ। उनीहरूबाट जरिवानास्वरूप ३ लाख ३५ हजार ९ सय १५ रुपैयाँ असुली गरेको पनि डिएसपी शाहीले जानकारी दिए।