दाङको तुलसीपुरस्थित गोरखा उच्च माविमा विए दोस्रो वर्षमा अध्ययनरत सुप्रिया वली बिहीवार नयाँ जोस र जागरमा देखिइन्।
मौसम चिसो थियो तर त्यसको परवाह नगरी उनी तालिममा सहभागी भइन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी वलीले व्यस्त बजार, कक्षा कोठा, सार्वजनिक यातायात लगायत अन्य धेरै स्थानमा कसैले हिंसा गर्न खोजे कसरी जोगिने भन्ने आत्मबल बढेको बताइन्।
यो आत्मबल भने उनमा त्यतिकै आएको होइन। यसको श्रेय जान्छ, हेल्पिङ हेन्डस दाङलाई।
किशोरीमाथि हुँदै आएको हिंसा न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ हेल्पिङ हेन्डस दाङले बिहिबार तुलसीपुरमा झन्डै तीन सय जति विभिन्न कलेजहरूमा अध्ययनरत किशोरीहरूलाई आत्मरक्षा तालिम दियो।
तालिममा सहभागी सुप्रियाले भनिन्,‘अबदेखि कसैले कुनै पनि प्रकारले हिंसा गर्न खोजेमा त्यसको प्रतिकार तत्काल कसरी गर्ने भन्ने थोरै भए पनि ज्ञान मिलेको छ।’
तुलसीपुरकै ग्रेट अरनिको माविमा कक्षा ११ मा अध्ययनरत तुलसीपुर १२ निवासी मिना आचार्यले पनि परिआएको खण्डमा आत्मरक्षाको लागि केही गर्न सक्छु भन्ने हौसला मिलेको बताइन्।
रोल्पा जिल्लाको सुनील स्मृति गाउँपालिका वडा नं. ६ गजुल घर भई हाल तुलसीपुरको सिआइएमएस टेक्निकल कलेजमा अध्ययनरत सिता थापाले किशोरीमाथि हिंसा गर्नेहरूलाई कसरी प्रतिकार गर्न सकिन्छ भन्नेबारे जानकारी पाउँदा खुसी लागेको अनुभव साटिन्।
तुलसीपुर १२ उरहरी घर भई तुलसीपुरको ज्ञानज्योति उच्चमाविमा कक्षा १२ मा अध्ययनरत कविता घर्तीलाई तालिमपछि परि आउँदा आत्मरक्षा गर्न सक्छु भन्ने विश्वास पलाएको प्रतिक्रिया दिइन्। तर उनले यस्तो तालिमहरू एक पटक मात्रै दिएर नपुग्ने हुँदा पटक/पटक आयोजना गरिनुपर्ने माग गरिन्।
किशोरी क्षमतावान र सक्षम नहुँदासम्म हिंसा नरोकिने हुँदा उनीहरूमा विश्वास जागृत गराउन तालिम दिएको प्रशिक्षक निरज न्यौपानेले बताए। तालिम जागृति बाल तथा युवा सरोकार नेपाल, गर्ल्स किकले राष्ट्रिय यु्वा परिषद, एसडिजी स्टुडियो र हेल्पिङ हेन्डस दाङको सहकार्यमा तुलसीपुरको अरनिको मैदानमा भएको कार्यक्रमका संयोजक सालिकराम गौतमले जानकारी दिए।
मार्सल आर्टका खेलाडी निकेश तामाङले किशोरीहरूलाई अप्ठ्यारो अवस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्नेबारे तालिम दिएका थिए।