दाङमा हप्ता दिनमा सात जना शिकारी पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक बरामद भएको छ।
शुक्रबार बेलुका पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. १ बागरखोलास्थित सामुदायिक वनमा शिकार गर्ने उद्धेश्यले जाँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शान्तिनगर गाउँपालिका वडा नं। १ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। १ निवासी २९ वर्षीय दीपक खत्री र सोही ठाउँ निवासी १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
उनीहरूको साथबाट दुई थान भरुवा वन्दुक बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकाविरूद्ध हातहतियार तथा खरखजाना शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिएसपी घर्तीले बताए ।
यसअघि दाङको गढवाबाट भरुवा बन्दुकसहित चार जना पक्राउ परेका थिए।
गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर बाट राजु विक,ईन्द्रप्रसाद चोधरी,कृष्ण चौधरी र राजपुर गाउँपालिका वडा नं। १ कटबेरुवा निवासी केशरसिंह घर्तीलाई प्रहरीले शिकार गर्दै गर्दा स्थानीय जंगलबाट पक्राउ गरेको थियो। ज्योति सामुदायिक वनको हाताभित्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता घर्तीले बताए ।
उनीहरूलाई वनका पदाधिकारी र स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्। सव डिभिजन कार्यालय गढवाका सहायक वन अधिकृत शिवकुमार महतोले चोरी शिकारीमा सलग्न उनीहरूको साथबाट लोडेड भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने ठुलो छर्रा ८ वटा ,कैंची २ थान, गुलेली र पेचकस १/१ थान, लाम्चो छर्रा ९ वटा , सानो छर्रा ३ सय १२ वटा, केप १ थान, केपमा प्रयोग हुने सिल्भर पत्ता सानो र ठूलो २/२ थान, पत्ता वारुद १२ रोल र खुला बारुद १ सय ७७ ग्राम बरामद गरिएको जानकारी दिए।
बरामद गरिएको भरुवा बन्दुक र चोरी शिकारीमा सलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको प्रहरीले जानकारी दिएको छ ।