दाङमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर झन्डै एक दर्जन जति हतियार बरामद गरेको जानकारी दिएको छ।
जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी ५९ वर्षीय जितबहादुर बुढाको घरमा छापामार्दा ११ थान विभिन्न प्रकारका हतियार फेला परेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
प्रहरीले घोराहीस्थित आफ्नो कार्यालयमा आइतबार दिउँसो पत्रकार सम्मेलन गरी घर्तीको घरमा हतियार बनाउने कारखाना फेला परेको जानकारी दिएको छ।
‘बुढाको घरमै हतियार बनाउने कारखाना नै फेला पर्यो,’एसपी पाण्डेले भने,‘अवैध रूपमा हतियार उत्पादन गरेर विक्री वितरण गर्दै आएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’
बुढाले आफूले नेपाल भन्दा पनि भारतको कुकुर भुकुवा र बर्बर गाउँमा बढी बन्दुकका ग्राहक रहेको बयान दिएको प्रहरीले जानकारी दिएको छ।
भारतमा धेरै ग्राहक भारतका नागरिक भए पनि नेपाली केहीले पनि बन्दुक खरिद गर्ने गरेको भन्ने उनले बयान दिएका छन्।
प्रहरीले बुढाको घरबाट बन्दुक बनाउन थप ४१ वटा स्पेशल खालको नाल फेला परेको जानकारी दिँदै त्यो फलामे नाल बजारमा किन्न नपाइने हुँदा कुनै संगठित गिरोहले हतियार बनाउनको लागि दिएको हुन सक्ने आशंका गरे।
बुढाले आफूले हतियार निर्माण मात्रै गर्ने गरेको र त्यसवापत प्रति भरुवा बन्दुक ५ हजार लिने गरेको बयान दिएका छन्। तर प्रहरीले हतियार निर्माण गर्नेदेखि मर्मत गर्ने तथा विक्री वितरण गर्ने जस्ता कामहरू बुढाले वर्षौंदेखि गर्दै आएको प्रहरीको दाबी छ।
यस्तै पक्राउ अर्का ३८ वर्षीय रुद्रमणी घर्तीले भने आफूले तीन वर्ष अगाडि बुढासँग १० हजारमा एउटा बन्दुक किनेको भन्ने बयान दिएको एसपी पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
प्रहरी भने हतियार बनाएर बुढाले नेकपा विप्लव समूह र अन्य आपराधिक समूहलाई विक्री गर्दै आएको आशंका व्यक्त गरेको छ।
पक्राउ परेका ११ थान हतियार
राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी ५९ वर्षीय जितबहादुर बुढाको घरमा आइतबार छापा मार्दा प्रहरीले विभन्न प्रकारका ११ थान हतियार र हतियार निर्माण गर्न आवश्यक कच्चा पदार्थ ठूलो मात्रामा बरामद गरेको बताएको छ।
प्रहरीका अनुसार बुढाको घरबाट भरुवा बन्दुक ५ थान, एयरगन राइफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थानसहित हतियार बनाउन प्रयोग हुने बिभिन्न सामग्रीहरू बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले बताए।
बुढालाई मुलुकी अपराधसंहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना शिर्षकमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।
अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रकृया अघि बढाइएको प्रमुख पाण्डेले बताए।