विद्यालय जहाँ विद्यार्थी पढिरहेका थिएनन् र शिक्षकहरू पढाइरहेका थिएनन्। सेतो पञ्जा लगाएका विद्यार्थी र शिक्षकको हातमा बरु मिनरल वाटरका बोतल, एउटा छडी,माटो, बालुवा र सिमेन्ट यस्तै यस्तै निर्माण सामग्री थियो।
स्थानीय जनप्रतिनिधि र देशका विभिन्न जिल्लाबाट आएका थप एक सय बढी युवायुवतीको हात पनि खाली थिएनन्। कोही फरुवा र बेल्चाले माटो खन्दै थिए त कोही तारको जालीमा बालुवा चाल्दै गरेका।
विद्यालय परिसरमा विभिन्न उत्प्रेरणा जगाउने गीत घन्किरहेको थियो।
गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ , यो देशको मुहार फेर्नलाई उठ ... यस्तै गीत संगीतको तालमा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र टिच फर नेपालका देशभरबाट आएका स्वयं सेवकहरू धमाधम काम गरिरहेका थिए।
हामी कुरा गर्दैछौं, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ कालोखोला माविको।
जहाँ विद्यालको कक्षा कोठा (लर्निङ सेन्टर ) निर्माण गर्न श्रमदान भइरहेको थियो। टिच फर नेपालले यो सबै वातावरण मिलाएको हो।
विगत १ वर्षदेखि मावि कालोखोलामा टिच फर नेपालको इङ्लिस फेलोको रूपमा अध्यापनरत विडियोकी राईले कक्षा कोठाको अभावमा बालबालिकाको पढाइ र सिकाइ प्रक्रिया प्रभावित भएको बुझेपछि मिनरल वाटरको बोतलबाट दुई कोठे लर्निङ सेन्टर निर्माण गर्न लागिएको हो।
धरान जन्मथलो भएकी राई हाल ललितपुरमा बस्दै आएकी छन्।
‘मैले एक वर्ष पढाउँदा यहाँ अभ्यासका लागि उपयुक्त कक्षा कोठाको अभाव देखें,’ राईले भनिन्, ‘त्यसले गर्दा पढाइमा निकै प्रभाव परेको बुझेरै लर्निङ सेन्टर निर्माण गर्ने सोच उत्पन्न भएको हो।’
कसरी विद्यार्थीको लागि दुइटा कोठा निर्माण गर्ने ? यो चुनौती थियो। तर राईले जिल्लाको विभिन्न स्थानमा हिँड्दा मिनरल वाटरका बोतलहरू यत्रतत्र फालेको देखेपछि त्यसलाई नै सदुपयोग गर्ने सोचिन्।
राईले यो प्रस्ताव राखेपछि विद्यालय परिवारले पनि त्यो कुरा सहजै स्वीकार गर्यो।
विद्यालयका प्रधानाध्यापक राजिव ओझाले राईको प्रस्ताव उपयुक्त लागेपछि प्लाष्टिकको बोतलबाट दुई कोठाको लर्निङ सेन्टर निर्माण गर्न अनुमति दिएको बताए। वर्षौंदेखि निर्माण गर्दागर्दै अधुरै रहेको संरचनामा अब लर्निङ सेन्टर बन्न लागेको भन्दै उनले खुसी साटे।
राईले विद्यार्थीलाई लगेर ती विभिन्न ठाउँमा बोतलहरू संकलन गर्न जुटिन्।
‘हामीले तुलसीपुरको बसपार्क लगायतका स्थानमा जथाभावी फ्याँकिएका पानीका हजारौं बोतलहरू संकलन गर्न सफल भयौं र आज त्यसैले विद्यालयको लर्निंङ सेन्टर तयार हुँदैछ,’ राईले भनिन्।
बोत्तलको गारा कति बलियो होला ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘प्लाष्टिकको बोतल एक सय वर्षसम्म पनि कुहिँदैन भन्ने छ, त्यसो हो भने यो गारा सबभन्दा बलियो हुनसक्छ।’
उनले ६ प्रतिशत माटो, ३ प्रतिशत बालुवा र १ प्रतिशत सिमेन्टको मिश्रणबाट विद्यालयको लर्निंङ सेन्टर निर्माण गर्न लागेको बताइन्।
यस कार्यमा तुलसीपुर उपमहानगरपालिकाले २ लाख, टिच फर नेपालले एक लाख र सोना सिमेन्ट प्रालिले २० बोरा सिमेन्ट सहयोग गरेको प्रअ ओझाले जानकारी दिए।
टिचफर नेपालका सिइओ शिशिर खनालले देशभरका विभिन्न सामुदायिक विद्यालयहरूमा ८० जना जति स्वयं सेवक शिक्षकहरू पढाउनका लागि खटिएको हुँदा विभिन्न स्थानमा समुदायको आवश्यकता अनुसार श्रमदानमार्फत् निर्माणको काम गरेको जानकारी दिए।
२०७० सालमा टिच फर नेपाल स्थापना गर्नुको मुख्य उद्धेश्य निजी विद्यालय र सरकारी विद्यालयबीचमा रहँदै आएको शिक्षाको खाडल पुर्न नै रहेको खनालले बताए।
‘कमजोर आर्थिक र सामाजिक अवस्था भएका मानिसका छोरा छोरीमात्रै सरकारी विद्यालयमा पढ्छन् र सरकारी विद्यालयको पढाइ कमजोर छ भन्ने भ्रम चिर्ने हाम्रो प्रयास हो,’ सिइओ खनालले भने, ‘सरकारी विद्यालयहरूमा पढ्ने विद्यार्थीको मनोबल बढाउनु हो र उनीहरूको नतिजा राम्रो बनाउन सहयोगी बन्नु हो।’
त्यही उद्धेश्यका साथ कम्तीमा पनि बिए उत्तीर्ण गरेको राम्रो नेपाली युवाहरूलाई छनोट गरेर २ वर्षको लागि गाउँ गाउँका सरकारी विद्यालयहरूमा स्वयं सेवक शिक्षकको रूपमा विज्ञान, गणित र अंग्रेजी पढाउँदै आएको खनालले जानकारी दिए।
यो ५ वर्षको अवधिमा झन्डै ३ सय युवाहरूले काम गरेका उनको दाबी छ।
यो वर्ष दाङमा १९ जनाले स्वयं सेवक शिक्षकको रूपमा काम गरेका र देशका अन्य भागमा गरी कुल १ सय १० जना त्यस्ता शिक्षक खटिएर झन्डै १० हजार बालबालिकालाई शिक्षा प्रदान गर्दै आइरहेका उनले बताए।
हालसालै टिच फर नेपालले थप ७० जना युवाहरूलाई तालिम दिइरहेको हुँदा नयाँ शैक्षिक सत्रमा उनीहरूलाई फेरि देशका विभिन्न सरकारी विद्यालयमा पढाउनका लागि खटाउने खनाले बताए।
कालाखोला माविमा कक्षा ९ को ‘ए’सेक्सनमा अध्यनरत सिता बुढा मगरले आफ्नो विद्यालयको भवन निर्माण गर्न सबै मिलेर काम गर्दा खुसी लागेको प्रतिक्रिया दिइन्।
कक्षा ९ मै अध्यनरत गीत नेपाली, पिंकी वली, कक्षा ८ मा अध्यनरत शरद चौधरी लगायतका विद्यार्थीले काम गर्दा थोरै दुःख भए पनि आफ्नै विद्यालयको लागि सबैले सँगै श्रमदान गर्दा खुसी लागेको प्रतिक्रिया दिए।
समुदायको समस्या पहिचान गरी समुदायसँग कसरी मिलेर काम गर्न सकिन्छ तथा आफ्नै वरिपरिका वस्तुहरूको कसरी उपयोग गर्ने भन्ने उदाहरण आफूहरूले प्रस्तुत गर्न खोजेको उक्त श्रमदानमा भेटिएकी अस्ट्रेलियन नागरिक तथा अंग्रेजी तालिम दिने शिक्षिका सोफिया क्यामरुनले बताइन्।
‘हामीले यहाँ समुदायसँग हातेमालो गरेर समुदायकै हितका लागि श्रमदान गरिरहेका छौं,’ क्यामरुनले भनिन् ‘हामी हाम्रै वरपर खेर गएका वस्तुहरूबाट कसरी लाभ लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छौं।’