बसन्त पञ्चमीको दिन मनाइने सरस्वती पूजा हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँदैछन्। पहिले विद्यालयहरूमा मात्रै आयोजना हुने सरस्वती पूजा केही वर्षयता जनकपुरधामका चोक चोकमा मनाउन थालिएको छ।
हिन्दु धर्ममा पूजा शान्त चित्त भएर शान्त वातावरणमा गर्ने परम्परा रहेको । तर जनकपुरधामको चोक चोकमा आयोजना गरिएको सरस्वती पूजा त्यसको ठीकविपरीत देखिएको छ।
जनकपुरधामका चोक चोकमा आयोजित सरस्वती पूजाको पण्डालमा हिन्दी तथा भोजपुरीका अश्लिल गीतहरू सुनियो।
यतिमात्र होइन, माता सरस्वतीको वाहन हंस रहे पनि कतिपय स्थानमा माता सरस्वतीको प्रतीमामा विविधता पाइएको छ। कुनै ठाउँमा माता सरस्वतीको वाहन सिंहलाई बनाइएको छ भने विणाको स्थानमा ल्यापटप हातमा राखिएको छ ।
नागरिक समाजका अगुवा अमरचन्द्र अनिल यसलाई विकृतिको संज्ञा दिन्छन्। उनले भने,‘हामी आफ्नो संस्कृतिमाथि आफैं प्रहार गरिरहेका छौं, यसलाई निरुत्साहित गर्नुपर्छ।’
उनले यस प्रकारको विकृतिलाई विद्यालय प्रशासन, स्थानीय सरकार तथा प्रदेश सरकार दोषी रहेको आरोप लगाए। यसलाई निरुत्साहित गर्नका लागि पहिले सम्झाउने, नसम्झे कानुनी कारबाहीसम्म गर्नु आवश्यक रहेको उनको भनाइ छ।
विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शान्त चित्त भावले गर्नुपर्नेमा भोजपुरी तथा हिन्दीका अश्लिल गीतहरू बजाएर मनाउन थालिएकोमा स्थानीयवासी समेत दुःखी छन्।
पहिलेको तुलनमा सरस्वती पूजाको अवसरमा अश्लिल गीत बजाउनेहरूको संख्यामा कमी आएको दाबी गर्दै प्याब्सनका प्रदेश सचिव विश्वलाल सिंहले विद्यालयहरूलाई भजन मात्रै बजाउनका लागि आग्रह गरेको जानकारी दिए।
धार्मिक समारोहमा हुने यस प्रकारको क्रियाकलापलाई निरुत्साहित गर्नका लागि सुरक्षा निकाय तयार रहेको बताउँछन् धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल। उनले पूजाको अवसरमा मोटरसाइकल चेकजाँच समेत तीव्र पारिएको जानकारी दिए ।
शालिन एवं सभ्य संस्कृतिको संरक्षणका लागि संस्कृतिविदहरूलाई अगाडि आउनु अपरिहार्य रहेको स्थानीयवासीको ठहर छ ।