राप्ती नदीमा हुँदै आएको मनपरी उत्खननले नदीको प्रवाह नै परिवर्तन भएको पाइएको छ।
नदीजन्य पदार्थको मनपरी उत्खननले गर्दा नदीको प्रवाह नै परिवर्तन भएको पाइएको जिल्ला अनुगमन तथा समन्वय समिति दाङले जानकारी दिएको हो।
जिल्ला समन्वय अधिकारी तथा अनुगमन समितिका सदस्य सचिव कृष्णप्रसाद गौतमले अनुगमनको क्रममा नदीको प्रवाह नै परिवर्तन हुने गरेर अव्यवस्थित तरिकाले उत्खनन गरेको फेला परेको बताए।
‘राप्ती नदीमा अनुगमन गर्दा नदीको प्रवाह नै परिवर्तन हुने गरेर अव्यवस्थित तरिकाले उत्खनन गरेको फेला पर्यो,’ समन्वय अधिकारी गौतमले भने, ‘त्यसलाई तत्कालै व्यवस्थित नगरे त्यसले भविष्यमा ठूलै जोखिम उत्पन्न गर्नेछ।’
अनुगमनपछि जनताको तटबन्ध र बड्का पथ सिँचाइ आयोजनालाई काम ‘व्यवस्थित’ गर्न निर्देशन दिएको गौतमले बताए।
आयोजनाले राप्ती नदीमा स्काभेटर प्रयोग गरेर मनपरी काम गर्दै आएको हुँदा त्यो रोक्न निर्देशन दिइएको उनले जानकारी दिए।
जिल्ला अनुगमन समितिको स्वीकृतबिना नदी तथा खोलाहरूमा स्काभेटर तथा मेसिनरी औजार प्रयोग गर्न नपाउने व्यवस्था रहे पनि उनीहरूले त्यसविपरीत काम गर्दै आएको खुल्न आएको छ।
अनुगमन समितिले जिल्ला अनुगमन तथा समन्वय समितिको निर्णय लिएर मात्र कामलाई अघि बढाउन समेत दुवै आयोजनालाई निर्देशन दिएको छ।
माघ २९ गते समितिले राप्ती नदीको अनुगमन गरेपछि बुधबार यस्तो निर्देशन दिइएको गौतमले जानकारी दिए।
अनुगमनसँगै राप्ती गाउँपालिकाको जिल्ला अनुगमन तथा समन्वय समितिका बैठक बसेको र त्यसले गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का लगाएको क्षेत्रको स्पष्ट सिमांकन गर्न तथा त्यो नभएसम्म उत्खनन रोक्ने निर्णय समेत गरेको छ।
अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्दै आएका व्यवसायीले मिति र समय स्पष्ट खुल्ने गरी रसिदको व्यवस्था मिलाउनुपर्ने, रसिद काट्दा घाटगद्दी गरेको निर्धारित क्षेत्रभित्र बसेर मात्र काट्नुपर्ने निर्णय पनि गरेको छ।
निर्धारित क्षेत्रभन्दा बाहिर गएर रसिद काट्ने गरेको पाइएमा त्यस्तोलाई कारबाही गर्ने निर्णय बैठकले गरेको प्रमुख नेपालीले बताए।
त्यस्तै सवारी साधन निस्कने बाटो समेत निर्धारण गरिएको गाउँपालिकाका पदाधिकारीले जानकारी दिएका छन्।
पूर्वतर्फको बाटोको जिम्मा गढवा गाउँपालिकालाई र पश्चिमतिरको बाटोको जिम्मा राप्ती गाउँपालिकालाई दिने निर्णय बैठकले गरेको छ। ‘बैठकले नदीजन्य पदार्थको उत्खननलाई व्यवस्थित बनाउने निर्णय गरेको छ’ अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने, ‘यसले नदीजन्य पदार्थमा भएको बेथिति रोक्न बल पुग्ने विश्वास गरेका छौं।’
उनले नदीजन्य पदार्थको उत्खननको बेथिति नरोके ठेक्का बन्द गर्न बाध्य हुने चेतावनी समेत दिए।
अनुगमन टोदलीमा जिल्ला अनुगमन समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, गढवा गाउँपालिका प्रमुख सहजराम यादव, अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी गौतम, प्राविधिक टोलीको सहभागिता थियो। यसैबीच जिल्ला समन्वय समितिले गढवा गाउँपालिकाले टेण्डर खोल्नको लागि तयारी गरेको विभिन्न ठाउँको अनुगमन समेत गरेको छ।