हिन्दु धर्मावलम्वीको आस्थाको केन्द्रमध्ये जनकपुरधाम पनि एक हो। यहाँ साना केही घटना भए पनि जानकी मन्दिरसँग जोडेर हेर्ने गरिन्छ।
हिन्दु धर्मअनुसार गाई माता हुन्। जनकपुरधाममा हिजोआज उनै माता गाईको दुर्दशा छ। उसो त यो मिथिला क्षेत्र हो। यहाँको कणकणमा भगवान छन् भन्नेहरु पनि छन्। यहाँ गाईप्रतिको सद्भाव राख्नेहरू भए पनि प्लास्टिक खाएर गाई मर्ने क्रम बढेको छ।
अहिलेसम्म यहाँका ९ वटाभन्दा बढी गाई मरिसके। प्लास्टिकमा पोको पारेर फालिएका रोटी, सागपातजन्य फोहोर खाएपछि गाई मरेका हुन्।
गौ संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष जगदीश महासेठका अनुसार दूध दिउन्जेल गाईलाई स्याहार्ने तर दूध दिन छाडेपछि गाई छाडा छोड्नेक्रम बढेको छ। गाई संरक्षणमा किसानहरू ध्यान दिँदैनन्।
उपमहानगरपालिकाले पनि गाई संरक्षणमा खासै सहयोग गरेको छैन। छ महिनामा एक पटक सडकबाट गाई समात्ने उनले बताए। उता जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता मिश्र गाई संरक्षण अभियान सफल नभएको स्वीकार्छिन्।
‘छाडा छाडिएका गाई समातेर काजी हाउसमा राख्ने व्यवस्था गरे पनि चरिचरणको व्यवस्था गर्न सकिएन। यो अभियानले सार्थकता पाउन सकेन,’ उनले सेतोपाटीसँग भनिन्।
दुहुना गाई भने स्थानीय बासिन्दाले जरिवाना तिरेर लैजान्छन्। तर बाच्छाबाच्छी भने उनीहरूले लैजाँदैनन्। उपमहानगरले छाडा गाई छाड्ने किसानबाट तीन हजारका दरले अहिलेसम्म पाँच लाख राजस्व उठाइसकेको छ।
छाडा गाई व्यवस्थापनमा ट्राफिक प्रहरीले सघाएको छ। ट्राफिक प्रहरी प्रमुख दीपक साहका अनुसार गाई छाडा छोड्ने एक सय १५ किसान कारबाहीमा परिसकेका छन्। छाडा चौपायाले बसपार्क, जिरोमाईल, रामानन्द चोकसहितका हाइवे सडकमा दुर्घटना गराउने जोखिम छ।