एउटा सर्पले गर्दा दाङमा महायज्ञ मात्रै लागेको छैन आधा करोड बढी नगद दान संकलन समेत भएको छ।
जग्गा, धानलगायत अन्य विभिन्न जिन्सी सामग्री समेत जोड्दा झन्डै करोडको हाराहारीमा दान संकलन भएको अनुमान गरिएको छ।
तुलसीपुर उपमहानगपरपालिका ४ बनहरीस्थित थारू गाउँमा एकै स्थानमा अप्रत्यासित रूपमा गोमन सर्प पुस महिनाको अन्त्यतिर देखिन थालेपछि त्यसलाई नाग देवता मान्दै यहाँ पूजा आराधना सुरू भएको थियो। पछिल्लो समय त्यही स्थानमा महायज्ञ समेत लगाइएको छ। सर्प देखिने स्थानमा कैलाशधाम नागेश्वर मन्दिर निर्माण गर्न भन्दै यसअघि नै ८ लाख ७५ हजारमा १ कठ्ठा जग्गा समेत खरिद भइसकेको छ। सम्बन्धित जग्गाधनीको घरसहित खरिद गर्ने तयारी हुँदा त्यसका लागि झन्डै १० लाख लाग्ने मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले जानकारी दिएका छन्।
यो बाहेक थप जग्गा खरिद गर्न र त्यहाँ मन्दिर निर्माण गर्न भन्दै माघ २३ गतेदेखि यहाँ महायज्ञ लगाइएको हो। जसको उद्घाटन पूर्व नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद अमरबहादुर डाँगीले गरेका थिए भने बुधबार अन्तिम दिन नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरी उक्त महायज्ञमा पुगेर २५ हजार नगद दान गरेका थिए।
बिहिबार मात्रै महायज्ञको औपचारिक रूपमा समापन गरिएको मन्दिर निर्माण तथा महायज्ञ लगाउन गठिन समितिका सचिव दामोदर न्यौपानेले जानकारी दिए।
सबभन्दा धेरै शिक्षकले दान गरे
सर्प देखिएकै स्थानमा महायज्ञ लगाएपछि सबभन्दा दान गर्ने व्यक्ति भने यस क्षेत्रको सबभन्दा नाम चलेको विद्यालयका प्रिन्सिपल नै रहेका छन्। ज्ञानज्योति माविका संस्थापक टीकाबहादुर जिसीले २ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन्। त्यस्तै स्थानीय शरदकुमार देवकोटा र उनकी पत्नी वसन्तीदेवी देवकोटाले १ लाख ७० हजार, प्रशाक देवकोटा र उनका दाजुभाइले मिलेर १ लाख २५ हजार २५ रुपैयाँ, तुलसीपुर वडा नं. ७ का वडा सदस्य रामबहादुर जिसीले १ लाख २१ हजार १ सय ११, गधाधर पौडेल १ लाख ५ हजार ५ सय दान गरेको महायज्ञ सञ्चालन समितिका सचिव न्यौपानेले जानकारी दिए।
महायज्ञ संचालक समितिका महासचिव राजेन्द्र पोखरेलले महायज्ञमा ३५ धुर जग्गा पनि दान बापत प्राप्त भएको जानकारी दिए। जग्गा दाताहरूमा स्थानीय निराजन देवकोटा १० धुर, बसन्ता देवकोटा ११ धुर, उनु शर्मा साढे ८ धुर, फेरुवा चौधरी ३ धुर, नरविर चौधरीले ३ धुर र कमला वलीले २ धुर जग्गा दान दिएको महासचिव बताए।
महायज्ञबाट संकलित रकमले मन्दिर निर्माणका लागि आवश्यक थप जग्गा खरिद गर्ने सहमति भएको महासचिव अधिकारीले जानकारी दिए।
‘महायज्ञबाट संकलित रकमले अब हामी नाग देवता देखिने स्थलमा थप ५ कठ्ठादेखि १२/१५ कठ्ठासम्म जग्गा खरिद गर्ने तयारीमा छौं,’अधिकारीले भने, ‘हामी नाग प्रकट भएको स्थानमा जिल्लाकै प्रमुख धार्मिक स्थलका रूपमा विकास गर्ने योजनामा छौं।’
काठमाडौंबाट आएर महायज्ञ
सेतोपाटीमा समाचार प्रकासित भएपछि माघको पहिलो साता काठमाडौंबाट आफूलाई देशव्यापी १०८ श्रीमद्भागवत सत्संकल्प अभियानकर्ता बताउने मुमुक्षु श्री उद्धव शर्मा सर्प देखिदै आएको स्थान तुलसीपुर ४ बनहरीस्थित थारु गाउँमा आएर एकदिन तपस्या गरे। तिनै शर्माले नै उक्त ठाउँ नेपालकै तेस्रो ठूलो शक्ति रहेको स्थान रहेको हुँदा महायज्ञ लगाउनुपर्ने स्थानीयलाई बताए।
कैलाश धाम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भरतकुमार देवकोटाले उद्धव शर्माले नै काठमाडौंबाट महायज्ञ सञ्चालन गर्नको लागि आवश्यक सम्पूर्ण सामग्री ल्याएर आए। महायज्ञका लागि आवश्यक पण्डाल,कलाकार लगायत १५ जनाको समूहमात्रै हैन आवश्यक त्रिपाल, साउन्ड सिस्टमदेखि महायज्ञ लगाउन आवश्यक सम्पूर्ण सामग्री आफैं काठमाडौंबाट ल्याएर आएको र आफूहरूले त्यसका व्यवस्थापनमात्रै गरिदिएको उपाध्यक्ष देवकोटाले बताए।
‘हामीले त यहाँ व्यवस्थापनको जिम्मा मात्रै लिएका हौं,’ उपाध्यक्ष देवकोटाले भने, ‘शर्माजीले नै कलाकार,कथा बाचकदेखि सम्पूर्ण टिम ल्याएर आउनु भयो र महायज्ञ सफल भयो।’
शर्माले नै प्रचारप्रसारका लागि आवश्यक सम्पूर्ण पम्पलेट, व्यानर, अतिथि स्वागत र सत्कारका लागि आवश्यक खादा, रुद्राक्षको माला लगायत सम्पूर्ण सामग्री काठमाडौंबाट ल्याएका हुन्।
उद्धव शर्माले १२ लाख जति लैजाने अनुमान
कैलाशधाम नागेश्वर मन्दिर निर्माण समितिका अध्यक्ष भुवन चौधरीले देशव्यापी १०८ श्रीमद्भागवत सत्संकल्प अभियानकर्ता बताउने मुमुक्षु श्री उद्धव शर्माले महायज्ञ लगाउन झन्डै साढे ६ लाख जति खर्च लाग्ने हुँदा दानबाट आएको त्यति रकम आफूलाई दिनुपर्ने माग गरेको बताए।
त्यस्तै, महायज्ञ वाचक/वाचिकाको लागि टिका दक्षिणाबापत थप २ लाख जति लाग्ने अध्यक्ष चौधरीले सेतोपाटीलाई बताए। त्यस्तै ढुवानी,प्रचार प्रसारका सामग्री, स्वागत सामग्री, सम्मान सामग्री, प्रमाणपत्र निर्माण आदिको लागि थप ३/४ लाख जति लागेको भन्ने कुरा शर्माबाट आएको अध्यक्ष चौधरीले जानकारी दिए।
‘यो सबै जोड्दा झन्डै १२ लाखको हाराहारीमा शर्माजीलाई दिनुपर्छ होला बाँकी मन्दिर निर्माण गर्न र जग्गा खरिदमा पैसा प्रयोग हुन्छ,’ अध्यक्ष चौधरीले भने ।
अध्यक्ष चौधरीले स्थानीयस्तरमा सवारी साधनको प्रयोग गर्दा, प्रचार प्रसार गर्दा थप ३ लाख जति खर्च भएको हुन सक्ने अनुमान गरे।
‘हामी एक हप्ताभित्रै सबै खर्चको विवरण र बचेको रकम हिसाब गरेर सार्वजनिक गर्नेछौं,’ अध्यक्ष चौधरीले भने, ‘एक रुपैयाँ पनि दुरूपयोग हुन दिने छैनौं।’
उनले सबै खर्च कटाएर ३८ लाख जति नगद बचत हुन सक्ने आंकलन गरे। त्यसबाहेक जग्गा जमिन र अन्य जिन्सी दानको भने लेखाजोखा हुन बाँकी नै रहेको बताए ।
‘हामीले नाग देवता प्रकट भएकै स्थानमा कैलाशधाम नागेश्वर मन्दिर निर्माण गर्ने प्रक्रिया सुरू गरिसकेका छौं,’अध्यक्ष चौधरीले भने ‘तुलसीपुर उपमहानगरपालिकाकी मेयर माया आचार्यले माघ ७ गते श्रीस्वस्थानी व्रत कथा आरम्भ हुने दिनमा मन्दिरको शिलान्यास गरिसक्नुभएको छ।’
सर्पलाई धर्मसँग जोड्नु गलत हो : वन्यजन्तु अनुसन्धानकर्ता
दाङमा नियमित एकै स्थानमा बस्ने सर्पलाई ‘नाग देवता’ भन्दै पूजा आराधना गर्दै आइएको भए पनि वन्यजन्तु अनुसन्धानकर्ता भने त्यो मान्न तयार देखिएनन्।
‘गोमन सर्पलाई नाग देवताको संज्ञा दिँदै धर्मसँग जोडेर पूजा गर्नु गलत हो,’ दाङका एकजना वन्यजन्तु अनुसन्धानकर्ता चिरिञ्जीवी खनालले भने।
स्थानीयले भने विगतमा सर्प देखिँदै आएको दुलो नजिकै गाईको दूध र जल राख्नुको साथै पूजा आराधना गर्दै आएका छन्। कतिपय ‘माता’ भनिने युवती तथा महिलाहरू यहाँ आएर काम्ने,कराउने तथा चिच्याउने समेत गर्दै आएका छन्। त्यसैगरी केही पुरुषहरू समेत काम्ने गरेका छन्।
हाल सर्प देखिएको यो स्थानमा दुई/तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको स्थानीयले जानकारी दिए। पुसको अन्तिम समयदेखि उक्त गोमन सर्प बिहान ठीक ९ बज्दा दुलोबाट निस्कने र एक घन्टापछि दूलोभित्र प्रवेश गर्ने क्रम झन्डै एक महिना जति चलेपछि त्यसलाई यहाँ नागदेवता मान्दै पूजा गर्ने क्रम सुरू भएको हो। तर पछिल्लो समय उक्त सर्प भने देखिन छोडेको छ। वन्यजन्तु अनुसन्धानकर्ता खनालले महायज्ञ लगाउँदा उत्पन्न भएको चर्को ध्वनि र मानिसहरूको पहलले त्यो साप भागेको हुन सक्ने आशंका व्यक्त गरे।
‘यस्तै भीडभाड र चर्को ध्वनि कायमै रहे अवश्य एकदिन त्यो त्यहाँबाट भागेर जाने छ,’ खनालले दाबीका साथ भने।
उनले त्यो सर्प बिरामी भएको हुन सक्ने तथा त्यो उसको बासस्थान पनि हुनसक्ने अनुमान लगाए।
‘जाडो मौसममा सर्प प्राय: एकै स्थानमा बस्छ त्यो कुनै आश्चर्य हैन,’ खनालले भने ‘त्यो सर्प जाडोमा घाम तापेर फेरि दुलोमा पस्नु सामान्य कुरा हो र अब गर्मी सुरू भएको हुँदा त्यो त्यहाँ नबस्न सक्छ।’
तर स्थानीय धार्मिक व्यक्तिहरू भने त्यो नाग देवता नै भएको दाबी गर्दै नागमणि छोडेर त्यहाँबाट कतै नजाने दाबी गर्दै आएका छन्।
यो सँगै स्थानीयले आफूले सपनामा नाग देखिँदै आएको स्थानमा साक्षात शिव भगवान र देवीदेवता देखेको दाबी पनि गर्दै आएका छन्।
‘दुलो रहेको जमिनमुनि शिव पार्वती तथा देवीदेवताको भव्य महल तथा बासस्थान रहेको कुरा मैले सपनामा देखे,’ त्यहाँका पूजारी नारायण भट्टराईले दाबी गरे।
स्थानीय अर्की एक चौधरी महिलाले पनि सपनामा आफूले पनि त्यही देखेको हुँदा त्यो सर्प नभई नाग देवता नै भएको जिकिर गरिन्।