दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले प्रहरी हवल्दारद्वारा बलात्कृत भएकी भनिएको महिलाको गाउँमा पुगेर सार्वजनिक रूपमा अन्तर्क्रिया गरेका छन्।
सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीसहित इप्रका मझघटुवा पुगेर एसपीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग सार्वजनिक भएको बलात्कार काण्डबारे सार्वजनिक रूपमा स्थानीयसँग अन्तर्क्रिया गरेका हुन्।
यसअघि ईलाका प्रहरी कार्यालय फूलबारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले बिहिबार राति स्थानीय एक २१ वर्षीया महिलालाई पानी पिउने भन्दै ढोका खोल्न लगाएर जबर्जस्ती बलात्कार गरेको अभियोगसहितको समाचार प्रकाशित भएको थियो।
अभियोगपछि सोही राति नै एसपी पाण्डेले अभियुक्त चन्दलाई पक्राउ गरिएको थियो।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्द हाल इप्रका तुलसीपुरको थुनुवा कक्षमा छन्। पीडित महिलाले शुक्रबार इप्रका तुलसीपुरमा आएर प्रहरी हवल्दार चन्दविरूद्ध उजुरी दिइसकेकी छन्। जबर्जस्ती बलात्कार गरेको अभियोग खेपेका चन्दविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ। उक्त बलात्कार काण्डबारे मेडिकल रिपोर्ट भने अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।
बर्दी लगाएको पुलिस देख्दा चेलीबेटी डराउन थाले – स्थानीय
इप्रका मझघटुवामा भएको अन्तर्क्रियामा सहभागी स्थानीयहरूले बलात्कार अभियोगमा पक्राउ परेका प्रहरी हवल्दार चन्दका आफन्तले फोनमा पीडितलाई धम्की दिन थालेको जानकारी दिए।
स्थानीय काशीराम खड्काले चन्दकी पत्नी र काका आइतबार मात्रै पीडितको घरमा आएर मिल्न आग्रह गर्दै त्यसो नभए ज्यानको धम्की दिएको भन्ने सुन्नमा आएको भन्दै सुरक्षाको व्यवस्था गर्न प्रहरी अधिकारीसँग माग गरे।
‘पीडितलाई लाखौं रकमको प्रलोभन देखाइएको र त्यो अस्वीकार गरेपछि ज्यान मार्ने धम्की दिएको कुरा आएको छ,’ खड्काले भने ‘अब हामी जनता नै रातिमा प्रहरी आउँछ कि भनेर जागा बस्नुपर्ने स्थिति सृजना हुँदैछ।’
हबल्दार चन्दले बलात्कार गरेको रातमा आफू लगायतका अन्य गाउँलेहरूले लखेट्दा उनी भागेर इप्रकाभित्र छिरेको खड्काले बताए। आफूहरू बलात्कृत महिलाको न्यायको लागि अभियुक्त हवल्दार चन्दको पिछा गर्दै इप्रकासम्म पुगेको भए पनि सुरूमा त्यहाँका इञ्चार्जले समेत कुरा गर्न नमानेको भन्दै आक्रोस पाखे।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला नेपालीले प्रहरी हवल्दारको गलत कामले गर्दा स्थानीय सर्वसाधारणमा त्रास फैलिएको बताइन्।
‘पीडित महिलाले मलाई रुँदै भन्नु भएको हो। उसले पानी दिनुस् भनेर जबर्जस्ती बलात्कार गर्यो र त्यसपछि कतै भने तेरो दुइटै बच्चा अनि तलाई पनि मार्छु भन्दै त्रास देखाएर गएछ,’ कमलाले भनिन्।
स्थानीय चिरिञ्जीवी वली र देवबहादुर विकले बर्दी लगाएको पुलिस देख्दा पनि चेलिबेटी त्रर्सिनुपर्ने अवस्था सृजना भएको हुँदा दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे।
‘घटनापछि गाउँमा पीडकका आफन्त पनि आउने जाने क्रम बढेको छ,’ डिल्लीबहादुर पौडेलले भने, ‘हामी असुरक्षित बन्न थालेका छौं। गाउँलेलाई सुरक्षाको ग्यारेन्टी दिनुपर्यो।’
तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपाने, स्थानीय तुलसा वली, हुकमबहादुर नेपाली लगायतका व्यक्तिले पीडितका आफन्तबाट लगातार फोन आउने गरेको, पैसामा बार्गेनिङ गर्ने गरेको, महिलाको इज्जतलाई पैसामा तुलना गर्न खोजेको हुँदा त्यसमा प्रहरी प्रशासन सजग हुनुपर्ने ध्यानाकर्षण गराएका थिए।
त्यस्तै, उनीहरूले जताततै खुल्लम खुल्ला मदिराको कारोबार हुने गरेको भन्दै त्यो नियन्त्रण गर्न माग गरेका छन्।
‘आठ वर्षको बालकदेखि ७०/८० वर्षको वृद्ध पनि रक्सी खाएर हल्ला गर्दै हिँड्छन्,’ वलीले भनिन्, ‘एसपी साप तत्काल त्यो रोक्न भूमिका खेलिदिनुहोला।’
आरोपितलाई जोगाउन प्रहरी लाग्दैन – एसपी
सार्वजनिक रूपमा स्थानीयसँग छलफल तथा अन्तर्क्रियापछि एसपी पाण्डेले सार्वजनिक घटनाले निकै निन्दनीय भएको बताएका छन्।
‘संगठनकै शिर निहुरिने गरी समाचारहरू सार्वजनिक हुँदा मलाई यहाँ तपाईंहरूसँग छलफल गर्दा पनि लज्जाबोध भइरहेको छ,’ एसपी पाण्डेले आश्वास्त पर्दै भने, ‘हरेक संगठनभित्र खराब व्यक्तिहरू हुन्छन्। तपाईंहरू ढुक्क हुनुहोस् अभियोग पुष्टि भए उसलाई कुनै पनि किसिमले जोगाउन प्रहरी लाग्ने छैन।’
प्रहरी हवल्दारले जबर्जस्ती एक महिलालाई बलात्कार गरेको अभियोग लागेपछि समाजमै गएर सत्य तथ्य बुझ्नका लागि आएको उनले बताए।
‘यो अत्यन्तै जघन्य अपराध र निन्दनीय कार्यको जति भर्त्सना गरे पनि पुग्दैन,’ एसपी पाण्डेले भने, ‘ म अत्यन्त दुखी छु र जिल्ला प्रहरी प्रमुखको हैसियतले तपाईंहरू समक्ष माफी माग्न चाहन्छु।’