प्रदेश दुईका डिआइजी हरिबहादुर पालले धनुषामा ९ वर्षीया बालिका दितिया रसाइलीको बलात्कारपछि भएको हत्याबारे अनुसन्धान तीव्र गतिमा भइरहेको बताएका छन्।
बुधबार राति छिमेकको घरमा विवाह हेर्न गएकी धनुषाको मिथिलानगरपालिका वडा नम्बर ३ हरिपुरकी बालिका दितियाको शव बिहिबार बिहान आधा जलेको अवस्थामा स्थानीयले फेला पारेका थिए।
‘राति अबेरसम्म त्यही नाचेकी थिइन् नातिनी’, भाव विह्वल हुँदै दितियाकी हजुरआमा सूर्यमायाले भनिन्, ‘तर बिहेमा नाच्दै गरेकी नातिनीलाई राक्षसहरूले कतिबेला उठाएर लागि बलात्कार गरी शवलाई आधा जलाई छोडदिएका रहेछन् बुझ्नै सकिनँ।’
बालिका दितियाको शव जलेको अवस्थामा बिहिबार बिहानमात्र गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘दितियालाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो। बालिकाले कुरा खोलिदिने डरले हत्या गर्यो र उनको शवलाई जलायो’, काका देवराज रसाइलीले भने ‘प्रमाण नष्ट गर्न उनीहरूले शव पनि जलाए।’
यता डिआइजी पालले बालिकाको हत्या सम्बन्धमा अनुसन्धान जारी नै रहेकोले अहिल्यै नै केही भन्न सक्ने अवस्था नरहेको बताए। तीन चार दिनमै हत्यारा पत्ता लाग्छन् त ?’, सेतोपाटीसँग कुरा गर्दै डिआइजी पालले भने।