अघिल्लोपटक नेपाल आएका बेला उनले भनेका थिए–‘गाईजात्रा प्रताप मल्लले चलाएका होइनन्।’
उनी हुन्, अमेरिकाको मेडिसनस्थित विस्कन्सिन विश्वविद्यालयमा ३० वर्ष पढाएका ‘प्रोफेसर एमेरिटस’ गौतमबज्र बज्राचार्य। भारतीय उपमहाद्वीपको प्राचीन कला र इतिहासका विज्ञ।
अमेरिकाकै रुबिन म्यूजियमसँग मिलेर आफैंले लेखेको पुस्तकमाथि बोल्दै गर्दा त्यसदिन अचानक गाईजात्राको सन्दर्भमा प्रवेश गरेका थिए। उनले यो पर्वलाई प्रताप मल्लभन्दा अगाडि उभ्याउने आधारहरू पनि राखिदिए।
‘उपत्यकाका जात्रा र परम्पराहरू गौपालक र त्यसपछि कृषि युगबाटै उत्पन्न भएका हुन्,’ बज्राचार्यको भनाइ थियो, ‘पछि संस्कृतको प्रभाव भित्रिएसँगै ती जात्रा र परम्परामा देवीदेउतादेखि शक्तिसम्पन्न शासकलाई समेत जोडिदिने क्रम चल्दै आएको छ।’
उनले लगत्तै प्रश्न पनि गरे।
‘गाईजात्रा काठमाडौंमा मात्रै मनाइँदै आएको पर्व हो र?’ आफैं जवाफ पनि दिए, ‘होइन नि! गाईजात्रा ललितपुर र भक्तपुरमा पनि मनाइन्थ्यो।’
बज्राचार्यका अनुसार त्यतिबेला एकापसमा कलह गरेर बाँचिरहेका यी तीन राज्यका कुनै एक राजाले सुरू गरेको परम्परा बाँकीले पछ्याए भन्नु इतिहास नबुझ्नेलाई मूर्ख बनाउनु हो।
अर्थात्, हामीले केटाकेटीदेखि पढ्दै आएको ‘गाईजात्रा प्रताप मल्लले सुरू गरेका’ भन्ने इतिहास गलत रहेछ।
गत महिना बज्राचार्य फेरि नेपाल आए। गाईजात्रा प्रकरणको साढे दुई वर्ष बितिसकेको थियो।
ललितपुरको यलमाया केन्द्रमा इतिहास र संस्कृतिबारे रूचि राख्नेहरूको जमघट थियो।
‘नेपालमा हिन्दूधर्म’ सम्बन्धी त्यो बौद्धिक विमर्शमा बज्राचार्यले अर्को भनाइ राखिदिए।
‘इन्द्रजात्रासँग भगवान इन्द्र वा त्योबेलै पुजिने भैरवको कुनै सम्बन्ध छैन,’ उनले थपे, ‘यो त उतिबेलाका प्रकृतिपूजक नेवारहरूले चलाएको कृषिमा आधारित परम्परा थियो। यसलाई पछि उपत्यकाको संस्कृतिकरणसँगै पानी पार्ने भनिएका देउता इन्द्र र आकाश मानिने भैरवसित लगेर जोडियो।’
उनले अहिले इन्द्रजात्रा भनेर मनाइने पर्व कुनै समय खेतबारी रक्षा गर्ने र पितृसमेत मानिने बुख्याँचाको सम्मानमा सुरू भएको जानकारी दिए।
यो रोचक तथ्य थियो। यसबारेमा विस्तारमा बुझ्नु थियो।
दुई दिनपछि हामी ललितपुर, सौगलस्थित ‘बुटिक हेरिटेज होम’मा भेट्यौं। त्यो माघे झरीको बिहान थियो। गल्लीभित्र चिटिक्क सजाइएको पुरानो मौलिक नेवार घर। असंख्य घामपानी झेलेका यी काठ र इँटाहरू रसाउँदा एक किसिमको पुरानो बास्ना फैलिरहेको हुन्छ। झ्यालढोकाका छेउमा राणाहरूले भित्र्याएका युरोपेली शैली झल्किने लिउनका सेता बुट्टा देखिन्थे। झिँगटीको छानो हुँदै ढुंगा ओछ्याइएको भुइँमा तप्प-तप्प पानी चुहिरहँदा हामी ओत लागेर बस्यौं।
‘हेर्नुस्न, यो काठमाडौं कस्तरी फेरिँदै गइरहेको छ,’ ओभरकोट लगाएका बज्राचार्य छेवैमा बसे र भन्न थाले, ‘इतिहासको कुरा छाडौं, मैले नेपाल छाड्दाको दृश्य सुनाएँ भने पनि बौलाहा भनिदेलान् भन्ने डर छ।’
बज्राचार्यले सन् १९७४ मा नेपाल छाडेका थिए। त्यति थोरै अवधिमै फेरिएको के रहेछ त्यस्तो दृश्य?
‘यहाँका ७५ प्रतिशत मानिसको खुट्टामा जुत्ता देखिन्थेन,’ उनले भने, ‘जुत्ता लगाएर अखबार किन्न आउने मान्छे हेर्न न्यूरोड पुग्नुपर्थ्यो।’
हामी बज्राचार्यसँग त्योभन्दा पनि निकै पहिलेका कुरा सुन्न लालायित थियौं। त्यतै मोडियौं।
गौतमसँग कुराकानीको सुरूआत गौतमबुद्धकै चर्चाबाट भयो।
‘हामीले बुद्ध जयन्ती मनाउन थालेको सत्तरी वर्ष पनि भएको छैन,’ उनले भने, ‘त्यसभन्दा पहिले हामीकहाँ त्यही दिन स्वायां पुन्ही (फूलको पूर्णिमा) मनाइन्थ्यो।’ त्यसैले प्राचीन नेवार क्यालेन्डरमा स्वायां पुन्ही मात्र भेटिने र बुद्ध जयन्ती फेला नपर्ने उनले प्रष्ट पारे।
‘अर्को एउटा तथ्य छ,’ उनले थपे, ‘त्यो बौद्ध समुदायका अघिल्तिर सुनाएँ भने पक्कै रिसाउँछन्।’
उनले लुम्बिनीमा भेटिएको मायादेवीको मूर्तिमाथि नै प्रश्न गरे।
संस्कृतमा एउटा शब्द छ ‘अशोक दोहद’ अर्थात् अशोक वृक्षको कामना। पौरुष गुणको त्यो रुखलाई कुनै सुन्दर युवतीले सुम्सुम्याउने, चुम्ने वा मुखबाट रक्सी हालिदिने हो भने वसन्तका बेला त्यसमा फूल लाग्छ भन्ने परम्परागत मान्यता छ। त्यही मान्यताका आधारमा प्राचीन राजदरबारहरूमा राजाले छानेका सुन्दर युवतीलाई अशोक वृक्ष छुन लगाइन्थ्यो। यही प्रकृयालाई अशोक दोहद भनिन्छ।
पश्चिम भारतमा पाणिनीले यो उत्सवबारे थाहा पाएका थिए। यसलाई उनले नै पूर्वेलीहरूको पर्व नामाकरण गरे। यही अशोक दोहदको उल्लेख पाली लिपिमा पनि गरिएको पाइन्छ। पूर्णचन्द्रको दिन मनाइने यस्तो पर्वलाई नक्षत्र क्रिडा नाम दिइयो।
त्यही नक्षत्र नेवारी भाषामा नखत भनेर आइपुग्यो। अनि नखतबाट नखः।
‘यसबाटै हामी बुझ्छौं, प्राचीन भारतको अशोक दोहदबाट नेपाल पनि जोडिएको रहेछ,’ बज्राचार्यले भने, ‘जसबाट वैशाख पूर्णिमाका दिन स्वायां पुन्ही पनि जन्मियो।’
तर, वैशाख पूर्णिमा भनेपछि फेरि वसन्तको समय भएन।
यसको आधार खोज्न बज्राचार्य फेरि गोपाल राजवंशावलीमा प्रवेश गर्छन्। त्यस वंशावलीमा पौष्प पूर्णिमा उल्लेख छ। त्यो नै वैशाख शुक्ल पूर्णिमा थियो। परापूर्वकालमा वैशाख शुक्ल पूर्णिमाकै दिन होली पनि मनान्थ्यो भनेर स्पष्टै लेखिएको छ।
‘आजभोलि फागुनमा होली मनाउँछौं,’ बज्राचार्यले भने, ‘ल हेर्नुस्त! जबकि प्राचीनकालमा वैशाखमै मनाइँदो रहेछ।’
उनका अनुसार समयसँगै यति धेरै परिवर्तन भएका छन्, पत्याउन गाह्रो हुन्छ।
‘मायादेवीको भनिएको मूर्ति ठीक उस्तै प्राचीन भारतमा भेटिने अशोक दोहदको मूर्ति अर्थात् सुन्दर युवतीले सालभन्जिका मुद्रामै रुखलाई सुम्सुम्याइरहेको अवस्थामा ठ्याक्कै मिल्ने देखिन्छ,’ बज्राचार्यले थपे, ‘यो कुरा बौद्धमार्गीहरूका सामुन्ने भन्न पनि अप्ठ्यारो छ।’
गौतमले आफ्नो लामो अध्ययन र अनुभवका आधारमा यी सबै कुरा भन्दै थिए।
सन् १९५० ताक, जतिबेला काठमाडौंका सम्भ्रान्तहरूमा पश्चिमेली शिक्षा पद्धतिप्रति विस्तारै लगाव बढ्न थालेको थियो, बज्राचार्यका अभिभावकलाई छोराको पढाइ अंग्रेजी माध्यमबाट र त्यसमाथि पनि परीक्षा दिँदै उक्लनुपर्ने कक्षागत हिसाबले गराउँदा राम्रो प्रतिफल मिल्दैन भन्ने लाग्यो। परिचित अन्वेषक धनबज्र बज्राचार्यका भतिजा उनले १३ वर्ष उमेरसम्म घरैमा पढे। त्यसपछि बनारसबाट दीक्षित उनकै पिता र नयराज पन्त मिलेर थालिएको गुरुकुल शिक्षा पद्धतिमा गौतमलाई सरिक गराइयो।
त्यतिबेला संस्कृत पढ्नेहरू इतिहासमा रुचि लिन्थेनन्। संस्कृत पढ्नेहरूको विषय इतिहास होइन भनिन्थ्यो। यस्तो अवस्थामा नयराज पन्तले संस्कृत पढ्नेहरूले सबभन्दा राम्रो गर्न सक्ने भनेकै इतिहासमा हो भनेर ठहर गरे। संस्कृत पढेकाहरूले नै शिलालेख पढ्न सक्ने र पुराना कुराहरू बुझ्न सक्ने भएकाले शिष्यहरूलाई इतिहास पढ्न बाध्य पारे।
यसरी बज्राचार्य पढेको स्थानले नेपालमा यस्ता उम्दा विद्वान जन्माए, जसले ‘इतिहास संशोधन मण्डल’का माध्यमबाट नेपाली इतिहासकै पुनर्लेखन थालनी गर्यो। नयराज पन्तले यस संस्थाको जन्म नै इतिहासका त्रुटि र कमीकमजोरी तर्कपूर्ण व्याख्यासहित सच्याउने हिसाबले गराएका थिए।
‘गुरुकुलको पढाइ सजिलो थिएन,’ बज्राचार्य भन्छन्, ‘पुस्तकका ठेलीहरू कण्ठस्त पार्नुपर्थ्यो।’
परम्परागत पढाइ मात्र होइन, त्यहाँ उनीहरूलाई प्राचीन लिपिहरूसमेत ठम्याउन लगाइन्थ्यो। त्यसैगरी मूर्ति वा अन्य कलामा वर्णित भावभंगिमाको व्याख्या गर्न सक्नुपर्थ्यो। यसरी शिलालेखका आधारमा मन्दिर, देवता र त्यसका परिवेश वर्णन गर्न बज्राचार्य सिपालु हुँदै गएका थिए।
गुरुकुलबाट पढाइ पूरा गर्नेबित्तिकै गौतमलाई त्रिभुवन विश्वविद्यालयले एउटा किताब लेख्ने जिम्मेवारी सुम्पेको थियो। हनुमानढोका चिनाउने त्यो पहिलो पुस्तकमार्फत् नै उनले नेपालबारे जिज्ञासा राख्ने पश्चिमा विद्वत् वृत्तमा पहिचान बढाउन सफल भए।
‘त्योबेला हत्तपत्त जो पायो त्यसलाई हनुमानढोकाका सामग्रीसम्म पहुँच दिइन्नथ्यो,’ संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘यस्तोमा दरबारको विश्वास कमाएका बज्राचार्यका निम्ति त्यो गज्जब अवसर भयो।’
संशोधन मण्डलबाटै निस्कने ‘पूर्णिमा’को काममा सरिक रहँदै गौतमले चिनेका अर्को साथी थिइन् नेपालका प्राचीन कलाबारे अध्ययन गरिरहेकी मेरी स्लसर। अमेरिकाका महत्वपूर्ण संग्रहालयहरूको व्यवस्थापन गर्ने ‘स्मिथ सोनियन फाउन्डेसन’ की अध्येता थिइन् उनी।
मेरीले अमेरिका पुगेपछि डा. प्रतापादित्य पालसमक्ष गौतमको चर्चा गरिन्। पाल त्यतिबेला ‘लस एन्जलस काउन्टी म्युजियम अफ आर्ट’को भारत तथा दक्षिणपूर्वी एसियाली कला ‘सिनियर क्युरेटर’ (वरिष्ठ मूल्यांकनकर्ता) थिए। नेपाली संस्कृतिसम्बन्धी एक पुस्तक अनुसन्धान क्रममा सन् १९७४ मा पाल नेपाल आए। काठमाडौंमा पाल र गौतमले मिलेर काम गरे।
फर्किने बेला पालले अचानक एउटा प्रश्न सोधेर गौतमलाई चकित पारिदिए।
‘के तिमी अमेरिका आएर काम गर्न चाहन्छौ?’
गौतमले सुरूमा यो मजाकमै गरिएको प्रश्न भन्ठाने। तर, पाल फर्केको केही समय नबित्दै अमेरिकाबाट एउटा चिठ्ठी आयो। त्यसमा उनलाई पाल कार्यरत ‘लस एन्जलस काउन्टी म्युजियम अफ आर्ट’मा रोजगार दिइएको जानकारी थियो। जतिबेला गौतमले नेपालमा महिनाको ५० अमेरिकी डलर पनि कमाइरहेका थिएनन्, त्यो समय उनलाई १५ सय अमेरिकी डलर दिइने जानकारी पत्रमा थियो।
उनी गए।
केही समय संग्रहालयमा काम गरेपछि गौतमलाई अमेरिकामा पढाइ अगाडि बढाउने इच्छा जाग्यो। तर, पढ्ने कसरी? गुरुकुल पद्धतिमा पढेका उनीसँग औपचारिक पढाइको कागजातै थिएन।
यस्तो अवस्थामा लस एन्जलसकै ‘क्लेरमोन्ट ग्रायजुएट स्कुल’ले उनको ज्ञान हेर्दै ‘कलाको इतिहास’ विषयमा सोझै स्नातकोत्तरमा भर्ना लिने निर्णय गर्यो। उनलाई भर्नामा सघाउने काम उनै मेरीले गरेकी थिइन्। गौतमले पछि ‘युनिभर्सिटी अफ विस्कन्सिन’बाट ‘दक्षिण एसियाली भाषा र साहित्य’ विषयमा विद्यावारिधि गरे र तीस वर्ष त्यही विश्वविद्यालयमा प्राध्यापन गरेर बिताए।
यसरी नयराज पन्तले विकास गरेका गुरुकुलको आधार अनि अमेरिकी विश्वविद्यालयमा बितेको जीवन। उनले पूर्वी समाज र पश्चिमा समाजलाई कसरी भिन्न देखे?
‘यो निकै महत्वपूर्ण प्रश्न हो,’ उनी भन्छन्, ‘मान्छेहरू यो दुई समाजलाई धार्मिक अभ्यासले छुट्याउने बताउँछन्। जबकि मैले प्रकृति र जीवमा त्यो भिन्नता पाएको छु।’
बज्राचार्यका अनुसार हाम्रो भिन्नता भनेको मनसुन संस्कृति हो। हिन्दू र बौद्ध धर्म त्यसैका हाँगाबिँगा मानेर हेर्दा हुन्छ। यी दुई समाजको भिन्नता प्रकृतिमा नखोजेर धर्ममा खोजिए अलमल बढ्दै जाने उनी सुनाउँछन्।
यो भेदको जानकारी उनलाई अमेरिका पुग्नेबित्तिकैको अनुभवबाट भएको थियो।
अमेरिकाको विस्कन्सिन जाडो याममा असाध्यै हिमपात हुने ठाउँ थियो। महिनौंसम्म हिउँ जम्थ्यो। कहिलेकाहीँ महिनौंसम्म घामै देख्न पाइन्थेन। असाध्यै चिसो। चार-पाँच महिना जाडो चलेपछि बल्ल हिउँ पग्लन थाल्थ्यो। विस्तारै जमेका ताल पग्लन्थे। तालका भ्यागुताहरू माथि-माथि आउँथे। त्यसपछि तिनीहरू ट्वार्रट्वार्र गर्थे।
‘यो नै मैले नेपाल र अमेरिकाका भ्यागुतामा देखेको भिन्नता थियो,’ बज्राचार्य भन्छन्, ‘एउटै प्राणी, यता वर्षा ऋतुको प्रतीक। उता वसन्त ऋतु आगमनका दिनहरू सम्झाउने।’
अर्थात्, जसरी यता गर्मी लागेपछि सतहमा बस्न नसक्ने प्राणी पृथ्वीको गर्भमा गएर आफूलाई बचाउँथे र वर्षासँगै बाहिर निस्कन्थे, त्यसैगरी अमेरिकामा सतहको जाडो सहन नसक्ने प्राणी हिउँ नपग्लेसम्म पृथ्वीको गर्भमा गएर बिताउने रहेछन्।
‘यसले मलाई संसारमा दुई प्रकारका संस्कृति छन् भनेर बुझ्न मद्दत गरेको छ,’ उनले भने, ‘पश्चिमा संसारको ‘हाइबरनेशन’ संस्कृति र पूर्वीय समाजको ‘एक्स्टीभेसन’ संस्कृति।’
त्यही हिसाबले पश्चिमा समाजमा सूर्यको र पूर्वी समाजमा वर्षाको प्रार्थना हुने बज्राचार्यको ठहर छ।
‘हिन्दी सिनेमामा वर्षात्का बेला हिरो-हिरोइन नाचेको दृश्य देख्छौं,’ बज्राचार्यले रमाइलो उदाहरण दिए, ‘जबकि पश्चिमाहरूले बादल लागेको बखत खराब दिन भनेर अनुहार अँध्यारो बनाउँछन्।’
बज्राचार्यका अनुसार हामी खेतीपातीसँग जोडिएका छौं। खेतीपाती जीवनसँग जोडिएको छ।
‘त्यसैले हाम्रानिम्ति देउता भनेकै पानी पारिदिने शक्ति हो,’ उनले थपे, ‘काठमाडौंमा श्रावण शुक्ल पूर्णिमाकै दिन भ्यागुताको पूजा गर्ने र खेत गएर तिनलाई खानेकुरा खुवाउने नेवारहरूको प्रचलनै छ।’
वर्षासँगै जमिनबाट भ्यागुता मात्र नभई सर्प पनि निस्कन्छन्। हाम्रो संस्कृतिमा सर्पको पनि त्यतिबेलै पूजा हुन्छ।
भ्यागुता कराउन थालेपछि पानी पर्नेबारे ऋग्वेदमा पनि उल्लेख गरिएको उनले बताए।
यसरी वर्षा गराइदिने शक्तिको खोजीमै हाम्रा सामुन्ने निकै पछि इन्द्र देउता उपस्थित गराइएको बज्राचार्य सुनाउँछन्। उनका अनुसार इन्द्र आफैंमा पानी पार्ने देउता होइनन्।
काठमाडौंमा संस्कृत बोल्ने मान्छे भित्रिएसँगै उनीहरूले आफूसँग थुप्रै देवीदेउता लिएर आएको बज्राचार्य बताउँछन्। त्यसपछि उनीहरूको बढ्दो प्रभावसँगै यहाँका परम्परागत जात्रा र पर्वमा उनीहरूले नै देवीदेउता घुसाइदिन थालेको उनको ठम्याइ छ।
‘कालक्रममा यो सबैकुरा यसरी छ्यासमिस भएर अघि बढ्यो,’ उनी भन्छन्, ‘अब यसलाई छुट्याएर हेर्नै मुश्किल भएको छ।’
नेपालमा पाँचौदेखि सातौं शताब्दीका बीचमा इन्द्र देउता असाध्यै प्रभावकारी भएर देखा परेको उनको अध्ययन छ।
यसैबीच एक फ्रान्सेलीको निजी संग्रहमा रहेको शिलालेखअनुसार काठमाडौंमा आठौं शताब्दीदेखि इन्द्रजात्रा सुरु भएको हो।
‘त्योभन्दा निकै अगाडिदेखि चल्दै आएको जात्रा नेवारहरूको प्राचीन देउताको थियो, जसलाई आजु भनिन्थ्यो,’ बज्राचार्य भन्छन्, ‘त्यही देउताको ठाउँमा इन्द्र राखिदिने काम उपत्यकामा बढेको संस्कृतको प्रभावसँगै भयो।’
एउटा अर्को रोचक तथ्य पनि छ।
इन्द्रजात्रा बेला भक्तपुरतिरका बेग्लै दृश्यले पनि केही भन्न खोज्छ।
‘मैले भक्तपुरमा इन्द्रजात्राका बेला राखिएका सबै इमेज अध्ययन गरेँ,’ बज्राचार्य भन्छन्, ‘त्यसमा सबैतिर संरचना बुख्याँचाको छ, जसको मुखौटा कतै इन्द्रको हुन्छ त कतै सूर्य देउता अनि कतै आकाश देउताको।’
प्राचीनकालमा नेवारहरूले बुख्याँचालाई नै आफ्नो पितृदेवका रुपमा पूजा गर्दै आइरहेको उनी बताउँछन्। अनि बुख्याँचाले तिनको खेती सुरक्षा गरिदिन्थे।
खेती सुरक्षा इन्द्रजात्रामा मात्र गरेर हुँदैन, खेतमा धान फलिरहुन्जेलसम्म चाहिन्छ। इन्द्रजात्रा बेला त धान तयार भएर अधिकांश समय खेतबाट काटिसकिएको हुन्छ। उनीहरूलाई त्योभन्दा झण्डै दुई महिना पहिलेदेखि चराहरूबाट धानको सुरक्षा चाहिएको हुन्छ। त्यसैले प्राचीनकालमा यो पर्व दुई महिनासम्म मनाइने गरेको पाइन्छ।
यो निकै पुरानो जात्रामा पछि गएर इन्द्र र भैरव कसरी जोडिए?
आठौं शताब्दीदेखि इन्द्रजात्रा सुरु भएको भनिन्छ। अनि आठौं शताब्दी प्रारम्भताककै एउटा इन्द्रको मूर्ति काठमाडौंमा असाध्यै प्रसिद्ध छ। ठ्याक्कै बुख्याँचाको जस्तो। दुईतिर ठाडो हात गएको यसखाले मूर्ति काठमाडौंबाहेक अन्त कतै पाइँदैन। भारतमा त छँदैछैन।
त्यो मूर्ति व्याख्या गर्न हाम्रा पूर्खाहरूले रोचक कथा रचना गरेका थिए। त्यो चर्चित कथाअनुसार उतिबेला इन्द्र पारिजातको फूल लिन स्वर्गबाट काठमाडौं आएका थिए। फूल चोरेको भन्दै उनलाई यहाँका मानिसले पक्रेर सजाय दिएका थिए।
‘त्यो कथा मान्ने भन्दा पनि त्यसले दिएका संकेतले इतिहास कसरी झल्काउँछ भनेर मैले अध्ययन गरेँ,’ बज्राचार्य भन्छन्, ‘त्यो मूर्ति नै आठौं शताब्दीमा इन्द्रलाई बुख्याँचा रुपमा काठमाडौंमा अवतरण गराइएको आधार थियो।’
इतिहासको सत्य पछ्याउने नै अभिलेख र किम्बदन्ती अध्ययन र विश्लेषणबाट हुने हो। यो मामिलामा इन्द्रको मूर्ति स्वयं नै अभिलेख बनेको उनको ठहर छ।
रोचक के छ भने, इन्द्रजात्रामा इन्द्रको मात्र नभई भैरवको पनि पूजा गरिन्छ। इन्द्र काष्ठमण्डपअगाडि हुन्छन्। अलि पर हनुमानढोकाको सामुन्ने भैरवस्थान छ। काठमाडौंभरि नै या त इन्द्र वा भैरवका कुरा हुन्छन्।
भैरव शैव सम्प्रदायका देवता हुन्। त्यसैले भैरवको शिरमा कुलेसका रूपमा शिव भगवान हुन्छन्।
‘तर, विचित्र के छ भने कतिपय तस्बिरमा यिनै भैरवको शिरमा फेरि शैव नभई वैष्णव सम्प्रदायका इन्द्रको मूर्ति देखिन्छ,’ बज्राचार्य भन्छन्, ‘अर्थात्, नियोजित रुपमा इन्द्रसँग पनि भैरवलाई नजिक्याउने प्रयास गरिएको छ।’
यी तमाम आधार राखेर हेर्दा इन्द्रजात्रा मूल रुपमा इन्द्रजात्रा नै थिएन भन्ने निष्कर्ष निस्किन्छ। यसको नाम इन्द्रजात्राभन्दा अगाडि यलम नामका कुनै आदिपुरुषबाट राखिएको थियो। भदौ महिनालाई यँला भन्नु पनि ‘यलम्ला’ भन्न खोजिएको तर्क बज्राचार्यको छ।
‘उपत्यकामा संस्कृत प्रभाव भित्रिएपछि केही मान्छेले नेवारहरूको प्राचीन देवतालाई इन्द्र भनेर तोकिदिए,’ उनी भन्छन्, ‘त्यसैगरी अर्काथरीले भैरवलाई ल्याएर जोडिदिए।’
जबकि पुजिँदै आएका ती देवता न इन्द्र थिए, न भैरव।