तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले ६ सय ७४ वटा धारा वितरण गरेको छ।
२०७३ सालमा फारम भरेका मध्यबाट मंगलबार मात्रै खानेपानीले ती धारा वितरणको लागि नाम सार्वजनिक गरेको सचिव मनोज लामिछानेले जानकारी दिए। यसअघि तुलसीपुर उपमहानगरपालिकाले फागुन १५ गतेभित्र धारा खोल्न खानेपानीलाई निर्देशन दिएको थियो।
लामो समयसम्म उपभोक्ताको माग गरेबमोजिम धारा वितरण नगरेको तथा पानीको धारा माग गर्नेहरूको लागि आवेदन समेत खुला नगरेको जनगुनासो बढेको भन्दै कार्यपालिका बैठकले १५ गतेसम्म फारम खोल्न निर्देशन दिएको थियो। त्यही ताकेताको आधारमा तुलसीपुर खानेपानीले त्यो समयावधिभन्दा एक हप्ता अगाडि नै धारा वितरण गरेको जानकारी दिएको छ।
सचिव लामिछानेले दिएको जानकारी अनुसार आगामी महिनादेखि अब घर निर्माण गरेका सबैका लागि धारा वितरण गर्न फारम खुला गर्ने तयारी भएको जानकारी दिए।
‘चैत १ गतेदेखि सबैका लागि धारा माग गर्नेहरूको फारम लिन सुरू गर्ने छौं,’ सचिव लामिछानेले भने।
तुलसीपुर खानेपानीले झन्डै ६ हजार धारा हालसम्म वितरण गरेको छ भने थप सयौं उपभोक्ता धाराको माग गर्दै निवेदन दिइसकेका छन्। नयाँ घर निर्माण गर्ने क्रमले तीव्रता पाएसँगै यसक्षेत्रमा मात्रै हजारौं उपभोक्ता धाराको माग गर्दै फारम दिने तयारीमा छन्। हालसम्म खानेपानीले पानीको नयाँ स्रोत पहिचान गर्न नसकेको भन्दै धारा वितरण गर्न मानेको थिएन।
‘धारा वितरण रोक्नुको मुख्य कारण पानीको स्रोत नहुनु हो,’ एकजना पदाधिकारीले भने ‘ त्यो हाम्रो रहर भन्दा पनि बाध्यता हो। धारा दिने तर पानी नदिने गर्नु पनि राम्रो हैन।’
तर तुलसीपुर उपमहानगरका पदाधिकारीहरूले भने जनताको माग बमोजिम लामो समयदेखि धारा वितरण नगर्नु बदमासी भएको हुँदा धारा खोल्नका लागि समयसीमा तोकेर निर्देशन दिनुपरेको बताउने गरेको छ ।