विद्यार्थी संख्या ५ हजार ६ सय।
कक्षा १० मा ६ वटा सेक्सन।
एसईइ दिने विद्यार्थीको संख्या ४ सय बढी।
कक्षा ९ मा विद्यार्थी संख्या त्यो भन्दा झनै धेरै। मन्टेश्वरीदेखि कक्षा ५ सम्म ७ सय बढी विद्यार्थी।
११ र १२ कक्षामा व्यवस्थापन र शिक्षामा ४/४ वटा सेक्सन र विज्ञानमा ६ वटा सेक्सन। विद्यार्थी संख्या २ हजार ५ सय। जसले विगत ६/७ वर्षदेखि बस सेवा पनि दिँदै आएको छ। हाल उक्त विद्यालयसँग विद्यार्थी बोक्न तीन वटा बस छन्। शिक्षकको संख्या १ सय ५०। अन्य कर्मचारी समेत गरी सबै २०० कर्मचारी कार्यरत।
झ्वाट्ट हेर्दा तपाईंले कुनै निजी स्कुलको कल्पना गर्नुभयो होला तर हामी कुरा गर्दैछौं, दाङ घोराहीस्थित एउटा सरकारी विद्यालय पद्मोदय पब्लिक नमूना उच्च माध्यमिक विद्यालयको।
जो कुनै पनि निजी विद्यालयभन्दा कम छैन। २००४ सालमा स्थापना भएको यो विद्यालयमा निजी स्कुलका विद्यार्थी समेत भर्ना हुन हानथाप गर्छन्। जहाँ दुई प्रकारको शिक्षा छ: प्राविधिक र सामान्य।
विद्यालयका प्रधानाध्यापक कृष्णराज डिसीका अनुसार प्राविधिकतर्फ ३ वर्षे अटोमोबाइल्स, इलेक्ट्रोनिक इञ्जिनियरिङ डिप्लोमा ३ वर्षे, इलेक्ट्रिकल सव ओभयरसियर १८ महिने र जुनियर कम्युटर टेक्निसियन १८ महिने पढाइ हुँदै आएको छ।
त्यस्तै, सिटिइभिटीबाट सम्बन्धन प्राप्त सामाजिक परिचालन १८ महिने कोर्ष, नेपाल सरकारको साविक शिक्षा विभागद्वारा सञ्चालित कोर्ष पनि पढाइ हुँदै आएको छ।
प्रधानाध्यापक डिसीका अनुसार कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ पढाई हुँदै आएको छ।
त्यस्तै सामान्य शिक्षातर्फ मन्टेश्वरीदेखि कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको डिसीले जानकारी दिए।
यो विद्यालयको नतिजा पनि हालसम्म उत्कृष्ट रहँदै आएको छ।
पाँच नम्बर प्रदेश सरकारले हालसालै यो विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा ८० हजार नगद प्रदान गरेको थियो।
प्रधानमन्त्रीले सिटिइभिटीतर्फ देशकै उत्कृष्ट विद्यालयको रूपमा सम्मान गर्दै १ लाख पुरस्कार प्रदान गरे। त्यस्तै साविक शिक्षा विभागबाट यो वर्ष विद्यालयले १० लाख नगद प्राप्त गर्न सफल भयो।
पद्मोदय माविको योभन्दा अगाडिका वर्षहरूमा पनि यस्तै उत्कृष्ट नतिजा दिँदै आएको छ। च्याउ झैं खोलिएका निजी विद्यालयको भड्किलो प्रचारका बाबजुद घोराहीकै रझेना माविले पनि आफूलाई व्यवस्थापकीय दृष्टिकोणले अब्बल सावित गर्दै आएको छ।
यो विद्यालयले पनि साना बालबालिकाको लागि विगत २ वर्षदेखि बस सेवा दिँदै आएको छ।
अर्को बस बुकिङ भइसकेको हुँदा चैत महिनाभित्र आइपुग्ने विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिए। यो विद्यालयमा हाल १ हजार ५ सय ८० जना जति विद्यार्थी अध्ययनरत छन्।
कक्षा १० मा १ सय १० जना विद्यार्थी एसईइको तयारी गरिरहेका छन्। नर्सरी र एलकेजीमा मात्रै २०० विद्यार्थी छन् भने मन्टेश्वरीमा पनि ५० को हाराहारीमा विद्यार्थी छन्। कक्षा ११ र १२ मा ७ सय ५४ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए। यो विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षा चौरस्थित गुरु जजुर नमूना माविमा हाल १ हजार ६ सय २२ विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यका अनुसार यो विद्यालयमा सपांगमात्र हैन अपांगता भएकाहरू पनि अध्ययनरत छन्।
२०११ सालमा स्थापना भएको रक्षाचौर माविमा हाल सबै संकायमा पढाइ हुँदै आएको छ। शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा शिक्षा, मानविकी, व्यवस्थापन,कृषि बाली विज्ञान डिप्लोमा तहको पढाइ हुँदै आएको छ।
यो विद्यालयले नमूना विद्यालयको रूपमा छनोट भएपछि ७२ करोड रकम प्राप्त गर्न सफल भयो। नमूना विद्यालयको लागि विद्यालयले गुरूयोजना तयार गरी विभिन्न भवन निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ।
विद्यालयका लेखापाल ध्रुव न्यौपानेका अनुसार उक्त रकमले प्रशासनिक भवन, लाइब्रेरी, प्रयोगशाला, क्यान्टिन, होस्टेल, गार्ड रूम निर्माण गरिँदैछ।
साथै, ८४ लाख रकममा तुलसीपुर ३ राना गाउँस्थित विद्यालयको जग्गामा अध्ययनसहितको छात्रावास निर्माण गरिँदैछ।
सरकारी भए पनि जिल्लामा अन्य विद्यालयहरूले पनि राम्रो गरिरहेका छन्। तर उनीहरूले विद्यार्थीको लागि हालसम्म बस सेवा सञ्चालनमा ल्याउन भने सकेका छैनन्।
निजी विद्यालयमा मात्रै पढाइ र व्यवस्थापन पक्ष राम्रो हुन्छ भन्ने मान्यता गलत हो भन्ने कुरा यी सरकारी विद्यालयहरूले प्रमाणित गरिदिएका छन्।
पछिल्लो समय सरकारी विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढ्दो छ। त्यसमा पनि बस सेवा समेत सञ्चालन गर्दा थप आकर्षण बढाएको छ।
अब्बल शिक्षक, स्रोत साधन र भौतिक पूर्वाधार पर्याप्त हुँदाहुँदै पनि सामुदायिक विद्यालयहरूमा व्यवस्थापन पक्ष राम्रो नहुनु, नियमकारी निकाय सक्रिय नहुनु, चर्को राजनीति हुनु जस्ता कारणहरूले शाख गिर्दै गर्दा केही विद्यालयले प्रस्तुत गरेको उदारहणले सरकारी विद्यालय पनि कम छैनन् भन्ने छाप छोड्न सफल भएका छन्। जहाँ शिक्षक जिम्मेवार छन्, समुदाय सचेत छ ती विद्यालयहरूको नतिजामा निकै राम्रो रहँदै आएको छ।
प्रभावकारी अनुगमन र समय सापेक्ष रूपमा व्यवहारिक शिक्षा दिन सक्ने हो भने निजी विद्यालयभन्दा सरकारी विद्यालय कुनै पनि कुरामा कमजोर नहुने सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्। तर त्यसका लागि विषयगत दक्ष शिक्षक भने आवश्यक पर्ने उनीहरूको बुझाइ छ।