दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरी गाउँस्थित गौरी तालको बीचमा साढे ५५ लाखको लागतमा शिवको मन्दिर निर्माण गरिएको छ।
नवनिर्मित शिव मन्दिरको सोमबार ५ नं. प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन्।
गौरी ताल जिल्लाको सबभन्दा ठूलो प्राकृतिक ताल हो। जसको कूल क्षेत्रफल ११ विगाहा ९ कठ्ठा बढी रहेको छ। तर हाल पानी भरिएको क्षेत्रफल भने साढे ७ विगाहा मात्रै रहेको ताल संरक्षण समितिका अध्यक्ष दानबहादुर खड्काले जानकारी दिए। केही क्षेत्रफल अतिक्रमणमा परेको हुँदा त्यसको खोजी थालिने उनले बताए।
त्यही तालको बीच भागमा काठमाडौंस्थित रानी पोखरीको झल्को दिने गरी साढे ५५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गरिएको छ। मन्दिरसम्म पुग्न ५३ मिटर लामो पुल निर्माण गरिएको छ। यो मन्दिर निर्माण गर्न सांसद डिल्लीबहादुर चौधरीले साढे ५ लाख दिएका थिए भने बाँकी ५० लाख तालको कोषबाट खर्च गरिएको अध्यक्ष खड्काले बताए।
मन्दिर निर्माण गरेको भए पनि अझै निर्माणको काम बाँकी रहेको खड्काले जानकारी दिए।
युवाहरूले मूर्ति र शिवलिंग स्थापना गरे
गौरी गाउँका युवाले निजी खर्चमा रकम संकलन गरी मन्दिरभित्र शिव मूर्ति र शिवलिंग स्थापना गरेको जानकारी दिएका छन्।
९ जना युवाहरूमध्ये ४ जनाले ११ हजार बढी र बाँकी ५ जनाले ५ हजार १ सय रुपैयाँ संकलन गरी ६४ हजारको शिव मूर्ति र १० हजार ५ सयको शिवलिंग स्थापना गरेको एक युवा घमराज केसीले जानकारी दिए ।
ताल ठेक्कामा दिने कि नदिने भन्ने बहस सुरू
जिल्लाकै सबभन्दा ठूलो प्राकृतिक गौरी ताललाई पछिल्ला केही वर्षयता माछा पाल्नको लागि ठेक्कामा दिने गरिएको छ। यो ताल वार्षिक झण्डै १० लाखसम्म ठेक्कामा जाने गरेको छ।
अहिले पनि ताल तीन वर्षको लागि ठेक्कामा गएको छ। तर सोमबार मन्दिर निर्माण गरी शिव मूर्तिको प्राण प्रतिष्ठासमेत गरिएको हुँदा अब स्थानीयका बीचमा ताल माछा पाल्नका लागि ठेक्कामा लगाउने कि नलागउने भन्ने बहस सुरू भएको छ।
स्थानीय एक युवा दोर्ण खड्काले शिव मूर्ति स्थापनापछि अबदेखि तालमा माछा पाल्नका लागि भाडामा लगाउन नहुने तथा त्यहाँका माछा मार्न पनि दिन नहुने धारणा राखे।
विकासका लागि एकता आवश्यक : सांसद चौधरी
५ नं. प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले विकासका लागि एकता आवश्यक रहेको बताएका छन् ।
‘विकासका लागि एकता आवश्यक छ,’चौधरीले भने ‘निर्वाचनका क्रममा राजनीतिका कुरा भए पनि विकासको सवालमा कसैले राजनीति गर्नु हुँदैन।’
धर्मलाई विकाससँग जोड्न सके धेरै सकारात्मक परिनाणहरू निस्कने चौधरीको तर्क छ। उनले धर्म राजनीति र कानुन भन्दा पनि धेरैमाथि रहेको चर्चा गरेका थिए ।