वीरगञ्जमा आइतबारदेखि सुरू अश्वमेध गायत्री महायज्ञले मधेसी–पहाडी, दलित–गैरदलीत र महिला पुरूष बिचको विभेद हटाएको छ।
कुनै बेला मधेसी समुदायको राजनीति आवाजलाई उठाउँदै ६ महिनासम्म लगातार बन्द हड्ताल गरेको वीरगन्जमा यतिखेर चलिरहेको महायज्ञमा पहाडी जिल्लाबाट आएका गैरमधेसी हर्ताकर्ता छन्।
महिलालाई पछाडि पारिएको भनिँदै आएकामा महायज्ञमा पुरूषको तुलनामा विशेष रूपमा महिला सहभागिता छ। सहभागी दलितले आफूहरूलाई अनौठो अनुभूति भइरहेको प्रतिक्रिया दिएका छन्।
‘एकदमै राम्रो अनुभूति हुँदैछ, दलितलाई महायज्ञमा सहज पहुँच छ, पूजा र हवन सबैमा,’ वीरगन्ज १५ भिश्वा घर भएका निरजकुमार पासवान श्रीमती र बच्चासँग महायज्ञमा भाग लिएर निस्किएपछि सेतोपाटीसँग भने, ‘अरू जातिका मानिसहरूसँग महायज्ञमा बसेर पहिलो चोटी सामुहिक पूजाआजा गर्दा पाइएको खुसी बर्णन गर्न सक्दिनँ। यो मेरो लागि धेरै अर्थ राख्छ, मन्दिर र यज्ञमा मेरा समुदायका मानिसहरूको सहभागिता गराइँदैन, यत्रो ठूलो महायज्ञमा हामीले ससम्मान सहभागिता पायौं।’
त्यसै गरी अश्वमेध गायत्री महायज्ञमा सहभागि भएर निस्किएकी दलित समुदायकी निला रामले दलित समुदायका महिलाले कलशयात्रादेखि नै महायज्ञमा भाग लिन पाएकोमा खुसी जनाइन्।
काठमाडौं चावहिलबाट आएकी मन्जु कुँवरले आफूहरूले यहाँ कुनै प्रकारको फरकपना नपाएको बताइन्। भारत र अरु देशबाट आएका आगन्तुक स्वयमसेवकसँग मिलेर आफूहरूले यहाँ मधेसी पहाडी सबैले समान रुपमा तयारी र ब्यवस्थापनमा काम गरिरहेको बताइन्।
त्यस्तै गुल्मीबाट आएका सिताराम पौडेलले वीरगन्जमा आउँदा एक खाले बुझाई रहेको भए पनि अब फर्किँदा नौला अनुभूति लिएर फर्किने बताए।
यज्ञमा सहभागी शिक्षिका संगीता पाण्डेयले पुरूषप्रधान भनिएको समाजमा भएको यो महायज्ञहरुहरुले नारि प्रधान पाएको बताइन्।
नारीहरुको भूमिका, स्थान र सम्मान यस महायज्ञले उच्च राखेको उनका भनाई छ ।
गत आइतबारदेखि वीरगन्जमा जारी अश्वमेध गायत्री महायज्ञको उद्घाटन अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले गरेका थिए।
कार्यक्रमलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएको छ ।
महायज्ञ आयोजन मुल समितिले सबै जाति र धर्मका मानिसहरुको महायज्ञमा सहभागिताको लागि अह्वान गर्दै प्रचार प्रसार गरेको थियो।
वीरगन्जका नगरप्रमुख समेत रहेका महायज्ञ मुल आयोजक समितिका संयोजक विजय सरावगीले समावेसी सहभागितामा जोड दिएको बताए।
महायज्ञमा २ सय ५१ हवन कुण्ड बनाइएको छ । जसमा हवन बिधिपूर्वक हवन गरी महायज्ञ गरिदैछ। प्रवचन, प्रदर्शनी, वैदिक मन्त्रको साथमा ४ दिवसीय यज्ञ गरिदैछ।