केही साता अगाडि धनुषाको मिथिला नगरपालिकामा भएको रेश्मा रसायली बलात्कारपछि हत्याकाण्डमा सामूहिक बलात्कार भएको पीडित पक्षले दाबी गरेको छ।
प्रहरीले बलात्कार घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरे पनि पीडित पक्षले जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन गर्दै रेश्माको सामूहिक बलात्कार पछि हत्या भएको दाबी गरेका हुन् ।
रेश्माका काका देवराज रसायलीले सामूहिक बलात्कार भए पनि प्रहरीले एक जना दोषीलाई पक्राउ गरी चुप लागेर बसेको आरोप लगाए।
जिल्ला प्रहरी कार्यालय धनुषाले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै घटनाका मुख्य आरोपी पक्राउ परिसकेको र घटनाको अनुसन्धान लगभग अन्तिम चरणमा रहेको जानकारी गराएको थियो।
- धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले युवतीमाथि सामूहिक बलात्कारको नभएको दाबी गरेको छ।
गत फागुन एक गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी ११ वर्षिया बालिका रेश्माको बलात्कार भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बटेश्वर ४ बैगाली टोलका २२ वर्षिय निरज जर्घामगरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
प्रहरीले घटना भएको ५ दिन पछि मगरलाई पक्राउ गरेको थियो।
चुनावको बेलामा नमस्कार गर्ने नेताहरू सोधखोज गर्न समेत आएनन्
रेश्मा रसायलीको घर जलेको एक महिना नबित्दै बलात्कार भएको थियो। घरबार नै जलेर नष्ट भएपछि उनको परिवारलाई गुजारा चलाउन एकदमै कठिन भएको थियो। त्यसको केही दिन नबित्दै भतिजी रेश्माको बलात्कार पछि हत्या भयो। त्यसपछि परिवारमा बज्रपात भएको उनका काका देवराजले गहभरी आँशु पोख्दै सेतोपाटीसँग गुनासो पोखे। ‘अहिले परिवार चलाउनै गाह्रो भएको छ, जसोतसो स्थानीय छिमेकीको सहयोगले दुई छाक खाना जुटाउँदै आईरहेको छु,’ उनले भने।
रेशमाको घरमा एक जना बुवा र हजुरआमा छन्। त्यसमाथि बुवा सुस्त मनस्थितिको र हजुरआमा आँखा देख्न नसक्ने छिन्। परिवार काका देवराजकै भरमा चलिरहेको छ।
घटना भएको १९ दिन बितिसक्दा पनि न स्थानीय सरकार, न प्रदेश सरकार न त संघीय सरकारबाटै कोही पनि सोधखोज गर्न नआएको काका देवराजले गुनासो गरे।
‘मत लिने बेलामा नमस्कार गर्ने नेताहरु आजकल नमस्कार सम्मको जवाब फर्काउन छोडेका छन्,’ उनले भने।
देवराजका अनुसार रेश्माको क्रियाकर्मका लागि ऋण खोजेर ३५ हजार जुटाएको बताए।
यता दलित अधिकारकर्मी मिनराम पालले प्रहरीको अनुसन्धान नै शंकाको घेरामा रहेको आरोप लगाएका छन्।
प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ को ठूलठूला नारा लगाए पनि यहाँ छोरीहरू नै असुरक्षित रहेको उनले बताए। उनले भने, ‘प्रदेश सरकारको यो नारामा मात्रै सीमित छ, छोरीहरू सुरक्षित नभएसम्म प्रदेश सरकारको ठूलठूला भाषणको कुनै अर्थ हुँदैन।’
यसैबीच रेश्मालाई न्याय दिलाउन संघर्ष समिति नै गठन गरिएको छ। रेश्मा रसायली संघर्ष समितिका संयोजक उमेश जंग गजमेरले रेशमाले न्याय नपाए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।
उनले रेश्माको न्यायका लागि बिहिबार शान्तिपूर्ण र्याली जनकपुरधाममा प्रदर्शन गर्ने जानकारी दिएका छन्। उनले बिहिबार एक बजेदेखि पिडारी चोकबाट शुरु हुने र्याली जनक चोकमा पुगी कोणसभामा परिणत हुनेछ।