२५ जना कैदीबन्दीको क्षमता रहेको ङ श्रेणीको पाँचथर कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी छन्।
क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दीहरू रहेपछि स्वभावैले त्यहाँ धैरै खालका समस्याहरु हुने बताइएको छ।
५ जना महिलासहित २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १ सय ५३ जना कैदीबन्दी छन्। जसमध्ये एक सय ३६ पुरूष, १५ महिलासहित महिलासँग आश्रीत २ जना नाबालक रहेको जिल्ला कारागार पाँचथरका जेलर सुरेन्द्रवहादुर मुखियाले जानकारी दिए।
क्षमता भन्दा बढी कैदी बन्दी भएपछि स्वभावैले केही न केही समस्या हुने जेलर मुखियाले बताए।
जिर्ण भवनमा रहेको कारागारमा कैदीबन्दीको चापसँगै खाट मुनिसमेत ओच्छ्यान लगाएर सुत्न वाध्य हुनुपरेको कारागारका नाइके टेकनाथ रिजालले बताए।
उनका अनुसार यस भन्दा ३ वर्ष अघिसम्म पालो गरेर सुत्नुपर्ने वाध्यता यतिखेर नभएको बताउँछन्। खाटलाई ४० इञ्चको उचाइ बनाएर त्यसभन्दा मुनिपट्टीसमेत सुत्ने व्यवस्था भएको उनको भनाइ छ।
यहाँको अवस्था अनुसार कैदीवन्दीहरुले आफ्नै ढंगबाट भित्रको आवास व्यवस्थापन गरेको उनको तर्क छ।
क्षमताभन्दा वढी रहनुपर्ने बाध्यताले हिउँदमा भन्दा बर्खाको समयमा अझ बढी समस्या हुने गरेको कैदीबन्दीको भनाइ छ।
मौसमी प्रकोपले वर्षमा एक दुई पटक केही समस्या हुने गरेको जिल्ला कारागारका हेल्थ असिस्टेन अनुप सेढाइले बताए।
पछिल्लो समय अदालतबाट दोषी ठहरीएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसँगै पाँचथर कारागार कैदीबन्दीले खचाखच हुने पुगेको हो।
फरार अभियुक्तहरु पक्राउ हुन थालेपछि कारागारमा दिर्घरोगी र औषधि सेवन गर्नेसमेत बढेको बताइएको छ।
कारागारमा औषधिको विनियोजित पैसा अपुग हुने गरेको छ। जिल्ला कारागार पाँचथरलाई कारागार व्यवस्था विभाग काठमाडौंले औषधि उपचारको लागि वार्षिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म उपलव्ध गराए पनि त्यो रकम अपुग हुने गरेको बताइएको छ।
भवन जिर्ण भएसँगै कैदीबन्दीलाई खान, बस्न, सुत्न, सरसफाई र खेल तथा मनोरञ्जनमा सहभागी गराउन भने जस्तो नसकिएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनले कारागारको अवस्था सुधारको लागि कारागार सुधार योजना समेत निर्माण गरी विभागमा पठाइसकेको छ। तर, पनि स्तरोन्नतिको काम क्रमागत ढंगबाट हुने बताइएको छ। जसमा प्रहरी पोष्ट मर्मत, छाना छाईनेलगायत कम्पाउण्ड वालको काम भइसकेको बताइएको छ।