अरनिको राजमार्ग अन्तर्गत पर्ने बन्देउ कुन जिल्लामा पर्छ भन्नेमा अन्यौलता रहेको छ। काभ्रेपलाञ्चोकहुँदै आउने अरनिको राजमार्गको बन्देउबाट राजमार्ग तातोपानीतर्फ लाग्छ भने त्यहीबाट चौताराको लागि अर्को बाटो छुट्छ। त्यहीँबाट प्रस्तावित मध्यपहाडी लोकमार्ग पनि जान्छ।
बन्देउको सार्वजनिक जग्गामा धेरै स्थानीयले अस्थायी टहरो बनाएर व्यापार समेत गर्दै आएका छन्। तर, अझैसम्म पनि सो जग्गा कुन जिल्लाको हो भन्नेमा टुङ्गो लागिसकेको छैन।
लामो समयदेखि काभ्रेपलाञ्चोकले दाबी गर्दै आएको दोलालघाटदेखि बन्देउसम्मको भूभाग सिन्धुपाल्चोककै भएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंह तामाङले दाबी गरेका छन्।
नेपालको नक्सादेखि सिन्धुपाल्चोकको नक्सामा समेत दोलालघाट पुलसम्मको भुभाग सिन्धुपाल्चोककै रहेकोले आफ्नो कार्यकाल अवधिमै सो भुभाग ल्याउन आफूले छलफल शुरु गरेको तामाङले बताए।
दोलालघाटपुलदेखि बन्देउसम्मको भूभाग दुवैतिरकाले दाबी गरिरहेका छन्। नापीको समयमा काभ्रेका तत्कालीन सांसद गोविन्द उप्रेतिले आफ्नो भोट बढाउन सो भूभाग कब्जा गरेको भए पनि सो भुभाग सिन्धुपाल्चोकै भएको तामाङले दाबी गरेका हुन्।
सो भुभाग फिर्ता गर्ने सम्बन्धमा जिल्लाका विभिन्न तहका व्यक्तिहरुसँग आफूले अन्तक्रिया गरिहेको तामाङले बताए। ‘दोलालघाटदेखि बन्देउसम्मको भूभाग हाम्रो सम्पत्ति हो,’ तामाङले भने, ‘हाम्रो सम्पत्ति भएकोले त्यसको उपभोग गर्न पनि हामीले नै पाउनुपर्छ।’
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले भने नापी हुँदाको बखतमा सो ठाँउ काभ्रेकै देखिएकोले आफूहरूले भोगचलन गरिहेको बताएका छन्। बन्देउ क्षेत्र काभ्रेकै पर्ने देखिएकोले आफूहरूले दोलालघाटको प्रहरी चौकी नै त्यहीँ सार्ने तयारी गरिरहेको कुवँरले बताए। ‘त्यो क्षेत्र हाम्रै देखिएकोले हामीले उपभोग गरिरहेका हौं,’ कुवँरले भने, ‘दुबै पक्ष बसेर छलफल गर्दा जुन पक्षको देखिन्छ उसैले भोग गर्न हामी तयार छौं।’
कुवँरले अरनिको राजमार्ग विस्तार गर्नको लागि बन्देउमा रहेका अस्थायी टहरा हटाउन आफूहरूले सूचना जारी गर्ने तयारी गरिरहेको पनि बताए। सो भुभाग अहिले भुम्लु गाँउपालिकाको वडा नं. ८ को भुभाग भएको कुँवरले जानकारी दिए।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको उपसभापति बालकुमारी सापकोटाले भोगचलनको हिसाबले सो भूभाग काभ्रेको जस्तो देखिए पनि नक्सा र कागजातको आधारमा भने सिन्धुपाल्चोककै हुन सक्ने बताइन्। ‘नक्सामा दोलालघाटको आधा पुलसम्म सिन्धुपाल्चोककै भएको सूचना पाएका छौं,’ सापकोटाले भनिन्, ‘यस विषयमा जिल्लाको आन्तरिक तयारी गरेर कताको हो निश्चित भएपछि काभ्रेसँग पनि बसेर टुङ्ग्याउनेछौं।’
चौतारा साँगाचोकगढि नगरपालिका –११ का वडासदस्य दधिराम पराजुलीले दुई पटकको नापीको कारण सो भूभाग विवादमा परेको बताउँछन्। ‘२०३३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको नापी गर्दा सो भूभागलाई सिन्धुपाल्चोक भनेर नापी गरियो,’ पराजुलीले भने, ‘त्यसपछि २०४५ सालमा भएको सिन्धुपाल्चोक जिल्लाको नापीमा काभ्रेपलाञ्चोक जिल्ला भनेर फेरि त्यो ठाँउ छुटेको छ।’
नापीको समयमा काभ्रेको महादेबटार खोलासम्म मात्रै काभ्रे तर्फबाट नापी भएको उनले बताए। नापी नभए पनि काभ्रेका तत्कालीन सांसद उप्रेतीले त्यस भेगमा पर्ने बुढाथोकीटारका जनताको नागरिकता काभ्रे जिल्लाबाटै बनाउन लगाई आफ्नो भोट बैंक सुरक्षीत गरेको पराजुली बताउँछन्।
त्यसपछि नागरिकतामा ठेगाना काभ्रे भएकै कारण काभ्रेले सो ठाँउ आफ्नो दाबी गर्दै आएको हो। महादेवटार खोला नै काभ्रे र सिन्धुपाल्चोकको वास्तविक सीमाना रहेको नक्साहरुले प्रष्ट पार्ने पराजुलीले बताए।
अहिले दहत्तर बहत्तरको रकम स्थानीय निकायले पाउने भएपछि त्यसकै लोभमा काभ्रेको भुम्लु गाँउपालिकाले सिन्धुपाल्चोकको भूभागमा पिल्लर गाड्न लागेको पराजुलीले बताए।
२०३३ सालमा भएको नापीमा सो बुढाथोकीटार सिन्धुपाल्चोकको साँगाचोक गाविसको वडा नं. ५ मा पर्थ्यो। त्यसै समयमा गाविसको स्थानीय निर्वाचनमा बुढाथोकीटार कै श्रेष्ठ थरका एक जना सदस्यसमेत निर्वाचित भएको पराजुलीले बताए।
त्यसपछि भने त्यो स्थान काभ्रेको भएकोमा पराजुली अचम्मित भएका छन्। काभ्रेले सो ठाँउ आफ्नो भनि सीमा स्तम्भ राख्न लागिसक्दासमेत सिन्धुपाल्चोकका नगरपालिका, जिल्ला समन्वय समितिले भने चासो नदेखाएकोमा पराजुलीले दुःख व्यक्त गरे।
काभ्रेको भुम्लु गाँउपालिका–८ का वडा अध्यक्ष मोतिलाल तामाङले भने त्यस क्षेत्रका कसैसँग पनि लालपूर्जा नभएकोले यसै भन्न नसक्ने अवस्था नभएको बताए।
सो भूभागका बन्देउ, बुढाथोकीटार, बेलडाँडा, डुम्रीघाट लगाएतका बस्तीहरुमा कसैको पनि लालपूर्जा नभएकोले उनीहरूले वडा कार्यालयमा तिरेको मालपोतमै आधारमा मात्रै किनबेच भैरहेको बताए। ‘बन्देउ वरीपरिका वनक्षेत्र सामुदायिक वनको रूपमा काभ्रेमा दर्ता भएको छ,’ तामाङले भने, ‘त्यसैकारण पनि सो क्षेत्र काभ्रेकै हो, नक्सा पनि काभ्रेकै छ।’
लालपूर्जा नभएका कारण सो क्षेत्रको बारी मानो, पाथी, मुठी र विजनको आधारमा र खेल मुरी र माटोको आधारमा कारोबार भैरहेको तामाङले बताए। दुई पटक नापी नक्सा हुँदा सो स्थान पहिलो पटक सिन्धुपाल्चोक र दोस्रो पटक सीमा हेरफेर भई काभ्रेको भूभागको रूपमा कायम भएको तामाङको कथन छ।