यस वर्षको शैक्षिक सत्रको अन्त्यतिर आइपुग्दा पनि धनुषामा दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरू हुन सकेको छैन। शैक्षिक सत्रको डेढ महिनाभन्दा कम समयमात्रै बाँकी रहेको समयमा समेत विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरू हुन नसक्दा बजेट नै फ्रिज हुने सम्भावना रहेको छ।
सरकारी नीति अनुसार इसिडीदेखि कक्षा ५ सम्मका बालबालिकाले दैनिक १५ रुपैयाँको दरले १८० दिनको खाजा पाउँछन्।
दिवा खाजा कार्यक्रमका लागि धनुषामा २७ करोड रुपैयाँ पठाइएको छ।
नगराइन नगरपालिका हाँसपट्टिस्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक अशोक साहका अनुसार अहिलेसम्म पैसा नै आएको छैन।
कार्यक्रम सुरू भएको लगभग ६ महिनाभन्दा बढी भइसके पनि धनुषाका कतिपय स्थानीय तहका प्रमुख कार्यक्रमका लागि छुट्टाइएको बजेट सम्बन्धमा अझै अनभिज्ञ छन्।
बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत आफ्नो गाउँपालिकामा दिवा खाजा कार्यक्रमका लागि बजेट आएको छ वा छैन् भन्नेबारे आफूलाई केही जानकारी नरहेको स्वीकारे।
‘मलाई यसबारे केही थाहा नै छैन। यसका लागि बजेट पनि आउँछ भन्ने कुरा आजै पत्तो भयो,’ उनले भने, ‘सरकारबाट न त परिपत्र आएको छ न त केही अनि कसरी थाहा हुनु ?’
सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको र कार्यक्रम सञ्चालनका लागि आफूले आरपीलाई निर्देश समेत गरिसकेको सबैला नगरपालिका प्रमुख विजय शंकर साह बताउँछन्।
उनी भन्छन्, ‘ बजेट आएको महिनौ बितिसक्दा पनि ठोस नीति नियम नभएका कारण शैक्षिक सत्रको अन्त्यतिर समेत कार्यक्रम लागू हुन सकेको छैन।’
त्यसमा पनि आफूहरूले पटकपटक विद्यालयसँग विवरण मागे पनि समयमा उपलब्ध नगराएकोले उक्त कार्यक्रम समयमै सुरू हुन नसकेन प्रमुख साहले बताए।
धनुषामा कर्मचारीको अभाव र बजेट व्यवस्थासम्बन्धी सहजीकरण हुन नसक्दा समयमै कार्यक्रम लागू गराउन नसकिएको धनुषा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बरखुप्रसाद रजक बताउँछन्।
उनी भन्छन्, ‘ अबेर हुनुको कारण स्थानीय तहहरूमा शिक्षा हेर्ने कर्मचारी हुनुभएन कुनै कुनै स्थानीय तहमा लेखा अधिकृतहरूमा समयको ख्याल भएन उहाँहरू समयमा कार्यालयमा उपस्थित भइदिनुभएन यस्ता खालका बाधा अवरोधले गर्दा कार्यक्रम प्रभावित भयो भन्दा गलत हुँदैन।’
यता दिवा खाजा कार्यक्रमका लागि छुट्टयाइएको बजेटबारे स्पष्ट जानकारी नगराइएको क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पंजियार दाबी गर्छन् ।
उनी भन्छन्, ‘तर पनि हामीहरूले उक्त कार्यक्रमका लागि बजेट भने छुट्टयाएका छौं ।’
सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि धनुषामा कुल २७ करोड बजेट निकासा गरिएको छ। तर उचित समयमा बजेट निकासा हुन नसक्दा फ्रिज हुने सम्भावना समेत देखिएको छ।
सरकारले लगभग १ महिना पहिलेमात्रै परिपत्र गरेकाले कार्यक्रम सुरूआत गर्न समेत ढिलो भएको प्रमुख पंजियारले दाबी गरे।
दिवा खाजा कार्यक्रम शैक्षिक सत्रको अन्त्यतिर आइपुग्दा जनकपुरधाम उपमहानगरपालिकाले केही दिन पहिलामात्रै आफूहरूसँग विद्यालयको विवरण माग गरेको संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम साहले बताए ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई विद्यालयमा टिकाइ राख्नका लागि नेपाल सरकारले दिवा खाजा कार्यक्रम सुरू गरे पनि यसको कार्यान्वयन पक्ष भने एकदमै फितलो देखिएकाले धनुषामा बजेट फ्रिज हुने सम्भावना देखिएको शिक्षाविद्हरू बताउँछन्।
यसका लागि संघदेखि स्थानीय तहसम्म समन्वय हुनु आवश्यक रहेको उनीहरूको ठम्याइ छ।