मिथिलाञ्चलमा लोप हुँदै गइरहेको जोगिरा गीत (फागु गीत ), होलीको पौराणिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले दुई दिवसीय होली महोत्सवको आयोजना गर्न लागेको छ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको यस प्रकारको आयोजन गर्ने गरिएको मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए।
मिथिलाञ्चलमा जोगिरा..(फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होली महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्दै आएको हो।
मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन यस वर्ष चैत ५ र ६ गते गरिने भएको छ।
दुई दिवसीय होली महोत्सवको पहिलो दिन जोगिरा गायन प्रतियोगिता गरिने छ।
जोगिरा गायनका विभिन्न गाउँका १० वटा टिमलाई शामिल गर्ने तयारी भइरहेको मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकले जानकारी दिएका छन्। जसमा मिनापको टिमले समेत सहभागिता जनाउने छ।
जोगिरा गायन प्रतियोगितामा पहिलो हुने टोली टोलीलाई ६ भरिको चाँदीको शिल्ड, दोस्रो हुने टोलीलाई ४ भरिको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ३ भरिको चाँदीको शिल्ड प्रदान गरिने मल्लिकले बताए।
महामूर्खको उपाधिका लागि मुख्यमन्त्री राउतको नाम अग्रपंक्तिमा
जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षणमध्ये महामूर्ख सम्मेलन एक हो।
फागु पर्वको प्रमुख आकर्षणमध्येका महामूर्ख सम्मेलनका लागि जनकपुरधाममा महामूर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ। मिनापले महामुर्खका लागि आधा दर्जनभन्दा बढी व्यक्तिको पहिलो सूची तयार पारी सकेको छ। त्यो सूचीमध्ये कुनै एक जनालाई यो महत्वपूर्ण उपाधि प्रदान गरिने जानकारी मिनापका अध्यक्ष परमेश झाले दिएका छन्।
स्रोतका अनुसार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता मिश्रमध्ये कुनै एक जनालाई महामूर्खको उपाधि दिने तयारी भइरहेको छ।
जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ। २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर विसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापड़ि भ्रमर, २०६९मा नेपाली कांग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता विजय कुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा श्मसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियाँलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो।
गत वर्ष महामूर्खको उपाधि राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो।
महामूर्ख सम्मेलनको इतिहास
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा यसले निकै उचाई पाएको छ। तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो।
पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए। महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ।