चौतारा साँगाचोकगढी नगरपालिका– १३, कोटडाँडाका लालबहादुर मिजार चौतारा अस्पतालमा बसेको २० दिन भयो।
खुट्टामा अल्सर, पेटमा पानी जमेको र दमको रोगले ग्रसित अवस्थामा अस्पताल आइपुगेका मिजार बेवारिसे अवस्थामा अस्पतालमा बसिरहँदा व्यवस्थापनको लागि अस्पताललाई समस्या भएको छ।
लालबहादुरको परिवारमा आफ्नै भन्ने भाइ र बुहारी मात्रै छन्। विवाह समेत नगरेका उनको एक माना मकैको बीउ लाग्ने बारीबाहेक सम्पत्तिको नाममा अरु केही छैन। उनका अनुसार खुट्टा पहिलेदेखि नै अलिअलि सुन्निरहेको थियो। एक रात नुन चर्को भएको तरकारी खाएपछि त्यो रात निकै सकस भयो। रातभर खुट्टा दुखेर र पोलेर उनी निदाउनै सकेनन्। बिहान हुँदा उनको दाहिने गोडाको गोलीगाँठा नजिकै मासु फुटेर घाउ नै भइसकेको थियो। चौतारा अस्पतालका डाक्टर पोमावती थापाका अनुसार त्यो भनेको खुट्टामा हुने विशेष प्रकारको अल्सर हो।
खुट्टामा घाउ भएपछि उनी उपचारको लागि काठमाडौं गए। एक्लै काठमाडौं गएका उनी पाँच दिनसम्म वीर अस्पतालमा घाउको ड्रेसिङ गराए । घाउ झन् जटिल बन्दै गएपछि अस्पतालले ‘आफन्त लिएर आउन’ भने। आफन्त कोही नभएको कारण अस्पतालले उपचारमा चासो नदिएपछि र भएको सबै पैसा सकिएपछि उनी घाउको पीडा कोसेली बोकेर आफ्नै घर कोटडाँडा फर्किए।
आफ्नो परिवारलाई त के खुवाँउ भन्ने चिन्तामा रहेका लाल बहादुरका भाइ चन्द्रेलाई दाजुको स्याहार गर्नुपर्ने चिन्ता पनि थपियो।
भाडामा लिएको मिनिटिलरले ज्यालामा अरुको खेतबारी जोतेर गुजारा गरिरहेका चन्द्रेले दाजुको उपचारको लागि खर्च बटुल्न सकेनन्। दाजुलाई यतिकै घरमा राखिराख्नु भन्दा बरु अस्पताल पुर्याइदिन पाए केही राम्रो हुन्थ्यो कि भन्ने अपेक्षा गर्दै चन्द्रेले दाजुलाई चौतारा अस्पतालमा ल्याएर छाडिदिए। दाजुलाई अस्पतालमा छाडेर गएपछि चन्द्रे पाँच दिनसम्म अस्पताल आएनन्। त्यसपछि लालबहादुर अस्पतालको रेकर्डमा बेवारिसे बिरामीको सूचीमा दर्ता भए।
चौतारा अस्पतालको प्रमुख डाक्टर पोमावती थापाका अनुसार अस्पताल आँउदा लालबहादुरको अवस्था एकदमै गम्भीर थियो । पेटमा पानी जमेर उनको पेट एकदमै ठूलो थियो । दमले च्यापेर उनी बोल्न सक्ने अवस्थामा पनि थिएनन्। खुट्टाको अल्सरले गर्दा उनी हिँडडुल गर्न अरुको साहारा चाहिने अवस्थामा थिए। त्यसपछि डा. थापाले उनको उपचारको लागि चौतारा साँगाचोकगढी नगरपालिकालाई अनुरोध गरिन्।
उनको अनुरोध स्वीकार्दै नगरपालिकाका प्रमुख अमानसिंह तामाङले दस हजार रुपैयाँसम्मको बिल बनाएर ल्याए सो भुक्तानी गरिदिने बाचा गरे। तर हालसम्म सो भन्दा बढी रकम खर्च भैसकेको अस्पतालले जनाएको छ।
लालबहादुर अस्पताल बसिरहँदा अस्पताल प्रशासनलाई समस्या भइरहेको छ। लालबहादुरको मानसिक अवस्था पनि सामान्य छैन। उनी कहिले आफू सुतेकै ओछ्यानमा पिसाब गर्छन् भने कहिले होहल्ला गरेर वरिपरिका अन्य बिरामीलाई सुत्न दिँदैनन्।
भाइ चार/पाँच दिनमा भेट्न आउँछन्। तर दयनिय आर्थिक अवस्थाबाट गुज्रिरहेका उनले दाजुको उपचारको सवालमा कुनै जवाफ नदिन फर्किन्छन्।
अस्पतालले लालबहादुरको उपचारको लागि आफूसँग उपलब्ध सबै सेवा प्रदान गरेको छ। अहिले उनको अवस्थामा पहिलेको भन्दा सुधार भएको छ। दम स्थिर अवस्थामा छ भने पेटको पानी निकालिएको छ। खुट्टामा रहेको घाउ पनि सामान्य अवस्थामा छ। तर यो उनको लागि पर्याप्त उपचार भने होइन।
डा. थापाका अनुसार अब यही अवस्थामा जतिसक्दो चाँडो उनको खुट्टाको शल्यक्रिया गर्नुपर्छ। चिकित्साको भाषमा स्किन ग्राफ्ट (छाला प्रत्यारोपण) गर्नुपर्छ। अर्थात् उनको तिघ्राको छाला काटेर खुट्टाको घाउमा टाँस्नुपर्छ। त्यो शल्यक्रिया पनि उनको अहिलेको घाउमा थप संक्रमण नहुँदै। त्यसैले उनको छिटो भन्दा छिटो शल्यक्रिया गरेमा मात्रै त्यो सफल हुन्छ।
त्यस्तो शल्यक्रिया भने चौतारामा सफल छैन। त्यसको लागि उनलाई काठमाडौं लानुपर्ने हुन्छ।
काठमाडौं जानका लागि आर्थिक रूपमा न सबल छन् उनी न नै उनलाई अस्पतालमा कुर्ने मान्छे छन्।
उनी घरका माहिला छोरा हुन्। उनको दाइको मृत्यु भइसकेको छ। उनका साहिँला भाइ ससुराली काभ्रेको ज्याम्दीमा नै बस्छन्। कान्छा भाइ दिनभरिको मेहेनतले आफ्नै श्रीमती र दुई छोराछोरी पाल्नै समस्या छ। दाजुको कुरुवा बस्न उनी काठमाडौं गए भने उनको परिवारको हातमुख जोडिँदैन।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तामाङले उनको उपचारको लागि आफूले कुनै पुनर्स्थापना केन्द्र भेटेमा त्यहाँ पठाउन सिफारिस गर्ने बताउँछन्। तर जति नै प्रयास गरे पनि प्रमुख तामाङसँग कुनै पुनर्स्थापना केन्द्र सम्पर्कमा आएका छैनन्। लालबहादुरको उपचार तत्कालै नभएमा क्यान्सर भएर खुट्टा नै काटेर फाल्नुपर्ने अवस्था आउनसक्ने डा. थापाले बताए।