जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ। लाखौं परिक्रमा यात्रीहरूको सहभागितामा मिथिलाको १५ दिवसीय धार्मिक यात्रा अन्तगृह परिक्रमासँगै विधिवत रूपमा सम्पन्न भएको हो।
१४ दिनको धार्मिक यात्रा पूरा गरी अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अर्थात् अन्तगृह परिक्रमा गर्दै सबभन्दा लामो धार्मिक यात्रा यस वर्ष सम्पन्न भएको हो।
मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भए।
धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरू भएको मिथिला मध्यमा परिक्रमा विभिन्न मन्दिरका डोलासँग बिहीबार नै जनकपुरधाम आइपुगेको थियो।
फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको संख्यामा सर्वसाधारणले जनकपुरधामको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन्।
१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरू पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुरधाम फर्केपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरू अन्तरगृहमा सहभागी हुने गर्दछन्।
अन्तरगृह परिक्रमा गर्यो भने १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने आस्थाका साथ सहभागी श्रद्धालुहरू यात्रा सकेर जानकी मन्दिर, राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ।
अन्तगृह परिक्रमामा साधु सन्तहरू समेत सहभागी हुने भएकोले जनकपुरधाम नगर क्षेत्रमा माछा मासु विक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्छ। सोही कारण जनकपुरधाममा अन्तरगृह परिक्रमा भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने परम्परा रहेको छ।
मधेशका केही जिल्लाहरूमा आजै होली पर्व मनाइए पनि जनकपुरधाम तथा त्यस वरिपरिको क्षेत्रमा भोलिमात्रै होली पर्व मनाइने छ।