शुक्रवार दिउँसो साढे १२ बजेतिर गढवा गाउँपालिकाको कार्यालय पुग्दा उपाध्यक्ष शान्ति चौधरी कार्यालयमै थिइन् । जनताको काममा तल्लिन ।
एक बज्न ५-७ मिनेट समय बाँकी रहँदा उनी बा २ झ १२८६ नम्वरको सरकारी गाडि चढिन् । उपाध्यक्ष सावर सो गाडी झन्डै १ किलोमिटर पश्चिममा अवस्थित नमुना उच्च माध्यामिक विद्यालय गढवाको गेट भित्र प्रवेश गर्यो ।
त्यहाँ पुग्न उनलाई करिब ४-५ मिनेट जति लाग्यो । त्यसपछि उपाध्यक्ष चौधरी हतार-हतार परिक्षा हल भित्र प्रवेश गरिन् । छोरा नाती-नतिना समान विद्यार्थीसंगै बसेर उत्तर पुस्तिकामा आफ्नो नाम र रोल नम्वर लेख्न थालिन् ।
चौधरी गाउँपालिकाकी उपाध्यक्ष मात्र होइनन्, कक्षा ८ को एकजना परिक्षार्थीसमेत हुन् । शुक्रवार उनको अँग्रेजी विषयका परिक्षा थियो।
उपाध्यक्ष चौधरीले आज भन्दा झन्डै ३६ बर्ष अगाडि कक्षा ५ मा पढ्दा पढ्दै बीचमै पढाई छोडेकी थिइन ।
‘त्यतिबेला मैले आफैले आमालाई सघाउन पढाइ छोडेकी थिए,’ उनले भनिन् ।
४८ वर्षिया चौधरी स्थानीय निर्वाचनमा झन्डै तीन हजार भन्दा बढी मत ल्याएर पूर्व नेकपा एमालेवाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
उनी दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीको सबैभन्दा जेठी दिदी हुन् । चार भाई चार बहिनी मध्य अरु अन्य पेशामा संलग्न भएपनि तीन बाबु छोरा छोरी भने सक्रिय राजनीतिमा लागेको शान्तिले बताइन् ।
त्यस्तै शान्तिका बाबु भगवतीप्रसाद चौधरी यस क्षेत्रका चिरपरिचित कम्युनिष्ट नेता हुन । जो साविकको गढवा गाविसको ३ पटक अध्यक्ष बने । २०५४ सालमा बाबु अध्यक्षमा निर्वाचित हुँदा छोरी शान्तिपनि वडा सदस्यमा निर्वाचित भएकी थिइन ।
कक्षा ५ पढ्दा पढ्दै पढाइ छोडेपनि राजनीतिक संस्कारमा हुर्किएकी शान्तिले राजनीति भने छोडिनन् । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुँदा उनी अनेमासंघको गाविस अध्यक्ष र एमालेको क्षेत्रीय सदस्य थिइन् ।
बोल्न र भाषण गर्न जानेपनि चुनाव जितेपछि कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दा कम शिक्षाकै कारण शान्तिले कठिनाइ भोग्नु पर्यो ।
उपाध्यक्षलाई पालिकामा न्यायिक समिति संयोजक लगायतका थुपै त्यस्ता आठ वटा जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यसका लागि कानुन पढ्नैपर्छ । जान्नैपर्छ । त्यही भएर शान्तिले पढ्न सुरु गरेको बताइन् ।
शान्तिका छोरा व्याचलर पढ्छन् । दुई छोरीले कलेजमा प्राविधिक विषय पढेका छन् । शान्तिले छोरा छोरी र पति राजेन्द्र चौधरीले पनि आफुलाई नजानेको कुरा पढाउने गरेको बताइन् ।
‘मलाई विहानै उठाउनु हुन्छ र पढ्न लगाउनु हुन्छ,’शान्तिले भनिन् ‘भाई मेटमनी लगाएत सबैले पढ्नु पर्छ भनेर हौसला दिने गरेका छन् ।’
आठ कक्षाको परिणाम आएपछि आफुले माथिल्लो कक्षाहरु पढ्दै एसइई दिने र त्यसपछि पनि परिस्थितिले साथ दिए उच्च शिक्षा पढ्ने दृढता व्यक्त गरिन् ।
‘अब म अर्कौ पटक अध्यक्षको लागि लड्नु पर्ने हुन्छ । यो त्यसको तयारी पनि हो । महिला पनि अगाडि बढ्नु पर्छ । ज्ञान हासिल गर्नुपर्छ,’ शान्तिले भनिन् । आफु परिक्षा दिन जाँदा साना बालवालिका र सर्वसाधारण मानिसहरु हेर्न आउने गरेको भएपनि उनीहरु सबैलाई पढाइको महत्व बुझाउने प्रयास गर्ने गरेको शान्तिले बताइन् ।