कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइईको परिक्षा दिन राष्ट्रिय सभा सदस्य शान्ता चौधरी पनि परीक्षा हलमा बसेर परीक्षा दिइरहेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीको सचेतक समेत रहेकी चौधरीले खुल्ला शिक्षा अन्तर्गत माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिन लागेकी हुन्।
उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा खुल्लातर्फबाट एसइई परीक्षा दिन लागेकी छन्। यो वर्ष दाङमा खुल्ला तर्फ २ सय ८ जना विद्यार्थीले परिक्षार्थी छन्। १ सय १५ जना छात्र र ९३ जना छात्राहरु रहेका छन्। त्यसमध्ये एक जना परिक्षार्थी चौधरी पनि हुन्।
परीक्षाहलमा प्रवेश गर्नुपूर्व सांसद चौधरीले बाल्यकालको सपना पुरा हुन लागेको भन्दै खुसी साटिन्। बाल्यकालमा विद्यालय जान निकै तड्पिएको भएपनि आज त्यो सपना पुरा हुन थालेको उनले बताइन्।
‘मेरो जीवनमा पढाईको अभाव निकै खड्कियो । पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन,’ शान्ताले भनिन् । कुनैपनि मान्छे कुनैपनि कुरामा पूर्ण नहुने हुँदा नजानेको कुरा सिक्नु सामान्ने प्रक्रिया भएको उनले बताइन । ‘नतिजा कस्तो आउँछ त्यो अनुरुपले मेरो आगाडि यात्रा अगाडि बढ्छ,’ शान्ताले थपिन ‘ मेरो लक्ष्य त बुढेसकालमा पिएचडी गर्ने छ।’
दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले सानोमा अरूको घरमा कम्लहरी बस्दा पढ्न पाइनन् । उनी झन्डै १८ बर्ष अरुको घरमा कम्लहरी बसिन । त्यही भएर शान्ताले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ बर्ष अघि नाम लेखाएर अध्ययन थालेकी हुन्।
सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिन लागेका छन् । विनु काठमान्डौंको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिदै छिन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।
शान्ताको बेञ्चमा छोरा उमेरकै परीक्षार्थी
सेन्टर मावि तुलसीपुर बाट परिक्षा दिइरहेकी शान्ताको बेञ्चमा १७ बर्षीय खगेन्द्र विष्ट छन् । हलमा बसेपछि शान्ताले ठट्टा गर्दै भनिन् ‘लौ तपाँई त मेरो छोराकै उमेरको हुनुहुँदो रहेछ, जान्नुहुन्छ होला मलाई पनि सिकाइ दिनुस है।’ त्यसपछि संगै बसेका विष्टपनि सहमतिमा मुन्टो हल्लाए मुस्कुराएका थिए । शान्ताको ठिक पछाडि एकजना १५ दिने सुत्केरी महिला पनि परिक्षामा सामेल छिन । तुलसीपुुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर निवासी सुशिला भण्डारी १५ दिने छोरा काखमा राखेर परिक्षा हलमा परिक्षा दिइरहेकी छन्।