जनकपुरधामस्थित रहेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस देशकै जेठो क्याम्पसमध्ये एक हो। तर, पछिल्लो समय यस क्याम्पसका प्राध्यापककै रवैयाले क्याम्पसको स्तर खस्किएको छ।
६० वर्षभन्दा बढी यात्रा पार गरिसकेको राराब क्याम्पस एक ताका नेपालभरी नै नाम कमाएको क्याम्पसमा पर्थ्यो। यहाँबाट उत्तिर्ण भएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण नै फरक हुने गर्दथ्यो। राराब क्याम्पसमा पढेका विद्यार्थीहरू मुलककै चर्चित डाक्टर, इन्जिनियर त बनेका नै छन्। यसका साथै सफल प्रशासक र राजनीतिज्ञसमेत बनेका छन्।
पूर्व उपप्रधान एवम् कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव, युवराज खाती, मोहन बराल, प्रदेशसभा सदस्य रामसरोज यादवलगायतका नेताहरू राराब क्याम्पसकै उत्पादन हुन्।
राजपा नेता महन्थ ठाकुरले त यस क्याम्पसमा प्राध्यापनसमेत गरेका छन्। उल्लेखित नामहरू प्रतिनिधि उदाहरणमात्र हुन्।
कुनै समयमा जनकपुरधामस्थित राराब क्याम्पस धनुषा र महोत्तरीमात्र नभइ सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका विद्यार्थीका लागि शैक्षिक हब हुने गर्थ्यो।
प्राध्यापकको समर्पण, मिहिनेत र पढाइप्रति विद्यार्थीको लगनशीलताले साख कमाउन सफल राराब क्याम्पस आज तिनै प्राध्यापकका कारण साख गुम्ने अवस्थामा पुगेको छ।
यहाँ कार्यरत प्राध्यापकको निजी क्याम्पसमा पढाउने मोहलेसमेत क्याम्पसलाई आरोलो लाग्न धकेलेको छ। राराबमा कार्यरत अधिकांश प्राध्यापकहरू निजी क्याम्पसहरूमा व्यस्त छन्।
बाहिर राराबको प्राध्यापक हुँ भन्दै परिचय दिन मख्ख हुनेलाई निजी क्याम्पसको मोहले घेरेको छ। राराबमा कार्यरत कतिपय प्राध्यापकहरू आफ्नै निजी कलेजसमेत खोलिसकेका छन्।
प्राध्यापकले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ। क्याम्पसमा घण्टी रहेको समयमा समेत प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन्। सोही अनुसार उनीहरूले त्रिविबाट स्वीकृति पनि लिएका छन्। तर, कार्यान्वयन भने हुन सकेको छैन। राराबमा कक्षा लिनुपर्ने समयमा कतिपय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन्।
यसबारे राराबका प्रमुख पनि अनभिज्ञ छैनन्। तर, नियमन गर्न असमर्थ देखिएका छन्।
प्राध्यापकले लिएको स्वीकृतिको विवरण माग्दा क्याम्पस प्रमुख वीरेन्द्र यादवले उपलब्ध गराउन चाहेनन्। उनले सबै विवरण त्रिविमा पठाइसकेको जानकारी गराए। ‘त्रिविलाई हामीले निजी शैक्षिक संस्थामा कक्षा लिने प्राध्यापकहरूको विवरण पठाइसकेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘कारबाही गर्ने अधिकार त्रिविको छ, हामी केहि गर्न सक्दैनौं।’
यद्यपी राराबमा कार्यरत प्राध्यापकले निजी कलेज सञ्चालन गरिरहे पनि यहाँ नियमित कक्षा लिइरहेको उनको दाबी छ। क्याम्पसलाई पुरानै अवस्थामा फर्काउन परीक्षा प्रणालीका साथै प्रशासनिक सुधारतर्फ प्रयास भइरहेको यादवले दाबी गरे।
परीक्षा प्रणाली विगतको भन्दा ६० प्रतिशत सुधार भइसकेको उनको दाबी छ। पछिल्ला दिनहरूमा परीक्षाको क्रममा देखिएको चिट चोर्ने प्रवृत्तिमा ह्रास आएकोसमेत उनको दाबी छ।
प्राध्यापकलाई घेरेको निजी क्याम्पसप्रतिको मोहले राराबको यस्तो हविगत हुन पुगेको पूर्वक्याम्पस प्रमुख नवेन्द्र निधीले बताए। ‘राराबका स्थायी प्राध्यापकले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिए पनि लगानी गरेका छन्,’ निधिले भने, ‘आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो। तर, यस्तै मोहका कारण राराबको साख खस्किँदैछ।’
विज्ञान र वाणिज्य संकायमा कार्यरत राराबका अधिकांश प्राध्यापकहरू निजी शैक्षिक संस्थामा काम गर्दै आइरहेका छन्। कतिपय प्राध्यापकहरू दिनको १० देखि १५ घण्टीसम्म निजी क्याम्पसहरूमा बिताएको पाइएको छ।
नेविसंघका धनुषा जिल्ला सभापति सुजित मिश्रले राराबको गरिमा जोगाउने जिम्मेवारी प्राध्यापकदेखि सम्पूर्ण विद्यार्थीहरूको काँधमा आएको बताउँछन्।
यहाँ कार्यरत प्राध्यापकले निजी जस्तै गम्भीरता देखाइदिए सस्तो र सुलभ तरिकाले उच्च अध्ययन गर्न सकिने थलो राराब हुने थियो उनको भनाइ छ।
विद्यार्थीहरू कक्षा लिन नआउँदा पढाइको गुणस्तर खस्केको कतिपय प्राध्यापकहरूको गुनासोसमेत छ।
कुनै समय १० हजारभन्दा बढी विद्यार्थी हुने गरेको राराबमा अहिले दुई हजार विद्यार्थीमा सीमित भएको छ। त्रिविबाट प्रविणता प्रमाणपत्र तहको अध्यापन विस्थापित भएकाले पनि विद्यार्थी संख्या घटेको बताइन्छ।
क्याम्पसले स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, कम्युटर, माइक्रो बायोलोजी, वातावरण विज्ञानलगायतका विषयहरू सञ्चालनमा रहेको छ।
त्यस्तै स्नातकोत्तरतर्फ गणित, ईपिएम, अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्र, जनसंख्या, सामाजिक विज्ञान, नेपाली, मैथिली लगायतका संकाय सञ्चालनमा छन्।