जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी दुई महिनादेखि तलब नपाएको भन्दै धर्नामा बसेका छन्।
उनीहरू आज कार्यालयको मूल गेट अगाडि नै धर्नामा बसेका हुन्।
तलब माग्ना जाँदा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले गाली गलौज गरेपछि आफूहरू धर्नामा बस्नु परेको कर्मचारी कुशेश्वर मेस्तरले बताए।
उनले भने, ‘मेयर साबसँग तलबका लागि पटक पटक भन्न जाँदा चासो नै लिएनन्।’
तलब माग्न जाँदा बोर्ड मिटिङ बसेपछि मात्रै तलब निकासा हुने भन्दै बारम्बार आश्वासनमात्र दिएको उनले बताए।
सफाइ कर्मचारीहरू आन्दोलनका कारण नगरको सफाइमा ध्यान नदिँदा नगर नै दुर्गन्धित हुन थालेको छ। नगरको विभिन्न ठाउँमा सडकको थुप्रो लागेको छ ।
यता उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सफाइ कर्मचारीहरूको समस्या चाँडै समस्या समाधान हुने दाबी गर्छन्।
४५ कर्मचारी, तलब निकासा भने ६५ जनाको !
जनकपुरधाम उपमहानगरमा ४५ जना सफाइ कर्मचारीहरू कार्यरत छन्। २५ वटा वडाका लागि ४५ जना सफाइ कर्मचारी राखिए पनि ६५ जनाको तलब मासिक निकासा हुँदै आएको कुशेश्वरले आरोप लगाए। उनले आफूहरूसँग औंठा छाप लगाएर ६५ जनाको तलब मासिक रूपमा निकासा हुँदै आएको बताए।
उनका अनुसार उपमहानगरले सफाइ कर्मचारीको तलबको नाममा ३ लाख ६० हजारभन्दा बढी रुपैयाँ निकासा हुँदै आएको छ।
आफूहरूलाई पत्तै नदिइ उपमहानगरका सफाइ इञ्चार्ज ललन कर्णले तलब निकासा गर्दै आए पनि आफूकहाँ तलब नआएको हुँदा आन्दोलन गर्नुपरेको सफाइ कर्मचारीहरू बताउँछन्।
यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोरले जानकारी नभएको भन्दै अनविज्ञता प्रकट गरे।