प्रदेश दुईमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का दुई विषयका प्रश्न बाहिरिएका छन्। प्रश्नपत्र आउट भएपछि दुबै दिनका परीक्षा स्थगित भएका छन्। परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले शुक्रबार प्रदर्शन गरेका छ।
कडा सुरक्षा निगरानीमा हुने प्रश्नपत्र कहाँबाट, कसले र कसरी आउट भयो? भन्ने एकीन हुन सकेको छैन।
प्रदेश दुईका मुख्यमन्त्री र कानून मन्त्रीले प्रश्नपत्र आउट हुनुमा संघीय सरकारलाई दोष रहेको आरोप लगाएका छन्।
प्रदेश दुईका सामाजिक विकासमन्त्री नवलकिशोर साहले लगातार दुई वटा विषयको परीक्षाको प्रश्न पत्र बाहिरिएकाले भोलि पनि प्रश्न पत्र आउट हुन नसक्ने कुराको ग्यारेण्टी नभएकाले आफूहरूले केन्द्रीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र राष्ट्रिय परीक्षा बोर्डलाई प्रदेश दुईमा दुई दिनको परीक्षा अगाडि सार्न आग्रह गरेको बताए।
बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको हल्ला चलेको थियो। आज (शुक्रबार) सामाजिक शिक्षा विषयको प्रश्न धनुषाबाट आउट भएको आशंका छ। तर धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल त्यो आशंकामा सत्यता नभएको बताए।
‘धनुषाबाट प्रश्नआउट हुने कुनै सम्भावना छैन्, सुरक्षा निकायका प्रतिनिधिहरूलाई हिजो बेलुका नै सुरक्षामा कडाइका लागि निर्देशन दिइसकेको छौं,’ अर्यालले सेतोपाटीसँग भने, ‘हामीले आज बिहान पनि प्रश्नपत्र राखिएका ईलाका प्रहरी कार्यालयमा फोन गरेका थियौं। उहाँहरुले सिल लगाएका प्रश्नपत्र जस्ताको त्यस्तै बताउनुभएको छ।’
यस वर्षदेखि संघीय र प्रदेश सरकारको समन्वयमा सञ्चालन भइरहेको एसइईको प्रश्नपत्र केन्द्र सरकारकै मातहतमा रहेको जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको हुन्छ। जिप्रकाबाट सम्बन्धित केन्द्रको नजिक रहेको इलाका प्रहरीका इन्सपेक्टर वा सईको कमाण्डमा प्रश्नपत्र सुरक्षित राखिएको हुन्छ। त्यसपछि परीक्षा सञ्चालन हुनुभन्दा आधा घन्टा पहिलेमात्र सम्बन्धित केन्द्रमा प्रश्नपत्र पठाउने नियम छ।
जिल्ला समन्वय एकाइका प्रमुख बरखुप्रसाद रजकले सामाजिक विषयको परीक्षाको प्रश्नपत्र धनुषाबाट आउट भएको कुरा मान्नै नसकिने बताए।
उनले भने ‘यतिका सुरक्षा निकायको निगरानीमा रहेको प्रश्नपत्र यहाँबाट आउट हुनै सक्दैन।’
राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र सिधै जिल्ला प्रहरी कार्यालयमा पठाउने भएकोले सुरक्षाको जिम्मेवारी पूर्ण रुपले सुरक्षा निकायकै हुने उनले बताए।
‘एउटा व्यवस्थापकको हैसियतले प्रश्नपत्रको लोकेसन हामीलाई थाहा त हुन्छ तर रोहबर भने प्रहरीकै हुन्छ,’ उनले भने।
कडा सुरक्षाबीच प्रश्नपत्र कसरी आउट भएको होला भनेर अधिकारीहरू नै आश्चार्यमा परेको सहायक प्रजिअ अर्यालले बताए।
‘यो विषय ज्यादै नै संवेदनशील छ। प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबीच बिहान भएको छलफलमा यसको सुक्ष्म अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाटै गराउनु पर्ने निष्कर्षमा पुगेका छौं,’ अर्यालले भने।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले प्रदेश बाहिरबाट पनि प्रश्न आउट भएको हुन सक्ने बताए।
‘प्रहरीकै निगरानी प्रश्नपत्र रहने भएकोले कहाँबाट लिक भयो? पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र शिक्षा समन्वय एकाइको प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अध्ययन गर्नेछ,’ खनालले भने।
स्थलगत अध्ययन समाप्त भएपछि चाँडै नै प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई बुझाउने एसपी खनालले बताए।