हजुरआमाका कथा शृंखला
हजुरआमाका कथा खोज्ने क्रममा म ८८ वर्षीया सान्नानीको कथा सुन्दै थिएँ।
सापकोटाकी छोरी, तिमिल्सिनाकी बुहारी।
जन्मस्थल काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल।
'हाम्रो जन्मथात त नइगाउँ भन्छ। कुसादेवीमा। थाहा छ कुसादेवी?' सान्नानीको प्रश्नमा मैले थाहा नभएको टाउको हल्लाएँ।
उनले प्रस्ट्याउने कोशिश गरिन्, 'त्यहाँ एउटा देवीको मन्दिर छ। त्यो मन्दिरमा मंसिर पूर्णेमा सत्तरी लाख बत्ती बाल्थे पहिलेपहिले। हो त्यही ठाउँमा, जजमानी गरेर खानेहरूलाई दुई गह्रा साना खेत कुस रोप्न दिइएको रहेछ। त्यसैले त्यो ठाउँको नाम कुसादेवी राखेको।'
धुलिखेलकी उनी बिहे गरेर ललितपुरको टुङगुन आएकी रहिछन्।
हजुरआमाका कथा लेख्ने क्रममा म उहाँहरू बसिरहेको घर पुगेकी छु। उहाँहरूको परिवारसँग भेटेकी छु। सान्नानीसँगको भेटमा यी सब भएनन्। उनका परिवारका कोहीसँग कुराकानी भएन। किनकि, मैले उनलाई न धुलिखेलमा भेटेँ न ललितपुरमा। न उनका कोही आफन्तकहाँ।
उनी पशुपति वृद्धाश्रममा थिइन्।
मैले भेटेका हजुरआमाहरूको जीवनभन्दा बेग्लै थियो सान्नानीको दैनिकी।
'यहाँ कसरी आइपुग्नुभयो?' उनको कथा सुन्न हतारो भइसकेको थियो।
'कसरी हुनु नि नानी। दु:ख परेर आएको,' वृद्धाश्रमको प्रांगणमा बसेकी सान्नानीले भनिन्, 'बाको निधन भइहाल्यो। गरीखान धेरै खेतबारी थिएन। भाइलाई क्यान्सर भयो। कोही नभएपछि आएँ।'
पशुपति वृद्धाश्रममा बस्ने २ सय ३० जनामध्ये एक हुन् सान्नानी। १९९० सालमा तीन वर्षकी थिएँ भन्ने सुनाउने उनी त्यहाँ आएको झन्डै २० वर्ष पुग्न लागेछ।
यति लामो समयदेखि बसिरहेकी उनको कथा खोतल्न थालेँ।
अनकनाइन्।
उनलाई विगत सम्झनै मन नलाग्ने भइसकेछ।
उनको बाल्यकाल र बिहेबारे केही बताइदिन अनुरोध गर्दा उनले भनिन्, 'दन्त्यकथा के भनुँ!'
उनी अनकनाइरहिन्।
म उनलाई कर गर्दै सहज बनाउँदै गएँ।
उनी तयार भइन् आफ्नो 'दन्त्य कथा' सुनाउन।
सान्नानीको बिहेबाटै कुरा थालियो। सात वर्षकी रहिछन् जम्मा। आमाबाको काखमै लुटपुटिने बेला।
'दूध खुवाएर डोलीमा हाल्ने बेला थियो हाम्रो। त्यहाँमाथि अलि गरिब भएपछि त झनै दुःख। छोरीको उमेर पुर्याएर वा योसँग बिहे गरिदिन्छु भन्न पनि नपाउने,' उनी सुनाउन थालिन्, 'तेरो छोरी हामीले भनेको ठाउँमा दिन्छस् कि तेरो घाँटी निचोरेर मारिदिऊँ' भनेर धम्काउने बेला थियो। त्यो बेला न प्रधान न पञ्च। गरिब आमाबाले मान्नै पर्थ्यो। छोरी दिनैपर्थ्यो।'
कसले भन्थ्यो र त्यस्तो?
'गाउँको ठूलाठालू जालीले नि। मेरा बालाई मुद्दा खेपाएर, अनेक जालझेल गरेर मेरो बिहे बोल्न नसक्ने मान्छेसँग गराइदिए,' उनको मन रोएको आँखामा देखिन्थ्यो, 'नबोल्ने मात्र हो र? एकदम नराम्रो रोगसमेत थियो। घरमा सासू थिइन्। सासूलाई त कसैकसैले 'तिम्रो छोरा धेरै बाँच्दैन, अर्काकी छोरीको जिन्दगी बर्बाद हुन्छ, बिहे नगरिदेऊ' पनि भनेका थिए रे।'
के रोग थियो र?
'खै, के रोग हो। एकदमै नराम्रो। रातो कपडा, आगो, खोला देख्नै नहुने। मुखबाट गजगज फिँज निकालिरहने,' उनले सुनाइन्, 'त्यस्ता रोगी थिए। पछिपछि त हातगोडा पनि डढेका ठूटाजस्ता भए। मलाई त पकाएर ख्वाउन र काम गर्न बिहे गरेका।'
श्रीमानको घरमा बेस्कन काम गर्नुपरेको उनी सुनाउँछिन्। कलिली सान्नानी, रोगी केटाकी श्रीमती र घरको कामको बोझ। सबभन्दा गाह्रो उनलाई पानी बोक्न हुने रहेछ।
'हरेक दिन टाढा पानी बोक्ने जानुपर्ने। कहिले त जुनेली रात छँदै गइन्थ्यो। फर्केर आउँदा झलमल्ल उज्यालो भैसकेको हुने,' उनले भनिन्।
बिहे गरेको ७/८ वर्षमै श्रीमानको मृत्यु भयो। श्रीमानको मृत्यु हुँदा उनी भर्खरै किशोर उमेरमा भुल्दै थिइन्। खाऊँखाऊँ-लाऊँलाऊँ उमेरमा विधवा भइन्। एक्ली भइन्।
सान्नानीलाई एक हल जग्गा, एउटा घर र एकसरो भाँडाकुडा दिने भनेर बिहेकै बेला उनका बुबासँग बाचा गरिएको रहेछ। ती सबै दिने भनेर कागज पनि लेखाइएको थियो। सान्नानीलाई जब यी सबै चाहियो तब तिनै कागज बनाइदिने ठूलाठालुले खोसेको उनले सुनाइन्।
सान्नानीको बिहे रोगी केटासँग गराउन त्यो जाल बिछ्याइएको थियो।
'जाली गरेर दिएको रहेछ,' उनले भनिन्, 'हाम्रो जग्गा पनि छुट्यो, मिलाइदिनु भन्दै बा खुब रुनुभो। कसैले सुनेन।'
उनले श्रीमानको जुठो बारिन्। किरिया गरिन्। बर्खी सकेपछि उनलाई माइतीबाट लिन आए। त्यसपछि माइतै बसिछन्।
'त्यो जंगलको ठाउँमा (श्रीमानको घर) जाँदा नि गइनँ। उनीहरूको खेत थिएन। जंगलको बारी थियो। त्यही पनि देवरले सबै लटपट खाएर हिँडे,' उनी भन्दै थिइन्।
उनको कथा सुनिरहँदा मन अमिलो हुँदै थियो। अहिले त श्रीमान बितेका महिलाहरूलाई अंश लिएर, घरमा टिकेर बस्न गाह्रो देखिन्छ भने त्यो बेला सान्नानीले के-के भोगिन् होला।
श्रीमान मरेपछि माछा मासु, भटमास, पालुंगो, भन्टा जस्ता शरीरलाई चाहिने पौष्टिक तत्व भएका खानेकुरा वर्जित थियो। खाट वा पलंगमा सुत्न मनाही थियो। हरेकजसो तिथि, पर्वमा उपवास बस्न बाध्य पारिन्थ्यो।
कुनै बेला त श्रीमानको चितामै बसेर जिउँदै जल्ने अवस्था पनि थियो। बिक्रम सम्वत १९७७ असारमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले सतीप्रथा उन्मूलन नगरेको भए हामीले कति हजुरआमा र आमालाई पाका भएकै देख्थेनौं सायद।
सान्नानीका श्रीमान बित्दा समाज सतीप्रथाको धङधङीबाट उत्रिसकेकै थिएन। उनका आगामी दिन सहज कसरी भए होलान् र?
माइतीमा पनि उनलाई सुख थिएन। आनन्द थिएन।
'एक त छोरी, त्यसमाथि माइती बसेकी, अझ विधवा,' उनी भन्छिन्।
यति वाक्यले नै उनका भोगाइका दृश्य अनुमान लाउन सकिन्छ।
जीवनमा रङ त हराइसकेको थियो। मान्छेहरूको तानाले अनुहारको रङ पनि उज्यालो रहन दिएन। पर्व-साइतका बेला 'विधुवाको अनुहार देख्दा अपसगुन हुन्छ' भन्दै उनलाई पन्छाइन्थ्यो। पूजाआजामा श्रीमान भएका महिला सरह सामेल हुन पाइन्थेन। अनेक बन्देज थिए।
सान्नानीका एक भाइ थिए। उनलाई आफ्नो अवस्थामा भाइको आड होला भन्ने भरोसा थियो। तर उनको भरोसाले टुसा हाल्न पनि पाएन।
भाइलाई अरूले फकाएर भारत लगेछन्। त्यतै हुँदा क्यान्सर भयो। उपचार गरे पनि क्यान्सर मुटुसम्म पुगिसकेछ।
उनको भरोसाको एक मात्र बिउ भाइ पनि बिते।
'दु:ख पर्यो भन्दैमा ज्यान फाल्न नसकिने रहेछ,' ती दिन सम्झिँदै सान्नानीले भनिन्, 'जीवन बिताउनै थियो।'
'कसरी बित्थे त दिन?'
'गाउँमा हामीले गर्ने काम किसानी त हो। घाँस काट्यो। दाउरा खोज्यो। भकारो सोहोर्यो। मकै गोड्यो। आफ्नो खेती थिएन, गाउँमा गहुँ काट्न गयो। त्यस्तै गरेर बिताउने हो,' उनले सुनाइन्।
'त्यसरी सानै उमेरमा श्रीमानको मृत्यु हुँदा वा छाडेर जाँदा कसैले अर्को बिहे गर्थेनन्?' यसको जवाफ लगभग थाहा भए पनि सान्नानीलाई सुन्नु थियो।
'कहाँ गरिदिन्थे र! कसैले गर्थेनन्। श्रीमान नभएपछि त जो पनि यसै। कुनै कुनै धुरीमुनि त दुइटी-तिनटी विधुवा बस्थे,' उनले सुनाइन्। श्रीमानको मृत्यु भएका त भइहाले, श्रीमानले छाडेर हिँडेका र नफर्किएकाहरूलाई पनि उनले 'विधवा' नै भनेकी रहिछन्।
'कोही कोही बिहे गर्ने बित्तिकै स्वास्नी छाडेर जान्थे। बाहिर जान्थे। चिठी खबर केही नपठाउने। कोही २/४ वर्षसम्म अलिअलि चिठी पठाउने। पछि हराउने। बाहिर गएकाहरू धेरै त्यसै गर्थे। हाम्रो घरमाथि एउटी बहिनी थिइन्। १३/१४ वर्षमा बिहे गरेकी थिइन्। 'पञ्चरात' गर्ने बित्तिकै दुलहा बाहिर गयो। अनि त खबरै पठाएन। उसको आमा बित्दा नि आएन। २० वर्षपछि अर्कै श्रीमती र दुइटा नानी लिएर आयो। त्यसरी बीसौं वर्ष पनि दुलहा कुरेर बस्थे। श्रीमान मर्नै किन पर्थ्यो र, त्यसरी नि एक्लै पर्थे,' त्यतिबेलाका महिलाका दु:ख सुनाउँदै उनले भनिन्।
उनका दुःखका कथाको भार कति धेरै होला। अलिकति कुराको विषय मोड्न सोधेँ, 'अक्षर चिन्नुभएको छ कि छैन?'
'कहाँबाट चिन्नु? चिन्दिन।'
'स्वस्थानी पढ्न सक्नुहुन्छ कि?'
'आउँदैन।'
'यहाँ पढ्ने गर्या होला नि हैन स्वस्थानी?'
'अरुले पढ्या सुनेर कथा आउँछ। गोमाको कुरा सबै बुझेको छु।'
'हाम्रा पालामा लेख्न पढ्न भनेको त अकाशका तारा। छोरी पढाए पोइल जान्छन् भन्थे, थाहा छ?' उनले उल्टै प्रश्न गरिन्।
म पनि उनलाई सुन्न उत्सुक हुँदै भने, 'त्यही थाहा नभएर त सोध्न आएको नि। छोरी पढाए कसरी जाने रैछन पोइल?'
'पढ्न-लेख्न जानेपछि चिठी लेख्न जान्दछन्। केटाले पठाको चिठीको जवाफ फर्काउँछन्। अनि आफैं रोज्छन् र जान्छन् भनेर होला नि,' उनले बुझाउँदै भनिन्, 'छोरीका लागि स्कुल त हिजोअस्ति आको भन्दा हुन्छ। ०१८ सालदेखि हुनेखानेका छोराछोरी स्कुल जान थालेका हुन्। हामीले पढ्न पाएको भए आजका दिन बेग्लै हुन्थे कि है!'
सात वर्षको उमेरदेखि 'भात खान पाउने' आशाले रोगले थलिएका केटासँग गराइदिएको बिहेले सान्नानीका जीवनका कलिला दिन लुट्यो। भएको सम्पत्तिमा पनि एक सिन्का भाग लागेन।
माइतीमा जीवन मुश्किलै थियो। यी सबबाट मुक्ति र केही सुख पाउने आशामा उनी फेरि ललितपुर आइन्।
केही महिना पुल्चोकस्थित डिल्लीशमशेरको घरमा काम गरिन्। सहरको 'चालचलन' अनुसार काम गर्न जानिनन्। त्यहाँबाट निस्किइन्।
त्यो बेलासम्म उनलाई रोगले गालिसकेछ। कसैले अस्पताल पुर्याइदियो। सबैले पैसा उठाएर उनको शल्यक्रिया खर्च तिरिदिएको सान्नानीले सुनाइन्। अनेकौं हण्डर खाएर करिब बीस वर्षदेखि उनी वृद्धाश्रममा छिन्।
'यहाँ ढुक्क छ। बेलामा खान पाइन्छ। बिरामी भए डाक्टर आएर जँचाइदिन्छन्,' उनी सुनाउँछिन्।
वृध्दाश्रमका कर्मचारी 'सडकमा नजानू, गाडीले हान्ला' भन्दै सम्झाउँछन्। त्यसैले उनी ध्यान पुर्याएर सडकमा निस्किन्छिन्। सकेका बेला लठ्ठी टेक्दै पशुपतिनाथ दर्शन गर्न जान्छिन्।
बिक्रम सम्वत् १९३८ मा बनेको यो वृद्धाश्रममा सान्नानीजस्ता जेष्ठ नागरिकलाई बस्न सजिलो त छैन। पानी परेका बेला उनीहरू बस्ने खण्ड चुहिन्छ। बाँदरले जस्ताको छानामा उफ्रिएको आवाजले दिक्क बनाउँछ।
तै उनीहरूजस्ता एक्ला हजुरआमा-हजुरबा र आमाबाहरू पशुपतिनाथ परिसर छाडेर अन्त जान चाहँदैनन्। वृद्धाश्रममा उनीहरूलाई नुहाउन तातो पानी व्यवस्था छ। राति बाहिरको चर्पी जान नसक्नेलाई कोपरा राखिदिएको छ।
'यहाँ छाडेर कहाँ जानु। बाहिर कसैले एक छाक खान बोलाएर जिन्दगी चल्दैन। कति बाँच्नुपर्छ के थाहा! यहाँ भए खान त पाइन्छ,' सान्नानीले भनिन्।
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'छोरी भइदिएकी भए ...'
'काठमाडौं यस्तो होला भन्ने कल्पनै गरेकी थिइनँ'
रूद्रकुमारीले फेरि आफ्नो कथा भन्ने छैनन्
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे