त्रिपुरासुन्दरी गाँउपालिका–३ गाँउ बाल संरक्षण समितिले बालविवाहलाई निरूत्साहन गर्न विवाहको निम्तो गर्दा दुलाह एवम् दुलहीको उमेर अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय गरेको छ।
निमन्त्रणा कार्डमा नै अनिवार्य उमेर उल्लेख गर्नुपर्ने र कार्ड नछपाई निम्तो गर्दा पनि उमेर बताइनुपर्ने निर्णय गरेको हो। यो निर्णय २०७६ वैसाख १ गतेबाट लागू हुनेछ।
मुलुकी ऐनमा नै २० वर्ष उमेर पुरा नगरी विवाह गर्न नपाइने उल्लेख छ। तर गाँउपालिकामा अझै पनि कम उमेरै विवाह गर्ने प्रचलन कायम रहेकोले यस्तो निर्णय गर्नुपरेको गाँउ बाल संरक्षण समितिका अध्यक्ष तथा गाँउपालिका –३ का अध्यक्ष सुकदेव रिसालले बताए। ‘विवाहको निमन्त्रणा कार्डमा दुलाह दुलहीको उमेर उल्लेख नगरी गरिएको निम्तामा हामी सहभागी हुदैनौं,’ अध्यक्ष रिसालले भने –‘२० वर्ष भन्दा कम उमेर उल्लेख गरेमा सकेसम्म सो विवाह नै रोक्ने र कानुनी बाटोमा जाने निर्णय गरेका छौं।’ कार्डमा गलत उमेर उल्लेख गरेर झुक्याएको वा निम्तो नै नगरी गरेको विवाहलाई सकेसम्म रोक्ने योजना रहेका वडाअध्यक्ष रिसालले बताए।
गाँउ बाल संरक्षण समितिले गरेको निर्णय स्वागत योग्य भएको गाँउपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। ‘वडाले गरेको निर्णय सबैले अनुसरण गर्नुपर्ने किसिमको छ,’ अध्यक्ष श्रेष्ठले भने –‘यस्ता सकारात्मक सवालको सबैले तारीफ गर्नुपर्छ।’ अध्यक्ष श्रेष्ठले यस्तो निर्णय गरेकोमा वडालाई धन्यवाद दिदैं अरु वडामा पनि यस्तो निर्णय लागु गराउने बताएका छन्।
सो गाँउपालिकामा थामी र तामाङ जनजातीको बाहुल्यता रहेको र सो समुदायमा कम उमेरै विवाह गर्ने संख्या अधिक भएपछि यस्तो निर्णय गर्नुपरेको त्रिपुरासुन्दरी गाँउपालिकाकी उपाध्यक्ष दुर्गादेवी नेपालले बताइन्। ‘आँउदो महिना मेरै छोरी प्रतिष्ठा नेपालको विवाह हुदैंछ,’ उपाध्यक्ष नेपालले भनीन् –‘म नै त्यो विवाहको निम्तो कार्डमा छोरी र ज्वाँइको उमेर उल्लेख गरि यसको सुरुवात गर्नेछु।’ सो निर्णय कार्यान्वायन गर्ने पहिलो विवाह नै त्यही हुने उपाध्यक्ष नेपालले ठोकुवा गरीन्।
गाँउपालिकामा बालविवाहको कारण धेरै महिलाहरुमा प्रजनन् सम्बन्धी समस्या बठ्दै गएपछि यस्तो निर्णय गरिएको हो। बालविवाहका कारण किशोरकिशोरीले उच्च शिक्षा पढ्न पाएका छैनन् भने युवाहरु कमाइ गर्नको लागि विदेश जानैपर्ने बाध्यता बढेपछि यस्तो निर्णय गरिएको गाँउपालिका –३ का वडाअध्यक्ष रिसालले बताए। ‘यो त पहिलो चरणको सचेतना मात्रै हो,’ वडाअध्यक्ष रिसालले भने –‘यसबाट पनि बालविवाहको दरमा कमी आएन भने अझ कडा निर्णय गरेर जाने योजना बनाएका छौं।’ यस्तो निर्णय गर्नेमा नेपालमै आप्mनो वडा पहिलो भएको वडा अध्यक्ष रिसालले दावी गरे।
वडामा बालविवाहको कारण सामाजिक रुपमै समस्या बढ्दै गएपछि यस्तो कदम लिनुपरेको हो। सानै उमेरमा विवाह गर्ने र पछि उमेर बढ्दै जाँदा मनमुटाव समेत बढी सम्बन्धविच्छेदका छटना समेत बढ्न थालेको वडाअध्यक्ष रिसालले बताए। निर्णय कार्यान्वायन नगरी निम्तो गर्दा उमेर नखुलाउने विवाहमा वडाका कुनै पनि जनप्रतिनिधि र कर्मचारी समेत सहभागी नहुने समितिले निर्णय गरेको छ। त्यस्तै सो विवाहमा गाँउपालिकाबाट सरकारी तलब सुविधा लिइका शिक्षक तथा सहकारीका कर्मचारी लगाएत अन्य समितिका पदाधिकारीलाई सहभागी नहुन वडाले अनुरोध गरेको छ। निर्णयको वडामा कार्यरत विभिन्न संघसंस्था, सहकारी लगाएतले स्वागतयोग्य निर्णयको रुपमा लिएका छन्।