एउटा यस्तो फूल जो वैशाखको पहिलो दिन मात्रै फूल्ने गर्छ। यो समाचार नयाँ होइन। जसरी त्यहाँ फूल्ने त्यो फूल नयाँ होइन।
तर अचम्मको उक्त फूल हेर्न नववर्षको दिन भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।
सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेशको मन्दिर र मन्दिर छेउमा फूलबारी छ। फूलबारीमा एउटा हारमको रूख पनि छ। त्यो रूखमा बेरिएको सुनाखरी वैशाखको पहिलो दिन विहानै फूल्छ र साँझ आफै ओइलाउँछ, प्रेमीको बाटो हेरेर बसेकी प्रेमीका आफ्नो मायालु नआउने खबरले मुर्झाएझैँ।
मालाझै रूखमा झुण्डिएका ति फूल किन बैशाखको पहिलो दिनमात्र फूल्छन् र त्यही दिन ओइलाउँछ?
स्थानीयले यसको उत्तरमा एउटा कथा बनाएका छन्।
त्यो हारमको फूल आफै निकै प्राचीन छ। त्यसमा बेरिने फूलको कथा उस्तै पुरानो हो। वनस्पतिविद्हरूका अनुसार त्यो रुख छैठौँ वा सातौँ शताब्दी तिरको हो। स्थानीयका अनुसार हारमको त्यो रूखमा झुण्डिएर फूल्ने फूल भने लोकदेवता सलहेसको प्रेम प्रतिक हो।
राजा सलहेस मिथिलाको दुसाध जातीको लोकदेवता हुन्।
छैठौँ शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो। त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट एउटा जयवर्द्धन (सलहेस) को जन्म भएको थियो । सानैदेखि प्रखर वुद्धिका धनी र शौर्यशाली थिए सलहेस ।
सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो। बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे।
भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गदपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए ।
पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले उनलाई निकै सहयोग गरेकी थिइन्। त्यसपछि सलेस र मालिनीबीच प्रेम भएको किम्वदन्ती स्थानीयहरू सुनाउँछन्।
मालिनी सलहेसकै प्रतिक्षामा प्रत्येक वर्ष फूल टिप्नका लागि सो फूलबारी आउने गर्थिन्। मालिनी नै सलहेशको यादमा आजपनि सो फूलबारी आउँछिन् भन्ने जनविश्वास छ। त्यसैले फूलबारीलाई राजा सलहेस र मालिनी बिचको प्रेमको प्रतिकको रुपमा लिइने गरिन्छ।
राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा पनि छ।
किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ। मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन्।