मिथिला संस्कृतिलाई समृद्ध संस्कृतिको रूपमा लिने गरिन्छ। मिथिलाका पर्वहरू वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाइन्छ। जसको सबभन्दा ठूलो उदाहरण जुडशितल पर्व रहेको छ।
मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशितल पर्व मनाइँदै छ। वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन्। यसअघि मान्यजनबाट बिहान हुने बित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा रहेको छ।
होली पर्वमा रंग अविर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दल्ने परम्परा रहेको छ। जुडशितल पर्वमा पुरानो वर्षको वासी खाना खाने परम्परा समेत रहेको छ। पुरानो वर्षमा बनाइएको अन्तिम खाना नयाँ वर्षमा खाने गरिन्छ।
पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एक ठाउँमा भेला भइ एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । तर अहिले आधुनिकताले छोएसँगै यो परम्परा लोप हुँदै गइरहेको संस्कृतिविदहरू बताउँछन्।
लोपोन्मुख हुँदै गइरहेको मिथिलाञ्चलको यो लोकपर्वलाई संरक्षण गर्ने उद्धेश्यले विभिन्न संघसंस्थाको पहलमा यो पर्व जनकपुरधाममा मनाइएको छ।
जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा प्रदेशसभा सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादवको अगुवाइमा जुडशितलको आयोजना गरिएको थियो।
सो कार्यक्रममा सहभागीले एक अर्कालाई हिलो पानी लगाएर पर्व मनाएका छन् । गृष्म ऋतुको सुरूआतसँगै शितलताको प्रतीकको रूपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको प्रदेशसभा सदस्य यादव बताउँछन्।
यस पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा समेत रहेको छ। यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने समाजसेवी अमरचन्द्र अनिलको भनाइ छ। जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने, छालासम्बन्धी रोग नलाग्ने, यो पर्वमा पानी हालेर खेल्यो भने गर्मी महिनाभरी शितलता प्रदान हुने जनविश्वास रहेको छ।