जनकपुरमा एकजना चिया पसले बिहीबार बिहानैदेखि सम्पर्कविहीन भएका छन्।
मिल्स एरियामा चिया पसल गर्दै आएका ४० वर्षीय ध्रुवनारायण लाल कर्ण पसल खोल्न बिहान ४ बजे घरबाट निस्केका थिए। केही समयपछि खोज्दा उनी पसलमा पनि नरहेको र कसैलाई सम्पर्क पनि नगरेकाले अपहरणमा परेको पारिवारिक स्रोतले जनाएको छ।
पसलको सटरको तानेकै अवस्थामा रहेको तर ताल्चा खुलेको तथा उनले लगाएको टिसर्ट च्यातिएको पसल अगाडि नै भेटिएपछि उनको अपहरण भएको हुन सक्ने आशंका गरिएको छ।
कर्णको पसलमा दूध बेच्न आउनेले उनको पसलको ताल्चा खुलेको र सटर बन्द रहेको देखेपछि घरमा खबर गरेका थिए।
धनुषा जिल्लामा विगत केही महिना यता अपहरणका घटनाहरुमा वृद्धि भएका छन्। दुई दिनअघि धनुषाधाम नगरपालिकाबाट एक १२ वर्षीया किशोरी अपहरणमा परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौयता अहिलेसम्म ८ वटा अपहरण भएका छन्।