ललितपुरको पुलचोकस्थित दमकल चोकमा रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि बाराही समुदायले रथ बनाउँदै गरेकाले पुल्चोक आसपास साविकभन्दा अलि बढी जाम छ। सवारी नियन्त्रणका लागि ट्राफिकको व्यस्तता पनि बढेको छ।
आज (मंगलबार) दिउँसो करिब साढे १ बजे पोखराको मणिपाल अस्पतालमा कार्यरत डा. सहिष्णुता बस्नेत जावलाखेलबाट मारूती सुजुकीको अल्टो गाडीमा आफ्नो आमा र छोरालाई लिएर बानेश्वर जादै थिइन्।
जाम छिचोल्दै उनी पुल्चोकको आकाशे पुल मुनी आइपुगिन्। उनको गाडीलाई अचानक एउटा गाडीले ठक्कर दियो। गाडीको पछाडिको भाग कुच्चियो।
त्यो गाडी थियो कृषी तथा पशुपक्षि विकास मन्त्री चक्रपाणि खनालको। गाडी चालक हरिराम भुजेल थिए।
‘गल्ती गरेपछि माफी माग्नु त का हो कहाँ, उल्टो त्यो ड्राइभरले हामिलाई थर्काउन खोज्यो,’ बस्नेतले सेतोपाटीसगँ भनिन्, ‘मैले स्पिडमा गाडी रोके भन्छ, यत्रो जाममा कति स्पिडमा गाडी चलाउन सकिन्छ र?’
चालकले महिला देखेर हेप्न खोजेको उनले आरोप लगाइन्।
‘म पनि गाडी चलाउँछु, मानवीय गल्ती जो कोहीबाट हुनसक्छ। तर, मान्छेको एउटा बोल्ने सोमत त हुन्छ नि, गाडीमा महिला र बच्चा छ भन्दैमा हेप्न पाइन्छ?,’ उनले आक्रोश पोखिन्।
करिब ४५ मिनेटपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख माधव केसीले गाडी बनाउने सहमतिमा मन्त्रीको गाडी छोडिदिएका छन्।
प्रभाग प्रमुख केसीले घटनाको विस्तृत विवरण प्रवक्ताले मात्र दिन मिल्ने बताए।
‘साधारण तथा दुई पक्षको सम्झौता भएपछि मात्र गाडी छोडिने भए पनि मन्त्रीज्यूलाई लिन जानुपर्ने भएकोले छोडेका हौ। मन्त्रालयबाट मान्छे आउँदै छन्। र उहाँको गाडी बनाउन धोबिघाटको सुजुकी शोरुममा पठाईसकेका छौ,’ उनले सेतोपाटीसँग भने।
प्रहरीले चालकको लाइसेन्स लिएको र दुई पक्षको सम्झौता पछि चिट काट्ने जनाएको छ।
आफू बाहिर भएकोले यो घटनाबारे थाहा नभएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता नारायण चिमोरियाले बताए। घटनाको समय मन्त्री भने गाडीमा थिएनन्।