सन् १९९५ मा डिभी चिठ्ठा परेपछि उनी अमेरिका उडे।
केही वर्ष उतै काम गरे। बिहेको लागि फेरि नेपाल फर्किए।
नेपालमै आफ्नो समुदायकै केटीसँग बिहे गरे।
जनकपुरधामकै वृजनन्दन साहकी छोरी सरिता साहसँग उनको बिहे भयो।
बिहे भएको केही समयपछि अमेरिका फर्के। पछि आमा र श्रीमतीलाई समेत अमेरिका लगे।
श्रीमतीसँग हाँसी खुसी जीवन बिताइरहेका थिए। तर उनको हाँसी खुसी जिन्दगी केही समयमै मरुभूमि जस्तो उजाड बन्न पुग्यो। आफूले सबभन्दा विश्वास गर्ने श्रीमतीले नै धोका दिएपछि उनी छाङाबाट खसैजस्तै भए। उनी अर्थात् जनकपुरका विजय साह।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने उनको नाममा रहेको पुर्खौली सबै सम्पत्ति उनकै श्रीमतीको मिलेमतोमा सासूससुराले झुक्याएर आफ्नो नाममा गराएपछि उनी घरबारविहीन भएका छन्। अहिले उनीसँग न परिवार छ न नै घरबार।
घरबारविहीन भएपछि उनी अहिले भौँतारिएका छन्। उनले भने, ‘म अब बेसहारा भइसकेको छु, के गरु, के नगरुँ बुझ्नै सकिरहेको छुइनँ।’
सम्पत्तिकै विषय लिएर श्रीमतीसँग मनमुटाव भएपछि आमाको नाममा रहेको सम्पत्ति श्रीमतीको नाममा वारिसनामा तयार पारे। तर भविष्यमा केही फसाद हुन्छ भन्ने डरका साथ उनले कित्ता नम्बर गलत दिएर वारिसनामा तयार पारे।
विजयले वारिसनामा गलत कित्ता नम्बर दिएर तयार पार्दा पनि जग्गाको रजिष्ट्रेशन पास भएको देखेर उनको होस हवास नै उड्यो। अहिले त्यहीँ सम्पत्ति आफ्नै नाममा ल्याउने सोचका साथ विजय जनकपुर आएका छन्।
वारिसनामामा विजयले जानेर नै गलत किता नम्बर १९६ लेखेर तयार पार्न लगाएका थिए। श्रीमतीको नाममा वारिसनामा भएको केही महिनामै सो जग्गा ससुराको नाममा रहेको उनले थाहा पाए।
ससुराले मालपोतमा घूस खुवाएर सो सम्पत्ति आफ्नो नाममा ल्याएका उनको आरोप छ।
‘मेरो ससुरा वृजनन्दन साहले मालपोत कार्यालयमा घूस खुवाएर जग्गा आफ्नो नाम गराए’, उनले भने, ‘मेरो किता नम्बर १८६ को १३ धूर जग्गा वारिसनामामा कित्ता नम्बर १९६ उल्लेख हुँदा पनि रजिष्ट्रेशन कसरी भयो? यसमा पक्कै पनि पैसा खुवाएर जग्गा आफ्नो नाममा गर्न लगाइएको छ।’
मालपोतमा पनि आफू झूटो नै साबित हुने देखेपछि अदालतको शरणमा उनी पुगे। तर त्यहाँ पनि विजयविरूद्धमा नै फैसला आएको छ। अदालतमा पनि न्याय नपाएपछि उनी अहिले समाजकै व्यक्तिहरूलाई न्याय गरिदिन आग्रह गर्दै आएका छन्।
जनकपुरस्थित आफ्नो पुख्र्यौली घरमा गएको बेला विजयले सासू ससुरालाई देखेपछि उनले घर फिर्ता गर्न आग्रह गरे। तर उनको ससुराले उनलाई कुटपिट गर्दै उनको मोबाइल, लत्ताकपडा र अमेरिकाबाट ल्याएका मोबाइलसहितका सबै सामग्री खासेको बताए।
उनका ससुराले भने घर आफैंले खरिद गरेको दाबी गरेका छन्।