सर्लाही, गोडैताकी सुनिता (नाम परिवर्तन) गत मंसिरमा बिहे टुंगो लाग्यो।
जन्मदर्तामा उल्लेख भएअनुसार उनको उमेर २० वर्ष पुगेको थियो। जेनतेन प्राथमिक तहसम्म अध्ययन गरेकी सुनितालाई उनका बुबाले मंसिरमा बिहे गर्ने गरी नजिकै गाउँका केटा खोजे। ३० वर्षीय केटासँग उनको बिहे तय गराए।
तर जब सुनिताले आफ्नो बिहे हुँदैछ भन्ने थाहा पाइन्, तब आमालाई भनिन्, ‘आमा म अहिले बिहे गर्दिनँ। बुवालाई भन्नुहोस्, मेरो बिहे गर्ने उमेरै पुगेको छैन। र, मलाई केटा पनि मन परेको छैन।’
जन्मदर्ताअनुसार उमेर २० वर्ष पुगे पनि सुनिता १७ वर्षकी मात्र थिइन्। सर्लाहीको दक्षिणी भागमा रहेको सीमावर्ती क्षेत्रमा उमेर बढाएर जन्मदर्ता बनाउने परिपाटी छ। छोराछोरीको कम उमेरमै बिहे गरिदिँदा कानुनी फन्दामा नपरिने भन्ने मानसिकताका कारण अभिभावकले आफ्ना सन्तानको उमेर बढाएर जन्मदर्ता बनाउने गरेको पाइएको छ। सुनिताको साहसले नै यो चलनबारे सार्वजनिक खुलासा भएको हो।
सुनितालाई आफ्नो वास्तविक उमेर थाहा थियो। कलिलै उमेरमा बिहे गर्न हुन्न र आफू बिहेका निम्ति परिपक्व नभएको उनले बुझेकी थिइन्। मधेसी मूलकी सुनिताले साहस देखाउँदै बिहे नगर्ने अड्डि कसिन्।
छोरी बिहेका लागि तयार नरहेको कुरा सुनेपछि सुरूमा बुबा खुबै रिसाएका थिए।
बुबाको रिसअघि पनि सुनिता गलिनन्।
'म बिहे गर्दिनँ र जबरजस्ती गरे विष खाइदिन्छु' भन्दै आमालाई चेतावनी दिइन्। यो कुरा बुबाले सुने। छोरीको बिहेले ज्यानै लिनसक्ने बुझेर बुबाले समझदारी देखाए र आफ्नो निर्णय परिवर्तन गरे।
सुनिताले उमेर नपुगी बिहे गर्दिनँ भनेपछि केटातर्फबाट अर्को प्रस्ताव आयो। उनीहरू दाइजो नलिइकनै बिहे गर्न तयार भए।
तै सुनिताले आफ्नो धैर्य र समझदारी छाडिनन्। कुनै पनि हालतमा अहिले बिहे नगर्ने जवाफ फर्काइन्। आमाबुबालाई सम्झाइन्। अब उनीहरूले छोरीको बिहे २० वर्ष अघि नगर्ने निधो गरेका छन्।
सुनिताले उमेर अगावै हुन लागेको आफ्नो बिहे त रोकिन् नै, आफ्नो गाउँका अरू ५ वटा बालबिहे समेत रोकेकी छन्।
यति आँट कहाँबाट आयो भन्ने सेतोपाटीको प्रश्नमा उनी भन्छिन्, ‘सेभ द चिल्ड्रेनले चलाएको 'लैंगिक हिंसा विरुद्ध'को कार्यक्रममा सहभागी थिएँ। त्यसमा धेरै कुरा सिकेँ। त्यहीँबाट आफूभित्रको आँट देखाउन सक्ने भएँ।'
सुनिता अहिले यही कार्यक्रमका कारण आत्मनिर्भर समेत भएकी छन्। उनले सिलाइकटाइको कामबाट आम्दानी गर्न थालेकी छन्। घरमा पनि आर्थिक सहयोग गर्छिन्। उनको यो कदमले अहिले आमाबुबा खुबै खुसी छन्।
'छोरीले बेलैमा आफ्नो आँखा खोलिदिइन्,' उनका अभिभावकले भने।
सेभ द चिल्ड्रेनको उक्त कार्यक्रममा ३ सयभन्दा बढी किशोरी सक्रिय छन्। यो अभियानका लागि विद्यालय बाहिर रहेकी किशोरीलाई छनौट गरिएको छ। विद्यालय बाहिर रहेका किशोरी बढी जोखिममा रहेकोले उनीहरूकै माध्यमले बालबिहे रोक्ने अभियान चलाइएपछि प्रभावकारी बन्दै गइरहेको कार्यक्रम संयोजक हजरा सबनमले बताइन्।
'आफ्नो नामसम्म खुलेर बोल्न नचाहने किशोरीहरू अहिले गाउँगाउँ घुमेर बालबिहे रोक्न अभिभावकहरूलाई सम्झाउने-बुझाउने गर्न थालेका छन्,' सबनमले भनिन्,'किशोरीहरूकै कारण यहाँ ठूलो परिवर्तन आएको छ।'