ललितपुरको सातदोबाटो, चापागाँउ, भट्टेडाँडा हुँदै हेटौंडा पुग्ने कान्ति लोकपथ आउँदो दशैंदेखि सञ्चालनमा आउने भएको छ।
त्यो बाटोमा अहिले मोटरसाइकल र साना सवारी साधन फाट्टफुट्ट सञ्चालनमा आए पनि असोजपछि ठूला सवारी चलाउने गरी काम भइरहेको कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
मकवानपुरतर्फ झन्डै २ र ललितपुरतर्फ ४ किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ।
‘यी काम सकिएपछि यो बाटोमा सहजै गाडी गुड्छन्,’ खड्काले भने, ‘असोजमा सडक चौडा गर्ने काम सकिन्छ। सडकका सबै कालोपत्रे भने अर्को वर्षमा सक्ने लक्ष्य छ।’
सडक कालोपत्रे गर्न ६ वटा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ। बिनाकारण म्याद नथप्ने सडक विभागले नीतिपछि निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन्।
सडकका लागि ३ अर्ब बढी रूपैयाँ छुट्याइएको छ।
चापागाउँ हुँदै लेले, भट्टेडाँडा, मकवानपुरको ठिंगन, लेनडाँडा,जितपुर बजार, मकवानपुर गढी, धरम पानी, चुच्चेखोला हुँदै यो सडकले बुद्धचोकलाई छुन्छ।
बल्खु र नौबिसे हुँदै हेटौंडा गए पनि पुगिने केन्द्रबिन्दु बुद्धचोक हो। यो सडक मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ४१ किमीको हुनेछ।
अहिले चलिरहेको वैकल्पिक सडकबाट बल्खु-दक्षिणकाली-कुलेखानी हुँदै हेटौंडा पुग्न ३ घन्टा लाग्छ।
हेटौंडालाई ललितपुरका ग्रामीण भेग हुँदै काठमाडौं उपत्यकासँग जोड्ने छोटो, भरपर्दो र वैकल्पिक लोकमार्गका रूपमा सो सडक बनाइएको सडक विभागले जनाएको छ। सडक कालोपत्रे भइसकेपछि सो मार्ग भएर हेटौंडा बढीमा साढे २ घन्टामा पुग्न सकिने खड्काले बताए।
साढे आठ मिटर चौडा सो सडकमा साना तथा ठूला गाडी सञ्चालनमा आउनेछन्। मालवाहक ठूला गाडी हेटौंडा, चितवन, नौबिसे हुँदै काठमाडौं आउने र सामान अनलोड गरिसकेपछि फर्कँदा यो सडक प्रयोग गर्न सक्ने गरी काम भइरहेको छ। बगुवादेखि गंगटेसम्म करिब ५ किलोमिटर सडक फास्ट ट्रयाकमुनि रहेको छ।
अहिले निर्माणाधीन कान्ति लोकपथको ट्रयाक सेनाले २०१३ सालमा नै खोलेको हो। ट्रयाक खोल्न सेनालाई ३ वर्ष लागेको थियो।
२०४८ सालदेखि ०५२ सालसम्म ३२ किमीको हटिया ठिंगन सडक चौडा गर्ने काम सिन्का लामा योजना निर्माण कम्पनीले गरेको हो। पछि ललितपुर डिभिजन सडक कार्यालय र मकवानपुरले सडक मर्मत गरेका थिए। यो सडकको सबै काम भने २०७८ असार मसान्तभित्र सकिने खड्काले बताए।