जनकपुरधाम उपमहानगरपालिकाका सरसफाई कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जनकपुरधाम दुर्गन्धित बन्न थालेको छ । दुई सुत्रीय माग राख्दै सफाई कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि जनकपुरधाम दुर्गन्धित बन्दै गएको हो ।
सफाई कर्मचारीहरु आफुहरुको विगत चार महिनादेखि बाँकी रहेको तलब तुरून्त दिनुपर्ने र स्थायी नियुक्त गर्नुपर्ने माग राख्दै आन्दोलनमा थिए । तर मागको कुनै सुनुवाइ नभएपछि उनीहरू गत आइतबारदेखि पुनः आन्दोलनमा उत्रेका हुन्। आफूहरूको मागमा अहिलेसम्म उपमहानगरले कुनै चासो नदेखाएको आन्दोलनका अगुवा कुशेश्वर मेस्तरले बताए ।
‘ जनकपुरधाम फोहोर बन्दै गएकोमा हामीलाई पनि दुःख लागेको छ तर के गर्नु हामीलाई पनि पारिवारिक दबाब छ कोही बिरामी बच्चालाई लिएर परेशान छ त कसैको घरमा एक छाक खाना समेत अपुग हुने अवस्था आइसकेको छ। यस्तोमा हामीले के गर्ने?', मेस्तरले भने।
उनले आफुहरुसँग आन्दोलन गर्नुको विकल्प नरहेको सेतोपाटीसँग बताए ।
सफाई कर्मचारीहरुको समस्या समाधान गर्न बिहीबार नै करार नियुक्तीका लागि सूचना निकाल्ने बताएकी उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रको भनाइ भनाइमै सिमित भएको आरोप सफाई कर्मचारीहरुले लगाएका छन् ।
आन्दोलनका कारण ५ दिनदेखी जनकपुरधामको फोहोरमैला नउठेपछि जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, शिवचोक, भानुचोक,जनकचोक, जानकी चोकसहितका स्थानमा फोहोरहरु थुप्रिदै गएको छ ।