सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माण भैरहेको नौबिसे–कुविण्डे–चौतारा मोटरबाटोमा अवैध निर्माण सामग्रीको प्रयोग हुँदा समेत सम्बन्धित निकाय मौन छ।
काश्यप निर्माण सेवाको फर्म प्रयोग गरी स्थानीय ठेकेदार घनश्याम नेपालले निर्माण गरिरहेको सो सडकमा दहत्तर बहत्तर (रोडा, बालुवा, ग्राभेल) भिक्नको लागि अनुमति नै नभएको ब्रम्हायणी (जलविरे) खोलाको सामग्री प्रयोग भैरहेको छ।
नदी दोहनमा ख्याती कमाएको जिल्लामा यसरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा पनि स्थानीय निकाय तथा प्रहरी प्रशासन भने आफूहरूलाई यस विषयमा केही थाहा नभएको बताउँछन् ।
सो क्षेत्रको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका ईलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपाल ढकाल आफूलाई यसबारे थाहा नभएको बताउँछन्।
कहिलेकाहीँ मर्निङ वाकको लागि नदी उत्खनन् भैरहेको भनिएको क्षेत्रमा पुग्दा बाटोमा ढुंगा, ग्राभेललगायतको सामग्री देखेको भए पनि आफूले त्यसबारेमा कुनै सोधिखोजी नगरेको स्वीकार्छन् ढकाल।
‘म त्यो बाटो हिँड्दा सामग्री थुपारेको देखेको हुँ,’ प्रहरी निरीक्षक ढकालले भने,‘तर बाटोमा भएको सामान कहाँबाट र कसरी आयो भनेर सोधीखोजी गर्नु मलाई आवश्यक लागेन।’
ठेकेदारले जहाँबाट निर्माण सामग्री ल्याएर बनाए पनि पाउने र त्यसको सबै जिम्मेवारी प्रहरीले लिन नसक्ने उनले बताए।
सबै जिम्मा प्रहरीकोमात्रै नभएकोले स्थानीय निकायले पनि यसबारेमा चासो दिनुपर्ने भन्दै उनी पन्छिए।
तर स्थानीय भने प्रहरीले नदीमा स्काभेटर प्रयोग गरेर सामग्री निकालिरहेको देख्दा पनि नदेखेझैं गरेको अरोप लगाउँछन्।
नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘यहाँका स्थानीयले एक किलो माछा मार्दा पनि प्रहरी उसलाई पक्राउ गरेर लान्छ,’ उनले भने,‘तर ठेकेदारले दिनदहाडै यसरी स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्री निकाल्दा समेत प्रहरी केही गर्दैन।’
नदीजन्य दहत्तर बहत्तर उत्खननसम्बन्धी मापदण्ड अनुसार नदीमा स्काभेटर तथा डोजर प्रयोग गरी रोडा, ढुंगा तथा बालुवा निकाल्न पाइँदैन।
त्यस्तै, स्काभेटर वा डोजरको प्रयोग गरी नदीको सतहभन्दा १ मिटर गहिरो जाने गरेर समेत उत्खनन् गर्न पाइँदैन भने पक्की पुलको आसपाससमेत यस्ता सामग्री निकाल्न पाइँदैन।
त्यस्तै, स्थानीय निकाय र जिल्ला समन्वय समितिको अनुमति प्रदान गरेको नदीमा मात्रै यस्ता सामग्री निकाल्न पाइन्छ।
ब्रम्हायणी नदीको सो क्षेत्र चालू आर्थिक वर्षमा दहत्तर बहत्तर प्रयोग गर्नको लागि खुला नभएको र सो क्षेत्रमा उक्त सामग्री प्रयोग गरेमा सामग्री जफतका साथै जरिवानासमेत गरिने जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले बताए।
‘त्यस विषयमा मलाई अहिलेसम्म केही जानकारी छैन,’ प्रमुख तामाङले भने,‘यदि त्यसरी प्रयोग गरेको पाइएमा हामी कारबाहीको प्रक्रिया अगाडि बढाउछौं।’
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष चुडामणि नेपालले पनि आफूलाई यसबारेमा केही थाहा नभएको बताए।
‘म वडाका नियमित काममा नै व्यस्त हुन्छु,’ वडा अध्यक्ष नेपालले भने,‘यसबारेमा मलाई अहिलेसम्म कसैले पनि केही जानकारी दिएका छैनन्।’
यस्तो क्रियाकलापको सम्बन्धित कार्यालायबाट नै निरीक्षण हुनुपर्ने भन्दै वडा अध्यक्ष नेपालले आफूलाई समयमै काम सक्नुपर्ने र काम गुणस्तरीय हुनुपर्नेमा मात्रै ध्यान रहेको बताए।
निर्माण सामग्रीको विषयमा कुरा गर्दा जिल्ला पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठले उक्त निर्माणमा प्रयोग भएको सामग्रीको परीक्षण समेत नगरिएको बताए। दुई सेक्सनमा भइरहेको सो आयोजनामा प्रयोग भएको निर्माण सामग्रीको परीक्षण नै नगरी प्रयोग भैरहेको श्रेष्ठले बताए।
सो आयोजनाको साइट इन्जिनियर मैना राइले भने ग्याविन जालीको परीक्षण भएको तर खोलाको ढुंगा प्रयोग भएकोले फुटालेर हाल्दा परीक्षण गर्नु जरुरी नभएको बताइन्।
‘खानीको ढुंगा हो भने चाहिँ परिक्षण गर्नुपर्दछ,’ इन्जिनियर राईले भनिन्,‘खोलाको ढुंगा प्रयोग गरेकोले हामीले त्यसको परीक्षण गरेका छैनौं।’
ब्रम्हायणी नदीको सो क्षेत्रमा अहिलेसम्म कुनै पनि स्थानीय निकायले उत्खनन् अनुमति दिएको छैन।
यसरी गैरकानुनी रूपले नदी उत्खनन् गर्दा पनि प्रहरीलगायत स्थानीय निकायले कुनै कदम नचाल्नुलाई स्थानीयले चर्को विरोध गरेका छन्।