‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरू भएको छ।
भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ।
नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन्। गत फागुनको दोस्रो सातादेखि सुरू भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ।
सम्भवतः यही जेठ १७ तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ।
विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरूपमा स्थापित हुँदैछ। भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनर्निर्माण भइसकेको छ। भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन्।
होटल, गेस्टहाउसहरूमा पनि नयाँ मान्छे देखिन थालेका छन्। थप केही स्थानमा सडक पुनर्निर्माणको काम भइरहेको छ। नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन्। उनीहरूको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ। वर्षौं नाका नखुल्ने भयो भनेर पलायन भएकाहरू फर्किएर आएका छन्।
नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो। नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन्। ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन्।
मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ। केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुख्खा बन्दरगाहमा सर्नेछन्। सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ।
चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बसेका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी छन्। भन्छन्, ‘भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए। असाध्यै कष्ट थियो। मानिसहरू पीडामा थिए। विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो। यतिखेर पुनःनाका खुल्न लागेको छ।’
कार्यालय सहयोगीका रूपमा रहेका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा छन्।
भोटेकोशी गाँउपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा स्थानीयवासीले धेरै सास्ती भोग्नुपरेको स्मरण गर्छन्।
‘व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र ? हामीलाई त्यस्तै भयो। हजारौंको रोजगारी खोसियो, देशले ठूलो राजस्व गुमायो। व्यापार व्यवसाय चौपट भयो’, वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे जे गर्नुपर्छ सबै गर्न म तयार छु।’
नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए। दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान बाध्य भए। होटल व्यवसाय चौपट भयो। सीमा क्षेत्रमा नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका।
गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्छन्, ‘हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौं। लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ। छिमेकी देशविरूद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन।’
गाँउपालिकाले नै सीमा क्षेत्रमा अरनिकोको मूर्तिसहितको आकर्षक गेट बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी थालेको छ। भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको सङ्ख्यामा पनि बढोत्तरी भएको छ।
नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ।’
भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ।
सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए।
‘केही प्राविधिक काम भइरहेको छ। कार्यालय तयारी हालतमा छ। कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ।’
गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भने, ‘लामो समयपछि खुल्न लागेको नाकालाई व्यवस्थित बनाउन त केही समय लाग्ला तर तत्कालका लागि हामीले आवश्यक व्यवस्थापन गरिसकेका छौं।’ (रासस)