गत वर्ष जनकपुर जयनगर रेल सेवा सञ्चालन हुने कुराले खुबै चर्चा पायो। रेल विभागले सुरुमा गत असोजदेखि सञ्चालन आउने बता एपनि पछि २०७६ वैशाखदेखि सञ्चालन हुने दाबी गर्यो।
०७६ जेठ दोस्रो साता बित्दा पनि जनकपुर-जयनगर रेल चल्ने छाँटकाँट देखिएको छैन्।
प्रथम चरण अन्तर्गत जनकपुर जयनगर–कुर्था, दोस्रोमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) मा रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना पूरा गरी सञ्चालन गरिने रेल विभागको योजना भए पनि उक्त योजना तत्कालै पूरा हुने सम्भावना न्यून भएको छ।
रेल विभागका इन्जिनियर विनोद ओझा भन्छन् ‘परवाहा, जनकपुर र कुर्थामा लेभल क्रसिङको काम बाँकी नै छ भने इलेक्ट्रिसिटी काम पनि पूरा हुन सकेको छैन्।’
‘रेल गुडाउनु पहिला कम्पाउण्ड वालहरू बनाउनु पर्ने हुन्छ, त्यो काम पनि बाँकी नै छ,’ उनले सेतोपाटीसँग भने।
त्यसैगरी रेल होल्ट गरिने स्टेशनहरूमा शौचालय निर्माणको काम पनि पूरा भएको छैन।
तीन चरणमा भइरहेको रेल्वे परियोजनाको काम अन्तर्गत दोस्रो चरण अन्तर्गत कुर्थादेखि भंगहासम्मको रूटमा ट्रयाक बिछ्याउने, ब्लास्ट हाल्ने काम जारी रहेको इन्जिनियर ओझाले जानकारी दिए । रेल चल्ने कुरा एक वर्षदेखि नै चलेको भए पनि अहिलेसम्म पनि कुनै प्रकारको छाँटकाट नदेखिनु दुखद रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की रेणु देवीले बताइन्।
‘हामी विगत पाँच वर्षदेखि त आशै मारिसकेका थियौँ तर गत वर्ष रेल चल्ने कुरा चले पनि यात्रा गर्न सहज हुन्छ भन्ने सोचेकी थिएँ तर अहिले पनि त्यस्तै छ’, उनले भनिन्।
वैशाखदेखि नै रेल चलाउने गरी काम भए पनि भारतमा केही दिनअघि भएको लोकसभा चुनावले रेल्वेको काम सुस्तता आएको विभागका इन्जिनियर ओझाले बताए। ‘सबै काम भारत सरकारको सहयोगमा भइरहेकाले मजदुरदेखि मिस्त्रीसमेत भारतीय छन्। उनीहरू मतदान गर्न गए,त्यसमै धेरै समय खेर गयो,’ उनले भने।
रेल्वे उद्घाटन मोदीले गर्ने हल्ला
सुरूमा रेल्वेको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कुरा चलेको थियो। पछि उनको साटो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने चर्चा भयो। योगी जनकपुरधाम आए तर रेल उद्घाटन गर्ने गरी तयारी भइसकेको थिएन।
अहिले फेरि भारतीय प्रधानमन्त्री मोदी रेल्वेको उद्घाटन गर्ने कुरा चलिरहेको छ।
तर विभागका इन्जिनियर विनोद ओझाले रेल विभागमा यसबारे कुनै जानकारी नआएको बताए।
'उद्घाटन कसले गर्ने, के गर्ने हामीलाई केही थाहा छैन्', उनले भने।