महिनावारीका कुराः
अभिनेत्री ऋचा शर्मा पहिलोपटक महिनावारी हुँदा ११ वर्षकी थिइन्।
पहिलोपटक महिनावारी भएपछि समुदायअनुसार पाँचदेखि तेह्र दिनसम्म अँध्यारो कोठामा लुकाएर राख्ने चलन हाम्रो समाजमा छ।
काठमाडौं सहरको शिक्षित परिवारमा जन्मेकी ऋचा पनि यो चलनबाट अलग्गिन सकिनन्।
बीस वर्षअघि घरको अँध्यारो कोठामा निस्सासिँदै बस्नुपरेका तो तेह्र दिन-रात आज पनि उनलाई छर्लङ्ग छ।
'त्योबेला घरभित्रको चर्पी जान दिइएन,' उनले ती अप्ठ्यारा दिनका अनुभूति बाँड्दै भनिन्, 'बाहिरको सानो चर्पी जाँदा अरू कसैलाई छोइन्छ भन्ने डरले हातले चुड्की बजाउँदै त्यहाँसम्म मलाई डोर्याइन्थ्यो।’
ऋचा ३१ वर्ष भइन्। यी बीस वर्षमा उनले धेरै महिनावारीका दिन काटिन्। उनका यी महिनावारीका सामाजिक पीडा हामीलाई नौलो नलाग्न सक्छ। छाउ प्रथाका कारण महिलाहरूले ज्यान गुमाएको खबर दिनहुँ जसो सुन्दै आएका हामीलाई ऋचाका जस्ता समस्या सामान्य लाग्न सक्छन्।
'तर यस्तै स-साना मान्यताहरू नै बढ्दै कुरीतिको रूप लिन्छन्,' उनले भनिन्, 'विषालु झार बढ्दै गए त्यसको छायाले समेत मान्छेलाई विषाक्त बनाउँछ।'
गाउँँको कुरा छाडौं, सहरमै, अझ शिक्षित परिवारमै पुरूषलाई, खानेकुरा, बोटबिरूवा छुन नहुनेदेखि भान्साकोठा र मन्दिर छिर्न, दूध-दही खान नहुने जस्ता कुचलन जरा गाडेर बसेका छन्। सुत्ने ओछ्यान र खाने भाँडाकुँडा समेत अलग्गै राखिन्छ।
'जति नै शिक्षित भए पनि महिनावारीका विषयमा खुलेर कुरा गर्न हिच्किचाउँछन्। सामान्य प्राकृतिक प्रक्रियाका रुपमा लिन नसकेर के-के न बिगार्ने झैं गर्छन्,' ऋचाले भनिन्, 'सहरका नयाँ पुस्ताले अचेल आमा वा दिदीबहिनीसँग भन्न सक्ने वातावरण विस्तारै बन्दैछ। तर दाजुभाइ वा बुबासँग सक्दैनन्। परपर पन्छिन्छन्।'
हाम्रो मस्तिष्कमा 'सेट' भएका यी अन्धविश्वास प्रजनन स्वास्थ्य शिक्षा अभावले सिर्जना भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा बताउँछिन्।
'महिनावारी कुनै पाप-श्राप होइन। सामान्यतया दस वर्ष उमेर कटेपछि छोरीहरूको शरीरमा हर्मोन परिवर्तन हुन्छ। यसले महिनावारी सुरू गराउँछ,' डा. शर्माले भनिन्, 'यो रक्तस्रावलाई प्रायः मान्छेले शरीरको फोहोर भन्छन् जुन अत्यन्तै गलत विश्वास हो।'
फोहोर भन्ने गलत धारणाले गर्दा नै धेरै मान्छेहरू 'सरसफाइ' का नाममा महिनावारी बेला छोइछाइ गर्ने गरेको उनी बताउँछिन्। र, यही छोइछाइले छोरीहरूको स्वास्थ्यमा समेत खेलवाड गरिरहेको छ।
महिनावारी हुँदा शरीरबाट रगत बग्छ। पेट दुख्छ। शरीर कमजोर हुन्छ। यो बेला शरीरलाई झोलिलो र पोषिलो खानेकुरा चाहिन्छ। तर हामीकहाँ यस्ता खाना समेत बारिन्छ। यसले छोरीहरूको स्वास्थ्यमा दीगो असर पारेको छ।
उनी भन्छिन्, 'महिनावारीमा हुने रक्तस्रावले शरीर कमजोर बनाएको हुन्छ। त्योबेला दालभातका साथै दूध-दही, माछामासु, हरियो सागपात, गेडागुडी जस्ता प्रोटिनयुक्त खानपिन जरुरी छ।’
धेरैलाई त यी कुरा थाहा हुँदाहुँदै पनि आफूलाई स्वस्थ राख्न चुकिरहेका हुन्छन्।
डा. शर्माका अनुसार महिनावारीको अर्को मुख्य समस्या सफा प्याड प्रयोग नगर्नु हो।
'गुणस्तरीय र सफा प्याड प्रयोग गर्न एकदमै जरूरी छ। तर गाउँघरमा चेतनाको कमी र धेरैले आर्थिक समस्याका कारण पुराना फोहोर कपडा प्रयोग गर्छन्। यसले संक्रमण हुने सम्भावना बढ्छ। विस्तारै पाठेघरसम्म फैलिँदै बाँझोपन जोखिम समेत बढाउँछ,' डा. शर्माले भनिन्।
प्याड कपडाकै भए पनि केही हुँदैन तर सफा भने हुनुपर्ने उनी बताउँछिन्। त्यस्तै महिनावारी बेला हुँदा गुप्ताङ्गको सरसफाइमा पनि विशेष ध्यान पुर्याउन आवश्यक छ। हरेक चार घण्टामा प्याड परिवर्तन गर्नुपर्छ र गुप्ताङ्ग सफा गर्नुपर्छ। सफाइ क्रममा कुनै साबुन वा डेटोलभन्दा सफा पानी मात्र प्रयोग गर्नु राम्रो हुन्छ।
'यस्तै सामान्य ज्ञानको कमी र व्यवहारमा लागू नहुँदा आज हरेक चारमध्ये तीन महिला संक्रमणको शिकार हुन्छन्,' उनले भनिन्, 'त्यस्तै संक्रमण बढ्नुको अर्को मुख्य कारण समय-समयमा स्वास्थ्य परीक्षण गर्ने चलनै नहुनु हो।'
उनका अनुसार सामान्यतया स्वस्थ रहन महिलाले छ-छ महिनामा योनी जाँच गराउनु राम्रो हुन्छ।
'तर नेपालमा यो चलनै छैन। हामी ठूलै समस्या वा रोग भएपछि मात्र अस्पताल पुग्छौं। जचाउन आउँदा ढिलो भइसकेको हुन्छ। त्यसैले पाठेघर संक्रमण समस्या बढ्दै गएको छ,' उनले भनिन्।
यसका लागि मान्छेहरूलाई 'महिनावारी शिक्षा' दिइनुपर्ने उनको भनाइ छ। अभिनेत्री ऋचा पनि यसमै जोड दिन्छिन्।
'बजारमा प्याड पूरै पोको बनाएर लुकाएर किनबेच हुन्छ। न बेच्नेले सहज मान्छ, न किन्नेले,' ऋचाले भनिन्, 'कुरा गर्न समेत हामी लजाउँछौं। स्कुले पाठ्यक्रममा पनि यी कुरा खुलस्त छैनन्। हामीले प्रजनन शिक्षाको पाठ नै राम्ररी बुझ्न पाएनौं। शिक्षक-शिक्षिकाले आफैं पढ भन्थे। यसले महिनावारीलाई थप असामान्य बनाइरहेको देखिन्छ।'
यसपालि बजेटले सबै समुदायिक विद्यालयमा निःशुल्क प्याड वितरण गर्ने भनेको छ। ऋचा र डा. नुतन शर्मा यो प्रयास सराहनीय भए पनि थप काम गर्न जरूरी रहेको बताउँछन्।
'स्कुलमा प्याड प्रयोग गर्नेहरूले घर फर्केपछि पुराना कपडा लगाउन बाध्य हुन्छन्। उनीहरूलाई पनि गुणस्तरीय प्याडको सुविधा हुने व्यवस्था मिलाइनुपर्छ,' उनीहरू दुवै भन्छन्।
घरपरिवारबाट भावनात्मक सहयोग नपाउँदा पनि सानो उमेरदेखि नै छोरीहरूको मानसिकतामा दबाब परी आत्मविश्वासमा कमी आउँदै जाने उनी बताउँछिन्।
'प्रजनन स्वास्थ्यमा सबभन्दा पहिले परिवारले समर्थन गर्नुपर्छ। छोराछोरीसँग बसेर खुलेर कुरा गर्नुपर्छ,' ऋचा भन्छिन्, 'तपाईंका छोरीहरूलाई यी सबैको खाँचो छ। छोराहरूलाई पनि बुझाउनुहोस् ताकि उनीहरूले बेलैदेखि महिनावारीलाई सहज मान्दै जाऊन्।'