धनुषाको हंशपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई छुवाछूत मान्ने गरेको आरोप लागेको छ।
नगरपालिकाकै कर्मचारी वडा नम्बर ३ की ५५ वर्षीया कुनादेवी डुमले आफूले छोएको पानी प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेनु झाले नपिएको भन्दै जनप्रतिनिधिले नै छुवाछूत मान्ने गरेको आरोप लगाएकी हुन्।
‘मेयर, उपमेयरले मैले छोएको पानी पिउनुहुँदैन। मलाई तल्लो जातको भनेर हेप्नुहुन्छ,’ नगरपालिकामा सरसफाइ कर्मचारीको रूपमा कार्यरत उनले भनिन्, ‘अबदेखि पानी लिएर नआउ भनेर मलाई भन्नुहुन्छ।’
यतिमात्र होइन नगरपालिकाले डुमलाई पारिश्रमिक पनि पूरा नदिएको आरोप छ। मासिक १० हजार पारिश्रमिक दिने मौखिक सहमति भए पनि पाँच हजारमात्रै दिने गरेको डुमले गुनासो गरिन्।
नगरपालिकाले आफूलाई अहिलेसम्म ३० हजार दिएको उनको भनाइ छ।
‘नियमित काम गरिराखेको छु तर तलब आधामात्रै दिने गरेका छन्,’ उनले भनिन्।
तर नगरपालिकाका प्रमुख मण्डलले तल्लो जातको भनेर डुमलाई कहिल्यै नहेपेको र छुवाछूत नगरेको दाबी गरेका छन्।
‘उहाँले ल्याएको पानी पिउने गरेको छु,’ उनले भने, ‘कुनोदेवीले ममाथि लगाएको आरोप झूटो हो।’
उनले तलब खुवाउन पैसाको अभाव भएकोले नगरपालिकाले माघसम्मको पैसा दिएर काम छोड्न भने पनि उनले नियमित काम गरिराखेको बताए।
छुवाछूतकै कारण पानी पिउनुहुन्न रे नि हो? भन्ने प्रश्नमा उपप्रमुख झाले कार्यालय छेउमा आफ्नो घर भएकोले कुनोदेवीको हातबाट कार्यालयमा खाजा पानी खाने मौका नमिलेको प्रतिक्रिया दिइन्।
‘छुवाछूतविरूद्ध अभियान नै चलाएको मान्छेले छुवाछूत मान्ने कुरा नै भएन नि,’ उनले भनिन्, ‘मैले छुवाछूत मानेको छैन।’