जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको कार्यकक्षमा बसिरहेका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर बस्नेतको टेबुलमा दुई वटा नाकगरिकताको सिफारिस आइपुग्यो।
नियमानुसार नागरिकता बनाउन आउने व्यक्ति स्वयम् सिफारिसका साथ कार्यालयमा आउनुपर्छ। सो सिफारिसको साथमा सनाखत गर्ने व्यक्ति मात्रै देखेपछि अधिकृत बस्नेतले सम्बन्धित व्यक्ति खोज्न थाले।
‘सर हामी यता छौँ’ भन्ने आवाज सुनेपछि बस्नेतले यताउता हेरे। जब उनले नागरिकता बनाउन आएका दुई दिदीबहिनीलाई टेबुलले छेकिएको अवस्थामा देखे तब बस्नेत अन्यौलमा परे।
जम्मा तीन फिट उचाइका, टेबुलले नै छेक्ने दुई दिदीबहिनीलाई देख्दा उनले कम उमेरका बालिकालाई कसरी नागरीकता दिन मिल्छ भनी अकमक्क परे। नागरिकता सनाखत गर्न आएका गणेश बहादुर श्रेष्ठले सबै कागजातसहित उनीहरु बालिग नै भएको पुष्टी गरेपछि बस्नेत नागरिकता दिन तयार भए।
प्रसङ्ग, हो सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ८, सिपापोखरेका २१ वर्षीय रिना श्रेष्ठ र १८ वर्षीय मनिषा श्रेष्ठको। जन्मदा सामान्य रुपमै जन्मिएका उनीहरु हुर्कँदै जाने क्रममा भने अन्य साथीहरुको तुलनामा बढ्न सकेनन्।
२०५५ सालमा जन्मिएकी रिना र ०५८ मा जन्मिएकी मनिषा दुवैको उचाई तीन फिट छ इन्च मात्रै छ। रिनाको तौल २६ केजी र मनिषाको तौल उमेर बराबर अर्थात १९ केजी मात्रै छ।
उनीहरु दुवै जनाले २०७३ सालमा सिपापोखरे स्थित राजेश्वरी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उतिर्ण गरिसकेका छन्। एसइइमा दिदी रिनाको जिपिए २.२५ छ भने बहिनी मनिषाको २.०५ छ। उनीहरुले पाटनढोकास्थित पाटन माध्यामिक विद्यालयबाट यसै वर्ष कक्षा १२ को परीक्षा समेत दिइसकेका छन्।
बुबा हस्तबहादुर र आमा मनकुमारीको तीन सन्तान मध्ये दुवैजना छोरी कम उचाइ र तौलका छन । एक जेठा छोरा भने सामान्य नै छन्। अन्य साथीको तुलनामा उचाई नबढेको थाहा पाएपछि उपचारको प्रयास गरिएको ठुलाबा गणेश बहादुर श्रेष्ठले बताए।
‘उचाई नबढेको थाहा भएपछि अस्पतालमा लगेर केही रोग छ कि भनेर भिडियो एक्सरे गर्यौँ, गणेशले भने ‘तर शरिरमा कुनै रोग नदेखेपछि केही उपाय लागेन।’
उचाइ कम भएकै कारण दुवै दिदीबहिनीले निकै सास्ती समेत भोगेका छन्। पैदल यात्राका क्रममा मान्छे फर्कीफर्की हेर्ने गरेको र गाडीको यात्रामा पनि समस्या खेप्नुपरेको उनीहरु बताउँछन्।
‘गाडीमा चढ्न नै समस्या हुन्छ,’ रिनाले भनिन् ‘सिट नपाएर उभिनु पर्यो भने त भिडभाडमा गाह्रो हुन्छ।’ बहिनी मनिषाको पीडा पनि उस्तै छ। घर वा विद्यालयमा माथि राखिएको सामान झिक्दा वा साथीहरुसँग हिँडडुल गर्दा असहज हुने गरेको उनले बताइन्।
‘घरमा आफूले खाना पकाउँदा त ग्यास चुल्हो नै भुँइमा राखेर पकाउने गरेका छौँ’ बहिनी मनिषाले भनिन् –‘तर अन्य कार्यालय, बैंक, पसल लगायतका ठाउँमा जाँदा भने समस्या हुने गरेको छ।’ राजेश्वरी मावि र पाटन माविले छुट्टै बेन्चको समेत व्यवस्था गरेर सहयोग पुर्याएको उनीहरुले बताए।
दुवै दिदीबहीनीको इच्छा नै कलाकारिता गर्ने रहेको छ। नागरिकता बनाउन चौतारा आइपुगेका बेला सेतोपाटीसँग कुरा गर्दै दिदी रिनाले भनिन् ‘मोडलिङ गर्नका अफर पनि आएको हो, तर भिडियो सुटिङको लगानी आफैले गर्नुपर्छ भनेपछि छाडिदियौँ।’
पाटनमा दिदी पवित्रा र भिनाजु रामकुमार श्रेष्ठको साथमा बसेर उच्च शिक्षा अध्ययन गरिरहेका दुवै दिदीबहीनीको इच्छा नै कलाकार बन्ने छ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता दिँदै अधिकृत बस्नेतले उनीहरुको कलाकार बन्ने इच्छालाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए।