सरकारले असार १ गतेदेखि बढाउने भनिएको सार्वजनिक यातायातको भाडा तत्काल लागू नहुने भएको छ।
यो निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले असार १ गतेदेखि लागू गर्ने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने भएको हो।
यातायात व्यवस्था विभागले अधिकतम् १२ प्रतिशत भाडा बढाएको थियो। यस्तै, ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ निश्चित गरिएको थियो। त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो।
यस विषयमा विभाग प्रवक्ता तीर्थराज खनालले तत्कालको निर्णयबारे जानकारी गराइसकेको बताए। उनले भने, ‘विभागको नयाँ निर्णयबारे हामीलाई जानकारी छ, यसबारे हामीले जानकारी दिइसकेका छौं। तर, यो निर्णय के कसरी लागू हुन्छ भन्ने विषयमाथि हामी छलफल गर्दैछौं।’
विभागको निर्णयमा असन्तुष्टि जनाउँदै ट्याक्सी व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका थिए। यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढेको विषयमा औपचारिक जानकराी नभएको र छलफल नगरी निर्धारण गरेको महासचिव सरोज सिटौलाले बताए।