जनकपुरधामकी सीमा (नाम परिवर्तन) सिंढ़ीबाट लडिन् र उनको खुट्टा 'फ्याक्चर' भयो।
सीमा आफैँ सिढ़ीबाट लडेकी होइनन्, उनको श्रीमानले प्रायः उनलाई कुटपिट गरिरहन्छन्। त्यही क्रममा सीमालाई पिट्दा पिट्दै सिंढीबाट तल लडाइदिए।
छोरी सिंढीबाट लडेको खबर सुनेर उनकी आमा जनकपुरधाम आइपुगिन्। सीमाले आफू सिढ़ीबाट खुट्टा चिप्लिएर लडेको भनी आमालाई ढाँटिन्। तैपनि सीमाको ६ वर्षीय छोराले भने बाबुले पिटेर लडाइदिएको बताए।
सीमाकी आमाले उनलाई आफूसँगै घर लगिन्। सीमाका लागि यो कुरा नौलो थिएन। उनी महिनामा करिब २० दिन त श्रीमानको गालीगलौज र पिटाई सहेर बस्छिन्।
यो हिंसाबारे प्रहरीमा किन उजुरी गर्नुहुन्न ? भन्ने प्रश्नमा उनले भनिन् ‘प्रहरीमा उजुरी गरे आफू र घरपरिवारको बद्नामी हुन्छ, फेरि श्रीमानसँग बस्नु नै पर्छ त्यसैले पिटाई खाएर पनि घर जोडेर बसिरहेकी छु।’
जनकपुरधामकै ४० वर्षीया सुखनी (नाम परिवर्तन) पनि श्रीमान र परिवारका सदस्यबाट कम पीडित महिला होइनन्। ३ छोराछोरीकी आमा सुखनीलाई उनका श्रीमानले न त आफुसँगै राख्न चाहन्छन् न त उनलाई राम्ररी बस्न दिएका छन्।
एक छोरालाई श्रीमानले आफैसँग राखेका छन्। एक छोरी र एक बोल्न नसक्ने छोराको जिम्मा सुखनीलाई लगाइदिएका छन्। हुन त सुखनीले प्रहरीकोमा उजुरी नगरेकी होइनन् तर त्यहाँबाट खासै सहयोग भने पाइनन्।
‘पटक पटक कुटपिट गर्दा प्रहरीले समातेर लगेका छन् र भोलिपल्ट नै श्रीमानलाई घरका अन्य सदस्यहरुले छुटाएर ल्याउँछन्’ उनले सेतोपाटीसँग भनिन्।
सुखनी भन्छिन् ‘न आफैँले कमाएर दिन्छन्, न मलाई नै कमाउन दिन्छन्, कलबाट पानीसम्म दिदैँनन्, कहिलेकाही बनाएको खानासमेत फ्याँकिदिन्छन्, आफू भोकै बस्नुपर्छ।’
छोराछोरीहरुको जन्मदर्ता नहुँदा शिक्षाबाट समेत वञ्चित भएका छन्। सीमा र सुखनी प्रतिनिधि पात्र मात्रै हुन्। कयौ सीमा र सुखनीहरु घरेलु हिंसा सहेर प्रताडि़त बनिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको पछिल्लो दुई वर्षको तथ्यांक केलाउँदा आर्थिक वर्ष २०७५/०७६ मा घरेलु हिंसा बढेको देखिन्छ।
तथ्यांकअनुसार आव २०७४/०७५ मा ५१० वटा घरेलु हिंसाका घटनाहरुको उजुरी परेको छ। जसमध्ये ४२३ वटा उजुरीको मिलापत्र भैसकेको छ भने दुई वटा उजुरी मुद्दाको रुपमा दर्ता गरिएका छन्।
आव ०७५/०७६ मा घरेलु हिंसाको उजुरी बढेर ६१४ पुगेको छ। जसमध्ये ४ सय उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले महिलाहरुमा हिंसा सहनु हुँदैन भन्ने जागरुकता बढेकोले नै उजुरी पहिलेभन्दा बढी आउन थालेको दाबी गरे।
उजुरी बढी दर्ता हुनुलाई हिंसा बढेको भन्न मिल्ने भएपनि महिलाहरुमा जागरुकता समेत उत्तिकै बढ्दै गएको प्रवक्ता कार्कीले बताए।