विभिन्न जिल्लामा भएका चार वटा हत्याका घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पर्सा, कैलाली, अछाम र जाजरकोटबाट पाँच जनालाई पक्राउ गरिएको हो।
पर्सा: आफ्नै ४० वर्षीया आमा शोभादेवी यादवको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका-२४ रानीघाटका २० वर्षीय गुड्डु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रानीघाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गुड्डुलाई पक्राउ गरेको हो।
कैलाली: चुरे गाउँपालिका-६ मुद्दा बस्ने गुल्मीका ४५ वर्षीय कमल कुँवरको चिर्पट प्रहार गरेर आइतबार हत्या भएको थियो। सो अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय लालबहादुर लामा र उनकी श्रीमती २६ वर्षीया कल्पना लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त क्षेत्रमा लेवर काम गर्दै आएका कमलको हत्या गरी उनीहरूले घरदेखि करिब ५० मिटर दक्षिणमा रहेको खोलामा लगेर गाडेका थिए।
अछाम: मंगलसेन नगरपालिका-१ कुन्ती बण्डाली ढुङगानी गाउँ बस्ने ५५ वर्षीय वीरमान थापा र ७२ वर्षीय देवसिंह साउदलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय पिरमकुमार साउद बुधबार बिहान पक्राउ परेका छन्।
ससुरा नाता पर्ने वीरमान र ठूलोबुबा देवसिंहको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिरम कुमारलाई पक्राउ गरेको हो।
जाजरकोट: भेरी नगरपालिका-१३ सुनार टोल बस्ने ४५ वर्षीय मोहन सुनारलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय मानबहादुर सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण मोहनलाई बुधबार बिहान ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ।