कमला नदीको ५० मिटरको दूरीमा दलित बसोबास गर्ने सुन्दरपुर टोल छ, जहाँ लगभग ५०/६० जना घर परिवारहरू बसोबास गर्छन्।
प्रत्येक वर्षायाममा सुन्दरपुर टोल भने त्यहाँका स्थानीयवासीका लागि पीडादायी र कुरूप बन्छ, बाढीबाट।
यसपटक पनि सुन्दरपुर टोलवासी यस पीडाबाट अछुतो रहेनन्।
मिसरीलाल मुखियाको घर सुन्दरपुर टोलमै छ। उनको घरमा ६ जना सदस्य छन्। सुन्दरपुरमा कमला नदीमा आएको बाढीले घर डुबानमा पर्दा उनको लगभग १० क्विन्टल धान नै नष्ट भयो। अरू कति सामानमा क्षति भयो यकिन छैन।
मिसरीलाल भन्छन्, ‘शनिबार बिहान हामी ५ बजे उठ्दा चारैतिर पानी नै पानी थियो, हामी हत्तपत्त उठ्यौं घरमा भएका केही सामानहरू खाटमा राख्यौं र हाइवेछेउमै बस्न बाध्य भयौं।’
बाढीको पानी ५ फिटभन्दा बढी घरबाहिर र भित्र पसिसकेकाले हामी खाने सामग्री समेत निकाल्न सकेनौं अहिले एकदमै बिजोग भएको छ, खान लाउनलाई’, मुखियाले सेतोपाटीसँग भने।
मिसरीलाल त एक प्रतिनिधि पात्रमात्र हुन् बाढीको पीडाबाट त्यहाँका करिब ५०/६० घर परिवारले अहिले त्यस्तै पीडा भोग्नुपरेको छ।
सुभदी सदा पनि सुन्दरपुरबाट विस्थापित भएकीमध्ये एक हुन्।
घरमा बाढी आएपछि आफ्नो छोराछोरीहरूलाई उनले माइती पठाइन्।
‘भएभरको सामान घरमा छ, खान लाउन केही छैन, बास बस्ने ठाउँको ठेगान छैन कसरी राखुँ उनीहरूलाई यहाँ सडकछेउमा’, सुभदीले भनिन्,‘जसले सहायता गर्न चाहन्छन् उनीहरूलाई पनि यहाँका उपमेयर र वडा अध्यक्षले सहयोग गर्न दिनुभएन उहाँहरू भन्नुहुन्छ स्कुलमा गएर बस, कसरी बसुँ सबथोक घरमा छन्, यहाँ सडक छेउमा बसेर कमसेकम सामानको हेरचाह त गर्न सक्छु, त्यति टाढा गए कसरी घर र सामानको सुरक्षा गरुँ तपाईं नै भन्नुस्।’
विस्थापित भएका दलितहरूलाई न त राम्रो खानपानको व्यवस्था गरिएको छ न त राम्रो त्रिपाल नै दिइएको छ।
केहीलाई उक्त वडाका अध्यक्ष कपिलेश्वर यादवले पातलो प्लाष्टिकको त्रिपाल दिएका छन्।
उक्त टोलमा प्रत्येक वर्ष कमला उर्लिएर बाढी पसे पनि त्यहाँका स्थानीय तह भने प्रत्येक वर्ष मस्त निद्रामै हुन्छन्।
स्थानीय तहमा प्रतिनिधि आए सेवा सुविधा सहज हुने आशा बोकेका जनताको आशालाई निराशामा परिणत गरिदिएका छन् कर्जन्हाका स्थानीय जनप्रतिनिधिहरूले ।
‘पानी सुरू भए पनि अस्ति (शुक्रबार) वडा अध्यक्ष आउनुभयो, जेसिभी लिएर कमजोर भएको तटबन्ध थुन्न तर त्यो पनि गर्न सक्नुभएन। हामीलाई जानकारी समेत गराउनुभएन कि तटबन्धलाई थुन्न सकेनौं भनेर। हामी त उहाँकै विश्वासमा थियौं। बिहान ५ बजे नै नउठेको भए हामी सबै सायद मर्ने नै थियौं’, उक्त बस्तीमै बसोबास गर्दै आएकी ३८ वर्षीया शिव राईले भनिन्।
वडा अध्यक्षलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरिन्।
‘अस्ति (शुक्रबार) बिहानैदेखि पानी परिरहेको थियो, यसका लागि वडा अध्यक्षलाई पटक/पटक सम्पर्क गर्दा समेत आउनु भएन, पछि मैले आफ्नो भाइलाई उनको घरमा पठाए त्यसपछि साँझमा बल्लतल्ल जेसीभी लिएर आउनुभयो, अनि अध्यक्ष स्वयं नै जेसिभी लिएर आएपछि खोला थुन्नदिएको होला भनेर राति मज्जाले सुत्यौं तर बिहान उठ्दा त हामी पानी नै पानीको बीचमा थियौं।’
वडा अध्यक्ष यादवले भने टोलवासी आफ्नै कारणले गर्दा डुबानमा परेको दाबी गर्छन्।
उनी भन्छन्, ‘सुन्दरपुर टोलवासी आफ्नै कारण डुबानमा परेका छन् हामीले जेसिभी ल्यायौं तर जेसिभी खोला थुन्ने ठाउँसम्म पुग्न सक्ने अवस्था नभएर हामीले फर्कायौँ, टोलवासीलाई खोला थुन्नका लागि आ–आफ्नो घरबाट सहयोग मागे पनि उनीहरू सहयोगी नभइदिएकै कारण यसपालि फेरि यस्तो समस्या उत्पन्न भएको छ।’
आफूहरूले सुरक्षित स्थानमा जान अनुरोध गरे पनि स्थानीयले नटेरेको उनको जिकिर छ।
‘हिजैदेखि विद्यालयमा जानका लागि हामीले आग्रह गरिरहेका छौं, तर यिनीहरू जान मानिरहेका छैनन् हामी के गरौं सडक छेउमा गाडी बस दिनरात चलिरहेको छ दुर्घटना हुने खतरा छ, तर पनि जान मानिरहेका छैनन्,’उनले भने।
आफूहरूले जति सकिन्छ खानाको प्रबन्ध गरिदिएको उनले बताए।
‘हामीले बाढी पीडित सबैका लागि विद्यालयमा खाना बनाउन लगाएका छौं। यहाँ पनि चिउरा, भुजा, चिनी पठाएका छौं, हामी सके जति गरेकै छौं’, उनले भने।
सुन्दरपुर बस्ती प्रत्येक वर्ष डुबानमा पर्दै आए पनि यहाँको समस्या समाधान गर्न स्थानीय तहले कुनै प्रकारको चासो नदेखाएको स्थानीयवासीको आरोप छ।
उनीहरू भन्छन्, ‘सबै भोटको बेला मात्रै चिन्छन् अरु बेला त ऊ मुसहर, ऊ मुखिया भनेर छुट्याउँदै हिँड्छन्।’