जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरमा रहेको नारी विकास केन्द्रका दर्जनौं महिला मिथिला चित्रकारहरूले आफूहरूलाई संस्थाले नियमविपरीत हटाएको भन्दै केन्द्रमा ताला लगाएका छन्।
नारी विकास केन्द्रमा रंग र कुचीसम्बन्धित कार्यमा काम गर्दै आएका ४० जना महिला चित्रकारमध्ये १४ जनालाई एकाएक हटाइएकोमा आपत्ति जनाउँदै उनीहरूले केन्द्रमा ताला लगाएका हुन्।
केन्द्रका व्यवस्थापक सतिश साहले आफूहरूलाई जबरजस्ती हटाएको उनीहरूको आरोप छ।
बिनातलब काम गर्न तयार रहे पनि आफ्नो अनुकूलको मान्छे राख्नका लागि १४ जना कलाकारलाई हटाइएको ३२ वर्षदेखि काम गर्दै आएकी सुमित्रा महासेठले बताइन्।
दुई महिनादेखि तलब नदिएपछि आफूहरू माग्न नगएको बताउँदै उनले भनिन्, ‘तलब नदिए पनि माग्न गएनौं बरु नयाँ कार्य समितिको चुनाव चाँडै गराउनुपर्छ भनेपछि मात्रै म्यानेजर हामीमाथि जाइलागे।’
आफू युवा अवस्थामा रहेकै समयदेखि काम गरेको संस्थाबाट एकाएक हटाएको भन्दै ५० वर्षीया कलाकार शनिचरी मण्डलले दुखेसो पोखिन्।
उनले नियमविपरीत आफूहरूलाई हटाइएको आरोप लगाइन्।
शनिचरीले भनिन्, ‘हामीलाई हटाउने नियतले म्यानेजरले केही दिनयता सानो सानो कुरामा निहुँ खोजी रहेका थिए।’
यसअघि पनि नारी विकास केन्द्रमा बजेट अभाव हुँदा बिना तलबको ६/६ महिनासम्म काम गरेको उनीहरूको भनाइ छ। तर वर्तमान व्यवस्थापक साहले केन्द्रलाई आफ्नो कब्जामा राख्नकै लागि यो सब गरिरहेको सुमित्राले आरोप लगाइन्।
उनले भनिन्, ‘वर्तमान बोर्डको कार्यकाल समाप्त भए पनि एक पटक पनि बैठक बसेको छैन, न त नयाँ कार्यसमितिको निर्वाचन गराउने पक्षमा छन्।’
नारी विकास केन्द्रको बोर्डका अध्यक्ष सुनैना कर्ण समेत व्यवस्थापक शितल साहको रवैयाबाट असन्तुष्ट छन्।
व्यवस्थापक साहले कलाकारहरूलाई चित्र कोर्न लगाउनु भन्दा पनि भवन निर्माणका लागि इँटा, बालुवा उठाउन लगाउनु गलत रहेको कलाकार दुलारी खत्वेले बताइन्।
नारी विकास केन्द्रका व्यवस्थापक सतिश साहले भने कलाकारले लगाएको सम्पूर्ण आरोप निराधार रहेको बताए।
बजेट अभाव भएपछि केही दिनका लागि मात्रै उनीहरूलाई अनुरोध गरेर हटाइएको उनको भनाइ छ। बजेट आएलगत्तै फेरि उनीहरूलाई काम फर्काउने साहले बताए।
काममा पुन: फर्काउनु पर्ने हटाइएका महिला चित्रकारको माग छ।